नेपाल हेल्थ न्युज, चितवन । चितवनको भरतपुर अस्पताल नेपालमै प्रसूति सेवाका लागि अग्रणी संस्थाहरूमध्ये एक मानिन्छ। काठमाडौंस्थित प्रसूति गृहपछि सबैभन्दा बढी सुत्केरी सेवा दिने यस अस्पतालले हजारौँ गर्भवती महिलालाई नियमित सेवा प्रदान गर्दै आएको छ।
पहिलाका वर्षहरूमा वार्षिक १६ हजारसम्म महिलाले प्रसूति सेवा लिने गरेकोमा, पछिल्लो समय विभिन्न स्थानीय तहमा पनि प्रसूति सेवा विस्तार हुँदै गएपछि सेवाग्राहीको संख्यामा केही गिरावट आएको छ। यद्यपि, गत वर्ष मात्रै अस्पतालमा ८ हजार ३१८ जना महिलाले प्रसूति सेवा लिएका थिए।
अस्पतालको तथ्यांकअनुसार तीमध्ये ४ हजार ३८३ जनाले सामान्य (नर्मल) प्रसूति गराए भने ३ हजार ७६७ जनाको सिजेरियन (शल्यक्रिया) प्रक्रियाबाट सुत्केरी गराइएको थियो। १८८ जना महिलाको जटिल अवस्थाका कारण विशेष प्रक्रियाबाट प्रसूति गराइएको थियो।
सुत्केरी महिलाको स्वास्थ्य सेवा थप गुणस्तरीय बनाउन भरतपुर अस्पतालले स्तनपान सेवा पनि विस्तार गरेको छ। हालै सञ्चालनमा ल्याइएको स्तनपान परामर्श कक्षमार्फत आमा र नवजात शिशुलाई आवश्यक सल्लाह, दूध सङ्कलन तथा उपयोगसम्बन्धी सुविधा प्रदान गरिँदै आएको छ।
प्रत्येक वर्ष अगस्ट १ देखि ७ तारिखसम्म मनाइने ‘विश्व स्तनपान सप्ताह’का अवसरमा अस्पतालले पनि विविध कार्यक्रममार्फत जनचेतना फैलाउँदै आएको छ। यस वर्षको सप्ताहको नारा ‘स्तनपानलाई प्राथमिकता दिऔँः दिगो समर्थन प्रणाली निर्माण गरौँ’ भन्ने रहेको छ।
अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेलले आमाले नवजात शिशुलाई आफ्नै दूध पिलाउनु अत्यावश्यक रहेको बताउनुभयो। केही आमाले आधुनिक जीवनशैली तथा भ्रमका कारण स्तनपान नगर्ने प्रवृत्ति देखिएको भए पनि त्यो पूर्णतः गलत धारणा भएको उहाँको भनाइ छ। हामी चाहन्छौं कि यहाँ जन्मिने सबै बच्चाले आमाकै दूध खाउन पाउन, डा. पौडेलले भन्नुभयो।
अस्पतालले आगामी दिनमा स्तनपान सेवाको दायरा अझै बढाउँदै ‘मिल्क बैंक’ स्थापना गर्ने तयारी पनि थालेको छ। यसबाट विभिन्न कारणले आफ्नै आमाको दूध नपाउने शिशुहरूले पनि सुरक्षित तरिकाले मानव दूध प्राप्त गर्न सक्नेछन्।
अस्पतालकी स्तनपान परामर्शदाता सकुन्तला ढकालका अनुसार, स्तन गाँसिने, शिशुले राम्ररी चुस्न नसक्ने वा आमाले दूध पिलाउन हिच्किचाउने समस्यामा विशेषज्ञ परामर्श प्रदान गरिन्छ। अस्पतालमा विशेष मेसिनमार्फत दूध निकाल्ने, भण्डारण गर्ने तथा आवश्यकताअनुसार प्रयोग गर्ने सुविधा पनि उपलब्ध छ।
“कहिलेकाहीँ आमाहरू शुरुमै स्तनपान गर्न डराउनुहुन्छ वा हिचकिचाउनुहुन्छ,” ढकाल भन्नुहुन्छ, “तर हामीले महत्व बुझाएपछि उहाँहरू सहमत हुनुहुन्छ। यसले नवजात शिशुको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ।”
अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. खेमराज पौडेलले आमाको दूध नवजात शिशुको लागि ‘पहिलो खोप’ जस्तै हुने बताउनुभयो। उहाँको भनाइमा, स्तनपानले कुपोषण घटाउने, रोगसँग लड्ने क्षमता बढाउने र शारीरिक तथा मानसिक विकासलाई पनि सघाउने गर्दछ।
भरतपुर अस्पतालले स्तनपानप्रति सचेतना अभिवृद्धि गर्दै मातृ तथा शिशु स्वास्थ्यलाई अझ सुदृढ बनाउने लक्ष्य लिएको छ। रासस
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
