नेभिगेशन
स्वास्थ्य प्रणालीको मेरुदण्ड उठ्दैछ

नर्स र स्वास्थ्यकर्मीको न्याय, पारदर्शिता र मानवीयताको निर्णायक आन्दोलन

हामी सबै एकजुट छौं, संघर्षरत छौं र दृढ छौं न्यायका लागि, सम्मानका लागि र नेपालको स्वास्थ्य प्रणालीको नयाँ अध्यायका लागि

'मेरुदण्ड” उठ्दा शरीर बलियो बन्छ, स्वास्थ्य प्रणाली पनि त्यस्तै हुन्छ'

नेपालको स्वास्थ्य प्रणालीको मेरुदण्ड अग्रपङ्क्तिमा रहने नर्स र स्वास्थ्यकर्मीहरू हुन्। उनीहरू २४ घण्टा बिरामीको नजिक रहन्छन्, जीवन जोखिममा राखेर सेवा गर्छन्।
तर विडम्बना के छ भने — यही मेरुदण्ड वर्षौँदेखि थिचिएको, मिचिएको र बेवास्ता गरिएको छ। आज यही मौन पीडाले विस्फोटको रूप लिएको छ।

 मौनता फुट्यो — गण्डकीबाट सुरु भएको ज्वालो देशभर फैलियो

गण्डकी प्रदेश, पोखराबाट सुरु भएको नर्स र स्वास्थ्यकर्मीहरूको आन्दोलन अहिले सबै प्रदेशमा फैलिएको छ।
यो केवल आन्दोलन होइन, वर्षौंको मौनता, पीडा र अपमानको विस्फोट हो, जसले स्वास्थ्य प्रणालीभित्र लुकेको गहिरो अन्याय उजागर गरेको छ।

नर्सको श्रमः सेवा होइन, “शोषण” बनेको छ

नेपालका निजी अस्पतालहरूमा पाँचौँ तहका नर्स र स्वास्थ्यकर्मीको पारिश्रमिक रु। ८,००० देखि १३,५०० सम्म सीमित छ। तर सरकारले तोकेको न्यूनतम तलब रु. ३४,७३० हो।
महँगा सेवा बेच्ने तर स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक नदिने —के यही हो हाम्रो स्वास्थ्य प्रणालीको अनुहार ?

अस्पतालका मालिक करोडौँको विज्ञापन गर्छन्, महँगा गाडी चढ्छन् तर ती नर्सहरू महिनौँसम्म बिरामीको सेवा गरेर पनि जीवनयापन गर्न संघर्षरत छन्।

 'हामी बिरामीको घाउ सुकाउँछौं, तर हाम्रो आत्मसम्मानमा परेका घाउ गहिरिँदै गएका छन्'

नर्स र स्वास्थ्यकर्मीहरू सधैं दोषका लागि तयार रहन्छन्। गल्ती भए उनीहरू दोषी, सफलता भए व्यवस्थापनलाई श्रेय।
यो “कोड अफ इथिक्स” को नाममा लादिएको एकतर्फी अनुशासन हो — जहाँ जिम्मेवारी हाम्रो काँधमा, अधिकारचाहिँ व्यवस्थापनको हातमा।

लैङ्गिक विभेद र दिदीबहिनीको नाममा हुने अपमान

नर्सिङ पेशामा महिलाको उच्च उपस्थितिका कारण यस पेशालाई अझै लैङ्गिक विभेदको शिकार बनाइँदै आएको छ।
हामीलाई 'सेवक' भनिन्छ तर हाम्रो श्रम र इज्जतको मूल्य दिइँदैन।

'दिदीबहिनी' भन्दै देखाइने भलाइ वास्तवमा सिस्टमले संस्थागत गरेको हिंसा र तुच्छीकरण हो।

सम्झौता कागजमै सुक्यो, अन्याय अझ बढ्यो

स्वास्थ्य मन्त्रालयले पटक–पटक सम्झौता गरे पनि ती कागजमै सुकिरहेका छन्। निजी अस्पताल र मेडिकल कलेजहरू राजनीतिक शक्तिसँग मिलेमतो गरी श्रमिकको आवाज दबाउँदै आएका छन्।

'राजनीतिले हामीलाई टुक्र्यायो, तर पीडाले फेरि एक बनाएको छ।'

स्वास्थ्य अब सेवा होइन, व्यापार बनेको छ

स्वास्थ्य व्यवसायीहरू हाकाहाकी भन्छन् — हामी घाटामा छौं। तर बिरामीको पसिना र आँसुबाट उठेको रकम मालिकका गाडी, विदेश यात्रा र विलासी जीवनमा खर्चिन्छ। यो जनताको स्वास्थ्य प्रणाली होइन, लाभको बजार बनेको छ।

यो केवल पेशागत आन्दोलन होइन — 'सत्याग्रह' हो

नर्स र स्वास्थ्यकर्मीहरूको यो आन्दोलन कुनै व्यक्तिगत वा राजनीतिक अभियान होइन। यो न्याय, सम्मान र पेशागत स्वतन्त्रताको सत्याग्रह हो।
म २०१२ देखि यस अभियानको अग्रपङ्क्तिमा छु — यो त्यसैको निरन्तरता हो।
अब यो देशव्यापी ज्वालामा परिणत हुँदैछ।

सावधान 
कसैले यो आवाज निभाउने चेष्टा नगरोस् — किनकि सत्य, न्याय र सुशासन अन्ततः विजयी हुनेछ।

यदि अहिले बोलेनौं भने, कहिले बोल्ने ?

हामी माग गर्छौं —

  •  मन्त्रालयका सबै सम्झौता तत्काल कार्यान्वयन गरियोस्।
  • निजी र सरकारी संस्थामा समान आधारभूत तलब (पाँचौँ तहः रु. ३४,७३०) लागू गरियोस्।
  • जोखिम भत्ता, रात्री भत्ता, अनुभव–आधारित वृद्धि पुनः लागू गरियोस्।
  •  'एक स्वास्थ्यकर्मी, एक संस्था' नीति लागू गरियोस्।
  • राजनीतिक भागबण्डा र हस्तक्षेप अन्त्य गरियोस्।
  • मानसिक, व्यावसायिक र लैङ्गिक शोषणविरुद्ध कडा कारबाही होस्।
  • सम्झौता कार्यान्वयनको स्वतन्त्र निगरानी समिति गठन गरियोस्।

यो हाम्रो साझा आवाज हो

हामी हाम्रो जिम्मेवारीबाट पछि हट्ने पक्षमा छैनौं तर हाम्रो श्रम र इज्जत बेवास्ता गर्ने अभ्यास अब अस्वीकार्य छ।

यो आन्दोलन केवल नर्स र स्वास्थ्यकर्मीहरूको मात्र होइन — नेपालकै स्वास्थ्य प्रणालीमा न्याय, पारदर्शिता र मानवीयता पुनर्स्थापनाको निर्णायक आन्दोलन हो।

 'नर्सहरूको आवाज अब भुसको आगो होइन' यो सामाजिक चेतनाको ज्वाला हो— जसले स्वास्थ्य प्रणालीमा रूपान्तरण ल्याउनेछ।
हामी सबै एकजुट छौं, संघर्षरत छौं र दृढ छौं न्यायका लागि, सम्मानका लागि र नेपालको स्वास्थ्य प्रणालीको नयाँ अध्यायका लागि।talab-1761408670.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य लेख