नेभिगेशन

भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना हुने

नेपाल हेल्थ न्युज, चितवन । मानसिक स्वास्थ्यसम्बन्धी उपचार, पुनर्स्थापना सेवा र जनचेतना अभिवृद्धिको उद्देश्यसहित भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य  केन्द्र स्थापना गरिने भएको छ ।

यो केन्द्र नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थ नामक संस्थाको सहकार्यमा स्थापना हुने भएको हो। अमेरिकामा कार्यरत नेपाली मानसिक स्वास्थ्य विज्ञ, चिकित्सक तथा परामर्शदाताहरूको पहलमा सञ्चालनमा ल्याइन लागेको उक्त केन्द्रले देशको मानसिक स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

केन्द्र स्थापनाको लागि हालै नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थ र भरतपुर अस्पतालबीच औपचारिक सम्झौता सम्पन्न भएको छ। सम्झौता अनुसार कुल अनुमानित ५ करोड रुपैयाँ लागत पर्ने परियोजनाको ५० प्रतिशत खर्च संस्थाले नै व्यहोर्नेछ भने अस्पतालले २५ प्रतिशत योगदान दिनेछ। बाँकी रकम विभिन्न सहयोगी दातामार्फत संकलन गरिनेछ।

नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थका कार्यकारी निर्देशक श्रीधर पौडेलका अनुसार नेपालमा मानसिक स्वास्थ्यलाई अझै पनि प्राथमिकतामा नराखिएको अवस्थाले प्रेरित भएर यो अभियान अगाडि बढाइएको हो।

“समाजमा मानसिक रोगबारे अझै जानकारीको अभाव छ । केन्द्रले उपचार मात्र होइन, पुनर्स्थापनासमेत गर्दै समुदायमै जनचेतना फैलाउनेछ,” पौडेलले जानकारी दिनुभयो।

भरतपुर अस्पतालका अध्यक्ष राजु पौडेलले केन्द्रको स्थापना अस्पतालको समग्र विकासको दिशामा एक ठुलो उपलब्धि हुने बताउँदै, चितवनलाई मेडिकल सिटीका रुपमा अघि बढाउने प्रक्रियामा यो केन्द्र निर्णायक हुने विश्वास व्यक्त गर्नुभयो।

त्यस्तै, अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डा. कृष्णप्रसाद पौडेलले हालसम्म विभागीय ढाँचामा दिइँदै आएको मानसिक स्वास्थ्य सेवा अब व्यवस्थित र समर्पित केन्द्रमार्फत सञ्चालन हुने जानकारी दिनुभयो।

भरतपुर अस्पतालले पछिल्लो समय ट्रमा सेन्टर र स्पाइनल इन्जुरी सेन्टर स्थापना गरिसकेको छ। अब मानसिक स्वास्थ्यको क्षेत्रमा पनि विशेषीकृत संरचना निर्माण गर्न डेढ देखि दुई वर्ष लाग्ने अनुमान गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट