नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालका सम्पूर्ण ७७ जिल्लामा खोप कार्यक्रम पूर्ण रूपमा कार्यान्वयनमा आएको घोषणा गरिएको छ। हालै काठमाडौँ, रसुवा, नुवाकोट, सुनसरी, डोल्पा र कैलालीलाई पनि पूर्ण खोप सुनिश्चितता र दिगोपनाको सूचीमा समावेश गरिएसँगै, देशभर नै यो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको सरकारको भनाइ छ।
परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेक लाल कर्णका अनुसार, १६ देखि २३ महिनाका बालबालिकाहरूले १५ महिनासम्म आवश्यक सबै खोप समयमै लगाइसकेको आधारमा यो निर्णय गरिएको हो।
बालबालिकाको स्वास्थ्य सुरक्षालाई बलियो बनाउने उद्देश्यसहित गरिएको यो पहल केवल औपचारिक घोषणामा सीमित नरहने र व्यवहारिक रूपमा पनि प्रभावकारी हुने उहाँको विश्वास छ।
नेपालमा जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई सात पटकसम्म १३ वटा संक्रामक रोगविरुद्धको खोप निःशुल्क प्रदान गरिँदै आएको छ। खोप तालिका अनुसार बालकले बिसीजी खोप जन्मेपछि तुरुन्तै प्राप्त गर्छन्, जसले क्षयरोगबाट जोगाउँछ। त्यसपछि ६, १० र १४ हप्ताको अन्तरालमा झाडा पखाला, पोलियो, निमोनिया, भ्यागुते, लहरे खोकी, धनुष्टङ्कार, हेपाटाइटिस बीजस्ता रोगविरुद्धका खोपहरू लगाइन्छन्।
नौ महिनामा दादुरा र रुबेलाजस्ता रोगविरुद्ध, १२ महिनामा जापानीज इन्सेफलाइटिस र १५ महिनामा पुनः दादुरा–रुबेला तथा टाइफाइडविरुद्धका खोपहरू उपलब्ध गराइन्छन्।
यो कार्यक्रमले नेपाललाई बाल स्वास्थ्यमा अझ आत्मनिर्भर बनाउने अपेक्षा गरिएको छ, साथै बालमृत्युदर घटाउने दिशामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
इन्टर्न चिकित्सक दिल्ली हरिजनको जीवनरक्षा गर्न चिकित्सक संघको माग
बुधबार, साउन २०, २०८३
७२ जिल्लामा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि, दुईको मृत्यु
बुधबार, साउन २०, २०८३
कान्ति बाल अस्पतालको निर्देशकमा डा. रामहरी चापागाईं नियुक्त
बुधबार, साउन २०, २०८३
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त
बुधबार, साउन २०, २०८३
