नेभिगेशन

चिकित्सक अचेत अवस्थामा फेला

नेपाल हेल्थ न्युज, काठमाडौं। सल्यान जिल्ला अस्पतालमा कार्यरत एक चिकित्सक अचेत अवस्थामा फेला परेका छन् । उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ।

अस्पताल स्रोतका अनुसार ३७ वर्षीय डा. बुद्धिनाथ शाह बिहान अस्पतालको नियमित राउन्डमा नदेखिएपछि सहकर्मीहरूले उनको खोजी गरेका थिए। खोजीका क्रममा अस्पताल परिसरभित्र निर्माणाधीन भवन नजिकै उनी अचेत अवस्थामा भेटिएका हुन्। बिहान करिब ९ः४५ बजेतिर उनी फेला परेको जनाइएको छ।

घटनास्थलमा ‘ओपी कम्पाउन्ड’ नामको विषादीको बोतल भेटिएको र त्यसबाट करिब २०० मिलिलिटर प्रयोग भएको अनुमान गरिएको अस्पतालले जनाएको छ।

डा. शाह विगत दुई वर्षदेखि जिल्ला अस्पताल सल्यानमा एमडीजीपी चिकित्सकका रूपमा कार्यरत छन्। उनी महोत्तरी जिल्ला, मधेश प्रदेशका स्थायी बासिन्दा हुन्। अस्पताल स्रोतका अनुसार उनी राति करिब १२ः४४ बजे खाना खाएर सुत्न गएको बताइएको छ।

अचेत अवस्थामा भेटिएपछि उनलाई जिल्ला अस्पताल सल्यानमै प्रारम्भिक उपचार गरिएको थियो। थप उपचार आवश्यक परेपछि उनलाई काठमाडौं पठाउने तयारी गरिएको भए पनि प्रतिकूल मौसमका कारण सम्भव नभएपछि तत्काल नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत पठाइएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख अर्जुनकुमार बुढामगरले जानकारी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट