नेपाल हेल्थ न्युज, काठमाडौं । चीनको डाली युनिभर्सिटीबाट एमबीबीएस अध्ययन सकेर नेपाल फर्किएका सीडी भुसाल चिकित्सक दर्ता प्रमाणपत्र नपाउँदा पेशागत भविष्य अन्योलमा परेको भन्दै गुनासो गरेका छन्।
उनले नेपाल मेडिकल काउन्सिलमा निवेदन दिँदै, आफूले २०७८ सालको ७०औं चिकित्सक दर्ता परीक्षामा सहभागी भएर प्रारम्भमा असफल भए पनि पुनर्योग परीक्षामा सफल भएको दाबी गरेका छन्। तर, सफलताको प्रमाणपत्र सरकारी लेटरप्याडमा प्राप्त भए पनि अहिलेसम्म लाइसेन्स नम्बर नदिइएको उनले बताए।
१४ पटकसम्म फेल भएपछि पुतलीसडकमा रहेको स्पिड इन्टरनेसनलका पदाधिकारी मिलन ज्ञवालीको सहयोग र पहलका कारण उनी पुनर्योग परीक्षा दिन सक्षम भएका थिए २०८१ कात्तिक २८ गतेको नतिजामा पास भएको भनिए पनि, काउन्सिलको वेबसाइटमा नाम नदेखिएपछि उनी अन्योलमा परेका हुन्।
भुसालले भनेका छन्, स्पिड इन्टरनेसनलका ज्ञवाली सरले फारम भरेर दिनुभयो, काउन्सिलको लेटरप्याडमा पास भएको पत्रसमेत दिनुभयो। तर, दर्ता नम्बर दिनका लागि बारम्बार काउन्सिल पुग्दा पनि प्रक्रिया अघि बढेन।
उनका अनुसार काउन्सिलको रजिष्ट्रार डा. सतीश देवले ‘सिस्टममा हालिदिन्छु’ भने पनि पछि फोन नउठेको र भेट हुन नसकेको उल्लेख गरेका छन्।
भुसालले प्राप्त गरेको पास सर्टिफिकेटमा काउन्सिलको छाप र हस्ताक्षर रहेको छ, तर रजिष्ट्रार डा. देवले भने त्यो प्रमाणपत्र नक्कली भएको दाबी गरेका छन्। त्यसमा न नाम मिल्छ, न रोल नम्बर। यस्तो पत्र काउन्सिलबाट जान सक्दैन, डा. देवको भनाइ छ।
यस घटनालाई लिएर नेपाल मेडिकल काउन्सिलले हाल केन्द्रीय अनुसन्धान ब्युरो लाई छानबिनका लागि औपचारिक पत्र पठाएको जानकारी प्राप्त भएको छ।
भुसालले भनेका छन् – “यदि त्यो प्रमाणपत्र आधिकारिक हो भने मलाई चिकित्सकको रूपमा तत्काल दर्ता गरियोस्। होइन भने झुटा कागज प्रयोग गरेर ठगी गर्नेलाई कारबाही होस्।”
उता, भुसालकी आमाले पनि स्पिड इन्टरनेसनलका मिलन ज्ञवालीसँग पुनर्योगका लागि सहयोग मागिएको स्वीकार गरेकी छन्। यद्यपि आर्थिक लेनदेनको विषयमा उनले स्पष्ट जानकारी नभएको बताइन्।
सीडी भुसालको गुनासोले मेडिकल लाइसेन्स परीक्षाको पारदर्शिता र प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ। अहिले यो प्रकरण सीआईबीको छानबिन अन्तर्गत रहेकोले थप विवरण सार्वजनिक नहुने काउन्सिलको भनाइ छ।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
