नेपाल हेल्थ न्युज, चितवन । नेपालको अर्थतन्त्रमा कृषिको हिस्सा ठूलो छ । सरकारी तथ्यांकलाई आधार मान्दा ६० प्रतिशत भन्दा बढी जनसंख्या कृषिमा आश्रित छ । तर अनियन्त्रित रसायनिक कीटनाशक मलको असुरक्षित प्रयोगले देशको आर्थिक मेरूदण्ड खतरामा पर्न थालेको छ । नेपाल पब्लिक हेल्थ फाउन्डेसनद्वारा हालै चितवनमा गरिएको एक सर्वेक्षणले कीटनाशक औषधिको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा गम्भीर असर पारिरहेको तथ्य पाइएको हो ।
कीटनाशक औषधिः आशिर्वाद कि अभिशाप ?
सन् १९५२ मा मलेरिया नियन्त्रणका लागि नेपालमा कीटनाशक औषधिको प्रयोग आरम्भ भएको थियो । त्यसयता कृषि कर्ममा कीटनाशक औषधिको माग र प्रयोग बढिरहेको छ । अध्ययनको निचोड छ– ‘तिनीहरूको (कीटनाशक औषधिको) प्रयोग प्रतिवर्ष १० देखि १२ प्रतिशतको खतरनाक दरले बढ्दै गएको छ ।’
अध्ययन चितवनका आठ सय २६ किसानमाझ गरिएको थियो । अध्ययनले पत्ता लगायो– ९१.०४ प्रतिशत किसानलाई कीटनाशकको प्रयोग विधिबारेमा थाहा थियो भने २६.५२ प्रतिशत कृषक कीटनाशकको लेबल जानकारी बुझ्न सक्नेस्तरका छन् । अध्ययनले भनेको छ– ‘केवल आठ प्रतिशत कृषक प्रतिबन्धित कीटनाशकसँग परिचित थिए ।’

कीटनाश औषधिको प्रयोगले निम्त्याउन सक्ने स्वास्थ्य जोखिम पहिचान गरे पनि कृषकलाई स्वास्थ्य समस्या देखिएको छ । अध्ययनमा समावेश भएकामध्ये ८३.१७ प्रतिशतमा छालाको जलन र ५१.२१ प्रतिशतमा श्वासप्रश्वासका समस्या पाइएको छ । यस्तो समस्या हुने थाहा भए पनि धेरै किसानले यस्ता रसायनको अनुचित प्रयोग जारी राखेका छन् ।
वातावरणीय क्षति पनि बढ्दो चिन्ताको विषय बन्न थालेको स्थानीयले स्वीकारेका छन् । ६४.४१ प्रतिशत किसानले कीटनाशकको नियमित प्रयोगले माटोको क्षयीकरणमा योगदान पु-याएको स्वीकारेका छन् । अध्ययनमा सामेल ६८.४ प्रतिशतले पानीका स्रोतलाई प्रदूषित गराएको अनुभव बताएका छन् । ‘केवल ७५.३४ प्रतिशत किसानले नगरपालिकाको फोहोर सेवामार्फत कीटनाशक कन्टेनरको जिम्मेवारीपूर्वक विसर्जन गर्छन्’ – अध्ययन टोलीले भनेको छ ।
कीटनाशकको सम्पर्कले अल्पकालीन र दीर्घकालीन दुवै स्वास्थ्य परिणाम निम्त्याउँछ । अध्ययनले पत्ता लगायो– ६२.२९ प्रतिशत किसान चक्कर लाग्ने, टाउको दुःख्ने स्वास्थ्य समस्याको अनुभव गरेका छन् ६१.२८ प्रतिशत व्यक्ति छालाको जलनबाट पीडित छन् ।
अध्ययन गरिएका व्यक्तिहरूमा क्यान्सर समस्या, प्रजनन्, स्नायु र अन्य दीर्घकालिन स्वास्थ्य समस्याको पनि अध्ययन केन्द्रित थियो । चिन्तजनक कुरा के छ भने सर्वेक्षणमा सामेल किसानमध्ये ८७.१७ प्रतिशतले यसअघि एकीकृत कीट व्यवस्थापन तालिम लिएका थिएनन् । केवल ३४.३८ प्रतिशतले यस्तो तालिम लिएर जैविक खेतीको अभ्यास पनि गरिरहेका छन् ।
कीटनाशक औषधि प्रयोग गर्दा अपनाउनुपर्ने आधारभूत स्वास्थ्य सतर्कता थाहा भए÷नभएको पक्ष पनि अध्ययन टोलीको प्राथमिकता थियो । ९४.०७ प्रतिशत किसानले कीटनाशक औषधि प्रयोग गर्दा मास्क लगाउनुको महत्व बुझेका पाइयो भने ७३.३५ प्रतिशतले मात्र नियमित रूपमा व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) प्रयोग गरेको अध्ययन टोलीलाई बताए । धेरै कृषकले आगामी दिनमा सुरक्षित कृषि अभ्यास र स्वास्थ्य सतर्कता अपनाउने प्रतिवद्धता जनाएका छन् ।

अन्त्यमा
कृषिमा कीटनाशकले महत्वपूर्ण भूमिका खेल्छन् । तर तिनीहरूको दुरूपयोगले मानव स्वास्थ्य र वातावरणमा गम्भीर जोखिम निम्त्याउन सक्छ । चितवनमा गरिएको अध्ययनले कीटनाशक जागरूकता र सुरक्षित अभ्यास बीचको खाडललाई कम गर्नुपर्ने आवश्यकतालाई जोड दिन्छ ।
किसानले जोखिम पहिचान गरे पनि अनुचित प्रयोग विधि प्रचलित छ जसले गम्भीर स्वास्थ्य र वातावरणीय परिणाम निम्त्याउन सक्छ । बेला मौकामा कृषकलाई तालिमका अवसर दिइएमा परम्परागत अभ्यासलाई सुधार गर्न, कीटनाशक नियम लागू गर्न, जैविक खेतीलाई प्रवद्र्धन गर्न र खुद्रा विक्रेतालाई शिक्षित गर्न सघाउ पु-याउँछ । किसान स्वस्थ्य भए मात्रै नेपालको कृषिबाट अझ बढी प्रतिफल प्राप्त हुन्छ । (चौधरीले पब्लिक हेल्थ विषयमा बिपिएच गर्नुभएको छ । फाउन्डेसनको यो अनुसन्धानमा उहाँ प्रोजेक्ट अफिसर हुनुहुन्थ्यो ।)
चम्किलो प्याकेटभित्र लुकेको मृत्युको पासो:रोग र पीडाको व्यापार
आइतबार, जेठ १७, २०८३
९७७ दरबन्दी थपिँदा पनि हेल्थ असिस्टेन्ट शून्य
सोमबार, वैशाख २८, २०८३
सेवामा समर्पित तर सम्मानबाट वञ्चितः स्वास्थ्यकर्मीको वास्तविकता
शुक्रबार, वैशाख १८, २०८३
नर्सबाट नेतृत्वसम्मः अब व्यवहारिक सुधारको ऐतिहासिक अवसर
बिहीबार, चैत १९, २०८२

