नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजनामा सञ्चालित तीन दिने ‘नेपाल फर्मा एक्स्पो २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ। ‘फर्मामा नवीनता, भोलिका लागि स्वास्थ्य’ भन्ने मूल नाराका साथ गत बिहीबारदेखि सुरु भएको एक्स्पो शनिबार समापन भएको हो।
यसअघि चितवनमा आयोजना गरिएको यो प्रदर्शनी यस वर्ष भने काठमाडौँमा आयोजना गरिएको थियो। एक्स्पोमा स्वदेशी औषधि उद्योगहरूको प्रगति, उत्पादन क्षमता तथा विश्व बजारमा प्रयोग भइरहेका नवीनतम कच्चा पदार्थ, प्याकेजिङ सामग्री र अत्याधुनिक मेसिनरीहरूको प्रदर्शनी गरिएको थियो।
नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीले नेपालमा पनि विश्वस्तरीय र गुणस्तरीय औषधि उत्पादन सम्भव रहेको सन्देश दिनका लागि एक्स्पो आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार नेपाली औषधि उद्योगहरूले अन्तर्राष्ट्रिय स्तरका नयाँ प्रविधि र आविष्कारलाई आत्मसात् गर्दै उत्पादन गरिरहेका छन्।
“विश्व परिवेशमा औषधि उत्पादनका लागि विकास भएका नयाँ प्रविधि र आविष्कारलाई आत्मसात् गरेर नै नेपाली औषधि बनाइरहेका छौँ भन्ने सन्देश दिनु हाम्रो मुख्य उद्देश्य हो,” उहाँले भन्नुभयो। साथै उहाँले नेपालमा उत्पादित औषधिको गुणस्तरप्रति शंका नगर्न पनि आग्रह गर्नुभयो।
यसैगरी एपोनका महासचिव सन्तोष बरालले नेपाली औषधि उद्योगहरूले अन्तर्राष्ट्रिय मापदण्डअनुसार उत्पादन गरिरहेको तथ्य सर्वसाधारणसमक्ष प्रत्यक्ष देखाउन एक्स्पो प्रभावकारी बनेको बताउनुभयो।
तीन दिनसम्म सञ्चालन भएको यस एक्स्पोमा करिब १२ हजारभन्दा बढीले अवलोकन गरेका छन्। प्रदर्शनीमा २०० भन्दा बढी कक्ष (स्टल) रहेका थिए। आयोजकका अनुसार तीमध्ये ९० प्रतिशतभन्दा बढी सहभागिता विदेशी तथा बहुराष्ट्रिय कम्पनीहरूको रहेको थियो।
यो एक्स्पो नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र औषधि व्यवस्था विभागको सहकार्यमा आयोजना गरिएको हो। एक्स्पोका गोल्ड स्पोन्सर एचभ्याक्स, प्लाटिनियम स्पोन्सर एलम्याक र डाइमन्ड स्पोन्सर प्यासिफिक ग्रुप रहेका थिए।
यसैगरी एक्स्पोका एसोसिएट सदस्य संस्थाहरूमा नेपाल फार्मेसी काउन्सिल, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, आयुर्वेद औषधि उत्पादक संघ नेपाल, नेपाल चिकित्सक संघ, नेपाल भेटेरिनरी एसोसिएशन, नेपाल औषधि व्यवसायी संघ, केमिकल एन्ड मेडिकल सप्लायर्स एसोसिएशन, एसोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल, नेपाल फर्मास्युटिकल एसोसिएशन, भेटेरिनरी केमिस्ट एन्ड ड्रगिस्ट एसोसिएशन अफ नेपाल, नेपाल आयुर्वेद ड्रगिस्ट एसोसिएशन, फार्मास्युटिकल डिलर एसोसिएशन अफ नेपाल र फार्मेसी एसोसिएशन अफ नेपाल रहेका छन्।
एफएनसीसीआई कार्यकारिणीमा एपोन अध्यक्ष विप्लव अधिकारीको उम्मेदवारी घोषणा
बुधबार, चैत ११, २०८२
खुद्रा औषधि व्यवसायीलाई क्षयरोग नियन्त्रणमा साझेदार बनाउन आग्रह
मंगलबार, चैत १०, २०८२
नेपालमै क्यान्सर औषधि—स्वदेशी सम्भावनाको कथा
बुधबार, चैत ४, २०८२
फार्मामा नवीनता र प्रविधिको संगम : भृकुटीमण्डपमा सुरु भयो ‘नेपाल फर्मा एक्स्पो २०२६’
बिहीबार, फागुन २८, २०८२

