नेभिगेशन

स्वास्थ्य मन्त्री पौडेलद्वारा नारायणीमा स्तन क्यान्सर परीक्षण र बाँझोपन उपचार सेवा शुरु

मधेशको स्वास्थ्य सुधार मेरो प्राथमिकता : मन्त्री पौडेल

नेपाल हेल्थ न्युज, वीरगञ्ज । मधेश प्रदेशको वीरगञ्जस्थित संघीय नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण र बाँझोपनको उपचार सेवा शुरु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यान्सरको उपचार सेवा प्रदेश तहमा विस्तार गर्ने प्रतिबद्धता जनाएअनुसार मधेश प्रदेशका महिलालक्षित स्तन क्यान्सर परीक्षणका लागि मेमोग्राम सेवा थालिएको हो ।

साथै, निःसन्तान दम्पत्तीलक्षित बाँझोपनको उपचार समेत अस्पतालमा शुरु भएको छ । दुवै सेवाको मन्त्री पौडेलले आइतबार शुभारम्भ गर्नुभएको हो ।

नसर्ने रोगहरुविरुद्ध निरोधात्मक अभियान घोषणा गरेका मन्त्री पौडेलले मधेशका महिलाहरुको स्वास्थ्य रक्षाका लागि समयमै सुपथ मूल्यमा परीक्षण हुने गरी व्यवस्था मिलाएको बताउनुभयो । मन्त्रालयको सहयोगमा अस्पतालमा यसअघि नै पाठेघरको मुखको क्यान्सर परीक्षण तथा उपचार सञ्चालनमा आइसकेको छ । मन्त्री पौडेलकै सक्रियतामा अस्पतालमा लामो समयदेखि सञ्चालन हुन नसकेको क्याथ ल्याब सेवा सञ्चालनमा ल्याउने तयारी छ ।

मधेशको स्वास्थ्य सेवा सुधार हाम्रो प्राथमिकता हो,’ उहाँले भन्नुभयो,‘थपिएका सेवाले यहाँका दिदीबहिनीहरुलाई धेरै पैसा खर्च गरेर देशबाहिर जानुपर्ने समस्या हट्ने आशा लिएको छु ।’

मन्त्री पौडेलले नयाँ बजेटमा मधेश प्रदेशमा लक्षित मृगौला उपचार केन्द्रका लागि व्यवस्था गरेको भन्दै अन्य सेवाहरु विस्तारमा प्राथमिकताका साथ कामगर्ने बताउनुभयो ।

हाल मधेशका महिलाहरुले दुवै सेवाका लागि काठमाडौं तथा भारतसम्म जानु पर्ने समस्या रहेको अस्पतालका मेसु डा. चुमनलाल दासले जानकारी दिनुभयो। 

Narayani-Hospital-Breast-cancer-and-fertility-service-inaugration-pic-3-1752476900.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट