नेपाल हेल्थ न्युज, काठमाडौं । संघीयतापछि खाद्य नियमनको पहुँच बिस्तार भए पनि जनशक्ति, पूर्वाधार र प्रयोगशाला क्षमताको अभाव अझै ठूलो चुनौती बनेको छ । उपभोक्ता सचेतना बढ्दै गएको वर्तमान अवस्थामा विभागलाई अझ सक्षम बनाउनु नै सुरक्षित, स्वच्छ र अन्तर्राष्ट्रियस्तरको खाद्य प्रणालीतर्फको आधार हो ।
संघीयतापछि विभागको जनशक्ति संरचनामा कस्तो परिवर्तन आयो ?
विभागमा पहिले २४१ जनाको दरबन्दी थियो । संघीयता लागू भएपछि ओएनएम सर्भे सम्पन्न भयो र त्यसपछि दरबन्दी क्रमशः बढ्दै गयो । अहिले विभागको स्वीकृत दरबन्दी ३७७ जनाको पुगेको छ । यो संख्या विगतको तुलनामा उल्लेखनीय सुधार हो तर विभागको कार्यक्षेत्र हेर्दा अझै अपर्याप्त नै छ ।
संघीयतापछि अनुगमनको पहुँच कति विस्तार भएको छ ?
विगतमा दुरदराजका जिल्लाहरूमा हाम्रो पहुँच निकै न्यून थियो । उदाहरणका लागि, जुम्लामा मात्र विभागको कार्यालय थियो, अन्य धेरै जिल्लामा थिएनन् । संघीय संरचनापछि कार्यालय विस्तार भएको छ । विशेषगरी पहाडी जिल्लाहरूमा विभागको पहुँच पहिलेभन्दा उल्लेख्य रूपमा बढेको छ । यसले अनुगमन र नियमनलाई प्रभावकारी बनाएको छ ।
उपभोक्ताको चेतना र बजारको अवस्थालाई कसरी हेर्नुहुन्छ ?
अहिले उपभोक्तामा सचेतना बढेको छ । साक्षरता बढेसँगै उपभोक्ता आफैं प्रश्न गर्न थालेका छन् जुन सकारात्मक पक्ष हो । तर अर्कोतर्फ उद्योगी व्यवसायीलाई अझै पनि सरसफाइ, खाद्य स्वच्छता र मापदण्डबारे निरन्तर सिकाउनुपर्ने अवस्था छ । कतिपय ठाउँमा पूर्वाधार नै नपुगेको ठाउँमा होटल र खानपान व्यवसाय सञ्चालन भइरहेको देखिन्छ जहाँ अनुगमनका लागि गम्भीर चुनौती हो ।
यस्तो अवस्थामा विभागलाई के सबैभन्दा बढी आवश्यक देखिन्छ ?
यसका लागि विभागमा थप जनशक्ति आवश्यक छ । अहिले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८० लागू भइसकेको छ । ऐन प्रभावकारी बनाउन संरचना बलियो हुनैपर्छ । मेरो विचारमा ७७ वटै जिल्लामा विभागका कार्यालयहरू हुन सके निगरानी अझ प्रभावकारी हुन्छ । त्यसमा स्थानीय तहको भूमिका पनि महत्वपूर्ण हुन्छ ।
अहिलेको जनशक्तिबाट राम्रो काम सम्भव छ ?
यदि हामीले जनशक्तिलाई वेल इक्विप्ड बनाउन सक्यौं भने अहिलेको जनशक्तिबाट पनि धेरै राम्रो काम लिन सकिन्छ । त्यसका लागि सवारी साधन, पर्याप्त प्रयोगशाला सुविधा, आधुनिक उपकरण र तालिम अत्यन्तै आवश्यक छन् । ल्याब सुविधाहरू थपिएमा यही जनशक्तिबाट धेरै काम गर्न सकिन्छ ।
विभागमा भविष्यको सबैभन्दा ठूलो आवश्यकता के देख्नुहुन्छ ?
विभागले आयात मात्र होइन, निर्यातसँग पनि प्रत्यक्ष रूपमा काम गर्छ । त्यसैले एक्रिडिटेड ल्याब अहिलेको सबैभन्दा ठूलो आवश्यकता हो । विराटनगरको प्रयोगशालाले पूर्व क्षेत्रको भार थेग्न गाह्रो भइरहेको छ । त्यसैले पूर्वमा एउटा, पश्चिममा एउटा र केन्द्रमा विभागकै एक्रिडिटेड प्रयोगशाला आवश्यक छ ।
यदि दरबन्दी थप्ने अवसर मिले कुन तहसम्म आवश्यक देख्नुहुन्छ ?
करिब २० जनाको दरबन्दी थप्न सके विभागले धेरै प्रभावकारी सेवा दिन सक्छ जस्तो लाग्छ । त्यसले अनुगमन, परीक्षण, निर्यात प्रमाणीकरण र उपभोक्ता संरक्षण—सबै क्षेत्रमा गुणात्मक सुधार ल्याउन मद्दत गर्छ ।
चम्किलो प्याकेटभित्र लुकेको मृत्युको पासो:रोग र पीडाको व्यापार
आइतबार, जेठ १७, २०८३
९७७ दरबन्दी थपिँदा पनि हेल्थ असिस्टेन्ट शून्य
सोमबार, वैशाख २८, २०८३
सेवामा समर्पित तर सम्मानबाट वञ्चितः स्वास्थ्यकर्मीको वास्तविकता
शुक्रबार, वैशाख १८, २०८३
नर्सबाट नेतृत्वसम्मः अब व्यवहारिक सुधारको ऐतिहासिक अवसर
बिहीबार, चैत १९, २०८२

