नेभिगेशन

लुम्बिनी प्रादेशिक अस्पतालमा स्तन क्यान्सर पहिचानका लागि म्यामोग्राफी सेवा सुरु

नेपाल हेल्थ न्युज, बुटवल। स्तनमा हुने क्यान्सरको अवस्था पत्ता लगाउन गरिने परीक्षण विधि अन्तर्गतको म्यामोग्राफी सेवा अब लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पनि सुरु भएको छ । साथै, अस्पतालले स्तनसम्बन्धी रोगहरूको परीक्षण, परामर्श र उपचारका लागि विशेष ब्रेस्ट क्लिनिक र स्वचालित ल्याब रिपोर्ट डिस्प्याच सेवा समेत सञ्चालनमा ल्याएको छ ।

अस्पतालद्धारा सोमबार आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेबहादुर सारुले तीनवटै सेवाको एक साथ शुभारम्भ गर्नुभएको हो । सो क्रममा उहाँले सेवा थपिएसंगै लुम्बिनी प्रादेशिक अस्पतालले नयाँ आयाम कायम गरेको बताउनुभयो।

म्यामोग्राफी स्तन क्यान्सरको शङ्का लागेमा स्तनमै गरिने विशेष खालको एक्सरे हो । यो सेवा उपलव्ध हुँदा अस्पतालमा परीक्षणका लागि आएका महिलाहरुको स्तन क्यान्सर सम्बन्धी रोगहरुको पहिचान तथा उपचारमा महत्वपूर्ण सहयोग हुने अपेक्षा गरिएको छ । यस्तै अर्को सेवा, स्वचालित ल्याव रिपोर्ट डिस्प्याच मेसिनबाट सेवाग्राहीले आफै सम्पूर्ण रिपोर्ट बुझ्न पाउने छन् ।

अस्पतालमा शुभारम्भ गरिएका सेवाहरुको शुभारम्भपछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री सारुले स्वास्थ्य सेवालाई सबैको पहुँचमा बिस्तार गर्ने सरकारको दायित्व भएको उल्लेख गर्नुभयो । सहज रुपमा जनताले स्वास्थ्य सेवा प्राप्त गर्नुपर्ने बताउँदै उहाँले लुम्बिनी प्रादेशिक अस्पतालले पछिल्लो अवधिमा गर्दै गएका सुधार तथा सेवामा विशिष्टिकरणले जनविश्वास बढ्दै गएको उल्लेख गर्नुभयो ।

अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले अस्पतालको सेवा बिस्तारका लागि निरन्तर प्रयत्नशिल भएको दाबी गर्नुभयो । प्रदेश सरकार तथा संघीय सरकारसँग पनि आवश्यक समन्वय गरी सेवालाई विशिष्टिकृत गर्ने र सबै जनताको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउँनका लागि विकास समिति प्रतिवद्ध भएको उल्लेख गर्नुभयो ।

अस्पतालमा शुभारम्भ गरिएका नयाँ सेवाहरु बारे जानकारी गराउँदै मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले सेवालाई विशिष्टिकृत गर्ने सवालमा उल्लेख्य प्रगति हासिल हुँदै गएको दाबी गर्नुभयो । संघीय सरकार स्वास्थ्य मन्त्रालय अन्तरगत व्यवस्थापन महाशाखाको करिब २ करोड ८० लाख लागतमा म्यामोग्राफी मेशिन खरिद गरी जडान गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘इटालियन प्रविधिको यस मेशिनले स्तनको धेरै कोणबाट लगातार एक्स–रे निकाल्नुका साथै यसलाई कम्प्युटर माध्यमबाट थ्रीडी स्वरुपमा पनि देखाउछ जसले गर्दा रोग पहिचान गर्न सजिलो हुन्छ । यो मेशिनले निकै कम विकिरण फाल्ने हुँदा यहाँ काम गर्नेहरुको स्वास्थ्यका लागि पनि उपयुक्त हुन्छ ।’ डा. ढकालले जडान गरिएको म्यामोग्राफी मेशिनले कुनै पनि महिलामा स्तन क्यान्सर हुने सम्भावनालाई ३÷४ वर्ष पहिले नै पत्ता लगाउन सकिने उल्लेख गर्नुभयो । यसैगरी अस्पतालमा स्थापना गरिएको ब्रेस्ट क्लिनिकले प्राप्त रिपार्टहरुका आधारमा उपचार सेवा तथा परामर्श सेवा उपलब्ध गराउने बताउनुभयो ।

यस्तै अस्पतालमा स्थापना गरिएको अर्को नयाँ सेवा ‘स्वाचालित ल्याव रिपोर्ट डिस्प्याच’ मेशिनले सेवाग्राहीले थप सहज हुने अपेक्षा गरिएको मेशु ढकालले बताउनुभयो । यो मेशिनबाट सेवाग्राही आफैले क्यूआर स्क्यान गरी सम्पूर्ण मेडिकल रिपोर्ट बुझ्न पाउनेछन् । १० लाख लागतमा जडान गरिएको २ वटा डिस्प्याच मेशिनमा सेवाग्राहीले आफ्नो टिकटमा रहेको क्यूआर स्क्यान गरेपछि सम्पूर्ण मेडिकल रिपोर्ट तथा ल्याव रिपोर्टका विवरणहरु पेपरमा प्रिन्टसहित पाउने छन् ।

अस्पतालले सेवा सहजताका लागि यसअघि एसएमएसबाट मेडिकल रिपोर्ट प्राप्त गर्ने प्रविधि, अनलाइन टिकेटिङ, डिजिटल टिकट काउन्टर, फार्मेसीतर्फ क्यास काउन्टरहरु थप गरी भीड व्यवस्थापन, अप्रेशन थिएटर थप लगायतका महत्वपूर्ण सुधारका कामहरु भैसकेको मेसु ढकालले जानकारी गराउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट