नेपाल हेल्थ न्युज, चितवन । नेपालको अर्थतन्त्रमा कृषिको हिस्सा ठूलो छ । सरकारी तथ्यांकलाई आधार मान्दा ६० प्रतिशत भन्दा बढी जनसंख्या कृषिमा आश्रित छ । तर अनियन्त्रित रसायनिक कीटनाशक मलको असुरक्षित प्रयोगले देशको आर्थिक मेरूदण्ड खतरामा पर्न थालेको छ । नेपाल पब्लिक हेल्थ फाउन्डेसनद्वारा हालै चितवनमा गरिएको एक सर्वेक्षणले कीटनाशक औषधिको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा गम्भीर असर पारिरहेको तथ्य पाइएको हो ।
कीटनाशक औषधिः आशिर्वाद कि अभिशाप ?
सन् १९५२ मा मलेरिया नियन्त्रणका लागि नेपालमा कीटनाशक औषधिको प्रयोग आरम्भ भएको थियो । त्यसयता कृषि कर्ममा कीटनाशक औषधिको माग र प्रयोग बढिरहेको छ । अध्ययनको निचोड छ– ‘तिनीहरूको (कीटनाशक औषधिको) प्रयोग प्रतिवर्ष १० देखि १२ प्रतिशतको खतरनाक दरले बढ्दै गएको छ ।’
अध्ययन चितवनका आठ सय २६ किसानमाझ गरिएको थियो । अध्ययनले पत्ता लगायो– ९१.०४ प्रतिशत किसानलाई कीटनाशकको प्रयोग विधिबारेमा थाहा थियो भने २६.५२ प्रतिशत कृषक कीटनाशकको लेबल जानकारी बुझ्न सक्नेस्तरका छन् । अध्ययनले भनेको छ– ‘केवल आठ प्रतिशत कृषक प्रतिबन्धित कीटनाशकसँग परिचित थिए ।’

कीटनाश औषधिको प्रयोगले निम्त्याउन सक्ने स्वास्थ्य जोखिम पहिचान गरे पनि कृषकलाई स्वास्थ्य समस्या देखिएको छ । अध्ययनमा समावेश भएकामध्ये ८३.१७ प्रतिशतमा छालाको जलन र ५१.२१ प्रतिशतमा श्वासप्रश्वासका समस्या पाइएको छ । यस्तो समस्या हुने थाहा भए पनि धेरै किसानले यस्ता रसायनको अनुचित प्रयोग जारी राखेका छन् ।
वातावरणीय क्षति पनि बढ्दो चिन्ताको विषय बन्न थालेको स्थानीयले स्वीकारेका छन् । ६४.४१ प्रतिशत किसानले कीटनाशकको नियमित प्रयोगले माटोको क्षयीकरणमा योगदान पु-याएको स्वीकारेका छन् । अध्ययनमा सामेल ६८.४ प्रतिशतले पानीका स्रोतलाई प्रदूषित गराएको अनुभव बताएका छन् । ‘केवल ७५.३४ प्रतिशत किसानले नगरपालिकाको फोहोर सेवामार्फत कीटनाशक कन्टेनरको जिम्मेवारीपूर्वक विसर्जन गर्छन्’ – अध्ययन टोलीले भनेको छ ।
कीटनाशकको सम्पर्कले अल्पकालीन र दीर्घकालीन दुवै स्वास्थ्य परिणाम निम्त्याउँछ । अध्ययनले पत्ता लगायो– ६२.२९ प्रतिशत किसान चक्कर लाग्ने, टाउको दुःख्ने स्वास्थ्य समस्याको अनुभव गरेका छन् ६१.२८ प्रतिशत व्यक्ति छालाको जलनबाट पीडित छन् ।
अध्ययन गरिएका व्यक्तिहरूमा क्यान्सर समस्या, प्रजनन्, स्नायु र अन्य दीर्घकालिन स्वास्थ्य समस्याको पनि अध्ययन केन्द्रित थियो । चिन्तजनक कुरा के छ भने सर्वेक्षणमा सामेल किसानमध्ये ८७.१७ प्रतिशतले यसअघि एकीकृत कीट व्यवस्थापन तालिम लिएका थिएनन् । केवल ३४.३८ प्रतिशतले यस्तो तालिम लिएर जैविक खेतीको अभ्यास पनि गरिरहेका छन् ।
कीटनाशक औषधि प्रयोग गर्दा अपनाउनुपर्ने आधारभूत स्वास्थ्य सतर्कता थाहा भए÷नभएको पक्ष पनि अध्ययन टोलीको प्राथमिकता थियो । ९४.०७ प्रतिशत किसानले कीटनाशक औषधि प्रयोग गर्दा मास्क लगाउनुको महत्व बुझेका पाइयो भने ७३.३५ प्रतिशतले मात्र नियमित रूपमा व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) प्रयोग गरेको अध्ययन टोलीलाई बताए । धेरै कृषकले आगामी दिनमा सुरक्षित कृषि अभ्यास र स्वास्थ्य सतर्कता अपनाउने प्रतिवद्धता जनाएका छन् ।

अन्त्यमा
कृषिमा कीटनाशकले महत्वपूर्ण भूमिका खेल्छन् । तर तिनीहरूको दुरूपयोगले मानव स्वास्थ्य र वातावरणमा गम्भीर जोखिम निम्त्याउन सक्छ । चितवनमा गरिएको अध्ययनले कीटनाशक जागरूकता र सुरक्षित अभ्यास बीचको खाडललाई कम गर्नुपर्ने आवश्यकतालाई जोड दिन्छ ।
किसानले जोखिम पहिचान गरे पनि अनुचित प्रयोग विधि प्रचलित छ जसले गम्भीर स्वास्थ्य र वातावरणीय परिणाम निम्त्याउन सक्छ । बेला मौकामा कृषकलाई तालिमका अवसर दिइएमा परम्परागत अभ्यासलाई सुधार गर्न, कीटनाशक नियम लागू गर्न, जैविक खेतीलाई प्रवद्र्धन गर्न र खुद्रा विक्रेतालाई शिक्षित गर्न सघाउ पु-याउँछ । किसान स्वस्थ्य भए मात्रै नेपालको कृषिबाट अझ बढी प्रतिफल प्राप्त हुन्छ । (चौधरीले पब्लिक हेल्थ विषयमा बिपिएच गर्नुभएको छ । फाउन्डेसनको यो अनुसन्धानमा उहाँ प्रोजेक्ट अफिसर हुनुहुन्थ्यो ।)
नर्स र स्वास्थ्यकर्मीको न्याय, पारदर्शिता र मानवीयताको निर्णायक आन्दोलन
शनिबार, कात्तिक ८, २०८२
नर्स आन्दोलनः आत्मसम्मान र समानताको पुनर्जागरण
शुक्रबार, कात्तिक ७, २०८२
रुघाबाट बच्ने उपाय र घरेलु उपचारहरू
बुधबार, असोज २९, २०८२
महिलाहरूलाई पुरुषहरूको तुलनामा चिसो किन बढी महसुस हुन्छ ?
सोमबार, असोज २७, २०८२
