नेभिगेशन

प्रधानमन्त्री ओलीद्वारा प्रसूति गृह उद्घाटन

नेपाल हेल्थ न्युज, महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरीको मटिहानी नगरपालिका–६ मा निर्माण सम्पन्न भएको नयाँ प्रसूति गृहको आज एक विशेष समारोहबीच उद्घाटन गर्नुभएको हो । यसअघि मटिहानी नगरपालिका–८ मा रहेको बिग्ही नदीमाथिको नयाँ पुलको उद्घाटन गरेपछि उहाँ प्रसूति गृह उद्घाटनका लागि सो वडामा पुग्नुभएको हो।

झन्डै २ करोड रुपैयाँको लगानीमा राष्ट्रिय योजना आयोगको विशेष अनुदान तथा मटिहानी नगरपालिकाको सहकार्यमा निर्माण गरिएको यो सुविधा सम्पन्न प्रसूति गृहले स्थानीय महिला र नवजात शिशुलाई अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ।

पाँच शय्याको क्षमता भएको यो स्वास्थ्य केन्द्र जरलहवा गाछीभन्दा दक्षिण तर्फ रहेको छ। मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलका अनुसार, नगरपालिकामा हाल बजेटको अभावका कारण ५० शय्याको अस्पताल बनाउने योजना तत्काल कार्यान्वयनमा आउन सकेको छैन। यद्यपि, सानो स्तरबाटै भए पनि सुरक्षित मातृत्व सेवाको सुरुवात गर्नु सकारात्मक भएको उहाँले बताउनुभयो।

प्रसूति गृहमा अपरेशन थिएटर, नवजात शिशु कक्ष , डिलेभरी रुम, प्रतीक्षा कक्ष, ओपिडी सेवा, फार्मेसी, नर्सिङ कक्ष, शौचालय तथा सोधपुछ कक्ष जस्ता आधारभूत सेवा समावेश गरिएको छ।

यसले शल्यक्रिया आवश्यक पर्ने सुत्केरी महिलालाई नजिकै सेवा उपलब्ध गराउने मात्र होइन, नवजात शिशुको समेत उचित उपचार हुने अपेक्षा गरिएको छ।

उद्घाटन कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष तथा महोत्तरी क्षेत्र नं. ३ का सांसद महन्थ ठाकुर, श्रम तथा रोजगारमन्त्री शरतसिंह भण्डारी, मधेश प्रदेशका प्रदेश प्रमुख सावित्री भण्डारी, मुख्यमन्त्री सतिशकुमार सिंह, भौतिक पूर्वाधार मन्त्री सरोजकुमार यादव, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

यस भवनको निर्माण कार्य श्री कालिका कन्सट्रक्सन प्रा.लि. (भरतपुर, चितवन) ले कुल लागत एक करोड ८८ लाख रुपैयाँमा सम्पन्न गरेको हो। निर्माण कार्य २०८१ सालको माघ महिनामा पूरा भएको जनाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट