नेभिगेशन

स्वास्थ्य बीमा नविकरण नगरे १७ हजार ५ सयसम्म तिर्नुपर्ने

नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले स्वास्थ्य बीमा नविकरण प्रक्रिया कडाइ गर्ने निर्णय गरेसँगै सेवाग्राहीलाई अब समयमै नविकरण नगरेमा थप रकम तिर्नुपर्ने भएको छ। नयाँ कार्यविधिअनुसार बीमा अवधि सकिएपछि तोकिएको समयमा नविकरण नगरेका सेवाग्राहीले पहिलेभन्दा धेरै शुल्क तिर्नुपर्नेछ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले स्वीकृत गरेको संशोधित अनुसूचीअनुसार बीमा म्याद सकिएको तीन महिना भित्रमा नवीकरण गरेमा प्रिमियम रकमसहित थप ३५० तिर्नुपर्ने छ ।

पाँच सदस्यीय परिवारको लागि तोकिएको प्रिमियम हाल वार्षिक ३ हजार ५०० रुपैयाँ छ। यसबाट एक लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा पाउन सकिने व्यवस्था छ। तर, अब बीमा नविकरणको समय छुटाउँदा क्रमशः ३ हजार ८५० देखि १७ हजार ५०० रुपैयाँसम्म तिर्नुपर्ने व्यवस्था गरिएको छ। बीमा म्याद सकिएपछि तीन महिनाभित्र नविकरण नगरेमा थप शुल्क लाग्ने र समय बढ्दै जाँदा जरिवाना पनि बढ्दै जाने प्रावधान छ।

स्वास्थ्य बीमा बोर्डका अधिकारीहरूले यो व्यवस्थालाई निरन्तरताको लागि आवश्यक कदम भन्दै समर्थन गरेका छन्। उनीहरूको भनाइमा धेरै सेवाग्राही बिरामी परेपछि मात्र नविकरण गर्ने प्रवृत्ति बढ्दो छ, जसले बीमा प्रणालीलाई असन्तुलित बनाउँछ।

तर स्वास्थ्य क्षेत्रका विज्ञहरू भने सेवाको गुणस्तर राम्रो नहुँदै शुल्क बढाउने निर्णय उचित नभएको बताउँछन्। उनीहरूको धारणा छ कि हालको अवस्थामा नागरिकलाई बीमा नवीकरणतर्फ प्रोत्साहन गर्न सेवा सुधार आवश्यक छ। सरकारी अस्पतालहरूमा उपचार पाउनै मुस्किल हुने, औषधि अभाव र उपकरणको समस्या भइरहँदा नागरिकले बीमाबाट अपेक्षित लाभ नपाएको गुनासो बढ्दै गएको छ।

स्वास्थ्य बीमा कार्यक्रम प्रारम्भ भएको दशक पुगे पनि अझै धेरै नागरिक नियमितरूपमा नविकरण गरिरहेका छैनन्। हालको तथ्यांकअनुसार कुल सेवाग्राहीमध्ये झन्डै एक तिहाइले मात्र नविकरण गरिरहेका छन्।

विगतमा बीमा बोर्डका पदाधिकारीहरू र जनस्वास्थ्य विज्ञहरूले बीमा प्रणालीलाई सामाजिक सुरक्षा कार्यक्रमको रूपमा लिने आग्रह गर्दै आएका छन्। उनीहरूको भनाइमा स्वास्थ्य बीमा सेवामा सुधार नगरी दण्डात्मक नीति लागू गर्दा नागरिकको सहभागिता झन् घट्न सक्ने खतरा हुन्छ।

स्वास्थ्य बीमाको उद्देश्य सबै नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउनु हो। तर, नीति निर्माणकर्ताहरूको पछिल्लो निर्णयले त्यो लक्ष्यभन्दा टाढा जाने संकेत देखिएको विज्ञहरूको बुझाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट