नेभिगेशन

नजिक प्रथम बिन्दु नभएका स्थानका केन्द्रीय सरकारी अस्पतालमा स्वास्थ्य बीमाको प्रथम बिन्दु कायमै रहने

नागरिकको समस्या सम्बोधन गरिएको स्वास्थ्य मन्त्री पौडेलको भनाइ

नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य बिमाको प्रथम सेवा बिन्दु नजिकै नहुँदा समस्या परेका स्थानका केन्द्रीय सरकारी अस्पतालहरुमा प्रथम बिन्दु कायमै रहने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जानकारी दिनुभएको छ।

सामाजिक सञ्जालमा यससम्बन्धमा जानकारी दिंदै मन्त्री पौडेलले लेख्नुभएको छ,‘स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु हट्दा नागरिकलाई परेको कठिनाई सम्बोधन गर्दै नजिक प्रथम सेवा बिन्दु नभएर सेवा लिन अप्ठ्यारा पर्ने स्थानहरुका केन्द्रीय सरकारी अस्पतालमा प्रथम बिन्दु कायमै रहने गरी व्यवस्था मिलाएका छौं ।’

हलै स्वास्थ्य बीमा बोर्डले निजी तथा सरकारी अस्पतालहरुमा प्रथम सेवा बिन्दु हटाएर स्थानीय तहमा नै व्यवस्था गर्ने निर्णय गरेको थियो ।

तर, त्यस व्यवस्थाले नजिक केन्द्रीय अस्पताल नभएका स्थानका नागरिकलाई झनै समस्या परेको गुनासो प्राप्त भए पछि मन्त्री पौडेलले स्वास्थ्य बीमा बोर्डमार्फत समस्या समाधान गर्ने प्रयास थाल्नुभएको हो ।अब बोर्डले मन्त्रालयको पत्रअनुसार नजिकै प्रथम सेवा बिन्दु नभएका स्थानमा वैकल्पिक व्यवस्था नहुँदासम्म केन्द्रीय सरकारी अस्पतालहरुमा प्रथम सेवा बिन्दुको सुविधा उपलब्ध गराउनेछ ।

मन्त्री पौडेलले हरेक स्थानीय तहमा प्रथम सेवा बिन्दु नभएका स्थानमा स्थापना तथा भएकाको सेवा सुविधा वृद्धिका लागि प्रदेश र स्थानीय सरकारसँग सहकार्य समेत गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

‘स्वास्थ्य बीमा व्यवस्थित गर्दै हरेक स्थानीय तहमा कम्तिमा एक प्रथम सेवा बिन्दु सञ्चालन गर्ने नीतिअन्तर्गत प्रथम सेवा बिन्दुका लागि उपयुक्त स्वास्थ्य संस्था नभएका तहमा स्वास्थ्य संस्था स्थापना तथा स्तरोन्नति गर्न प्रदेश सरकार र सम्बन्धित स्थानीय तहसँग समन्वय र सहकार्य गरी नागरिकलाई आफ्नै घरदैलो नजिकै स्वास्थ्य बीमा सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछौं,’ उहाँले भन्नुभएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट