नेभिगेशन

पाटन अस्पतालको नयाँ संरचना निर्माण अघि वातावरणीय सुझाव संकलन

नेपाल हेल्थ न्युज, काठमाडौैं । ललितपुरको पाटन अस्पतालले निर्माण गर्न लागेको १२ सय शय्या को संरचना सम्बन्धी वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)  प्रतिवेदनमा सुझाव दिनका लागि वन तथा वातावरण मन्त्रालयले सर्वसाधारण तथा सरोकारवाला निकायहरूलाई आग्रह गरेको छ।

मन्त्रालयले सूचना जारी गर्दै सात दिनभित्र सुझाव पेश गर्न सकिने जनाएको छ। प्रस्तावित नयाँ भवनमा ११ तला रहनेछ भने यसमा अत्याधुनिक सुविधासहित पानी भण्डारण प्रणाली पनि रहने बताइएको छ। प्रतिवेदनअनुसार, अस्पताल सञ्चालनमा आएपछि दैनिक करिब ४ लाख लिटर पानीको खपत हुने अनुमान गरिएको छ।

त्यस्तै, अस्पतालले फोहोरमैला व्यवस्थापन, पार्किङ, हरियाली बगैँचाको विकास लगायतका अन्य पूर्वाधार पनि निर्माण गर्ने योजना बनाएको छ। यो सबै कार्यको वातावरणमा पार्ने प्रभावको अध्ययन गरी ईआईए प्रतिवेदन तयार गरिएको हो।

वातावरण संरक्षण नियमावली, २०७७ को नियम ९(६) अनुसार सुझाव दिन आम नागरिक, सरोकारवाला संस्था र विशेषज्ञहरूलाई अवसर दिइएको हो। प्रतिवेदन मन्त्रालयको वेबसाइटसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, ललितपुर महानगरपालिका, जिल्ला समन्वय समिति, र आदिवासी जनजाति महासङ्घ नेपालको वेबसाइटमा समेत उपलब्ध छ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो स्वामित्वमा रहेको क्षेत्रभित्र यो भवन निर्माण गर्न लागेको हो। हालसम्म ६०० शय्या क्षमताको भवन निर्माण भइसकेको छ भने आगामी चरणमा थप ६०० शय्या थपिनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट