नेभिगेशन

जाडोयाममा बढ्दो स्वास्थ्य जोखिम रोग र सावधानी

नेपाल हेल्थ न्युज, काठमाडौं । यतिखेर मुलुकभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार वायुमण्डलीय प्रभावका कारण यस वर्ष काठमाडौँ उपत्यकासहित देशका धेरै भागमा गत वर्षको तुलनामा बढी चिसो महसुस भइरहेको छ । बिहान–बेलुका बाक्लो कुहिरो, दिउँसो न्यून घाम र बढ्दो प्रदूषणले जाडोलाई अझ कडा बनाएको छ ।

तर जाडो केवल मौसमको कुरा मात्र होइन—यो स्वास्थ्यका दृष्टिले सबैभन्दा संवेदनशील र जोखिमपूर्ण समय पनि हो । हरेक वर्ष जाडो सुरु भएसँगै अस्पतालका आकस्मिक कक्ष र ओपीडीहरूमा बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी र गर्भवती महिलाको चाप बढ्ने गर्छ । चिकित्सकहरू भन्छन्—‘जाडो आफैं रोग होइन, तर जाडोमा अपनाइने लापरबाही नै धेरै रोगको मूल कारण हो ।’ यदि चिसोबाट जोगिन सकियो भने जाडोयाममा देखिने धेरैजसो स्वास्थ्य समस्याबाट बच्न सकिन्छ। 

जाडो मौसम र शरीरः किन बढ्छ रोगको जोखिम ?
मानव शरीरको सामान्य तापक्रम करिब ३७ डिग्री सेल्सियस हुन्छ । जाडो मौसममा फ्लुःवातावरणको तापक्रम घटेपछि शरीरले आफ्नै ताप सन्तुलन कायम राख्न अतिरिक्त ऊर्जा खर्च गर्नुपर्छ । यही क्रममा शरीरमा केही महत्वपूर्ण परिवर्तनहरू हुन्छन् । यो बेला रगतका नसा संकुचन हुन्छन्, रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ, श्वासप्रश्वास प्रणाली संवेदनशील बन्छ र छाला, जोर्नी र स्नायुमा प्रत्यक्ष असर पर्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार चिसो मौसममा असुरक्षित ताप व्यवस्था, वायु प्रदूषण, सरसफाइको कमी र भीडभाडका कारण श्वासप्रश्वास, मुटु, संक्रमणजन्य रोग तथा दुर्घटनाबाट हुने मृत्यु दरसमेत बढ्ने गर्छ । हिउँ पर्ने वा अत्यधिक चिसो हुने पहाडी तथा हिमाली क्षेत्रमा हिँउले खाने गम्भीर समस्या हो । शरीरको कुनै भाग लामो समयसम्म अत्यधिक चिसो वा हिउँको सम्पर्कमा रहँदा त्यहाँको रगत जम्न थाल्छ र तन्तुहरू क्षतिग्रस्त हुन्छन् ।

हातखुट्टाका औँला, कान, नाक, गाला र अनुहार बढी जोखिममा पर्ने अंगहरू हुन् ।  सुरुमा झमझमाउने, पोल्ने, सुनिने, सेतो वा निलो देखिने जस्ता लक्षण देखिन्छन् । समयमै उपचार नगरिएमा मांसपेशी मर्दै जाने र अन्ततः त्यो भाग काट्नुपर्ने अवस्था समेत आउन सक्छ । डब्लुएचओले अत्यधिक चिसो क्षेत्रमा बसोबास गर्ने समुदायलाई तह–तहमा न्यानो कपडा, पञ्जा, मोजा, टोपी र पानी नछिर्ने जुत्ता प्रयोग गर्न सिफारिस गरेको छ ।

हाइपोथर्मियाः जब शरीर आफैं चिसिन्छ
हाइपोथर्मिया भन्नाले शरीरको भित्री तापक्रम ३५ डिग्री सेल्सियसभन्दा कम हुनु हो । यो अवस्था विशेषगरी वृद्धवृद्धा, नवजात शिशु, घरबारविहीन, चिसोमा काम गर्ने मजदुर तथा मदिरा सेवन गर्ने व्यक्तिमा बढी देखिन्छ । हाइपोथर्मियाको मन्द अवस्थामा शरीर काम्ने, बोली अस्पष्ट, अलमलको समस्या हुन्छ ।

मध्यम अवस्थामा कम्पन बन्द, चेतनास्तर घट्ने हुन्छ । यसैगरी गम्भीर अवस्थामा बेहोस, कपडा खोल्ने व्यवहार, मुटुको धड्कन बन्द हुने जोखिम रहन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार हाइपोथर्मिया जाडो मौसममा हुने रोकथामयोग्य मृत्युको प्रमुख कारणमध्ये एक हो । न्यानो कपडा, ओसिलो लुगा तुरुन्त फेर्ने र पर्याप्त ताप व्यवस्था अपनाएमा यसबाट सजिलै बच्न सकिन्छ ।

फ्लुः जाडोमा फैलिने भाइरल संक्रमण
फ्लु इन्फ्लुएन्जा भाइरसबाट लाग्ने सरुवा रोग हो । इन्फ्लुएन्जा ए, बी, सी र डी गरी चार प्रकारका भाइरस हुन्छन् । नेपालमा इन्फ्लुएन्जा ए र बी जाडो सुरु हुने बेला र अन्त्यतिर बढी देखिन्छ । हालैका अन्तर्राष्ट्रिय अध्ययनअनुसार चिसो र सुख्खा हावामा भाइरस लामो समय सक्रिय रहन्छ । बन्द कोठामा मानिसहरू नजिक–नजिक हुँदा संक्रमण छिटो फैलिन्छ ।  केवल हाछ्युँ वा खोकी मात्र होइन, सास फेर्दा पनि फ्लु भाइरस सर्नसक्छ । डब्लुएचओले जाडो मौसममा मास्क प्रयोग, हात धुने बानी, भीडभाडबाट जोगिनु र बिरामी हुँदा घरमै बस्नु लाई सबैभन्दा प्रभावकारी उपाय मानेको छ ।

रुघाखोकी र एलर्जीः चिसोको सामान्य तर लापरबाही खतरनाक

जाडोयाममा भाइरस बढी सक्रिय हुने भएकाले रुघाखोकी सामान्य रूपमा देखिन्छ । तर रुघाखोकीसँगै नाकबाट पहेंलो सिँगान, घाँटी दुख्ने,कान दुख्ने जस्ता लक्षण देखिएमा सतर्कता आवश्यक हुन्छ । चिकित्सकहरूका अनुसार विशेषगरी बालबालिकामा नाक, कान र घाँटी आपसमा सम्बन्धित भएकाले एउटा अंगको संक्रमणले अर्कोलाई पनि असर गर्छ ।
 

श्वासप्रश्वास सम्बन्धी रोगः चिसो र प्रदूषणको दोहोरो मार
दम, ब्रोंकाइटिस, निमोनिया, सिओपिडी जस्ता रोग जाडोमा बढी देखिनुका मुख्य कारण हुन् । चिसो हावाले श्वासनली खुम्चिने, वायु प्रदूषण, धुलो र धुवाँ, चुरोट तथा बिँडी, झ्यालढोका बन्द गरेर बस्ने बानी हुन्छ ।  डब्लुएचओका अनुसार वायु प्रदूषण र चिसोको संयुक्त प्रभावले श्वासप्रश्वास सम्बन्धी रोगबाट हुने मृत्युको जोखिम उल्लेखनीय रूपमा बढाउँछ ।
 

मुटु सम्बन्धी समस्याः चिसोमा बढ्ने हृदयघात
हृदयघात जाडो मौसममा देखिने सबैभन्दा गम्भीर स्वास्थ्य समस्या हो । हार्वर्ड मेडिकल स्कुलका अध्ययनअनुसार चिसो मौसममा रगतका नसा खुम्चिन्छन्, रक्तचाप बढ्छ, मुटुले बढी मेहनत गर्नुपर्छ ।  विशेषगरी उच्च रक्तचाप, मधुमेह र मोटोपन भएका व्यक्तिमा यसले हृदयघात र स्ट्रोको जोखिम बढाउँछ, ।

कार्बन मोनोअक्साइड पोइजनिङः जाडोको अदृश्य हत्यारा
जाडोमा झ्यालढोका बन्द गरेर आगो, कोइला, हिटर वा ग्याँस गिजर प्रयोग गर्ने चलन व्यापक छ । यही बानी कार्बनमोनोअक्साइड (सिओ) विषाक्तताको मुख्य कारण हो । सिओ खतरनाक हुन्छ किनभने यसको गन्ध, रंग र स्वाद हुँदैन, थाहा नपाई शरीरमा प्रवेश गर्छ र  रगतमा अक्सिजन बोक्ने क्षमतामा अवरोध गर्छ । डव्लुएचओका अनुसार घरभित्र असुरक्षित ताप उपकरण प्रयोग गर्दा हुने सिओ विषाक्तता विश्वभर जाडो मौसममा हुने आकस्मिक मृत्युको प्रमुख कारण हो । नेपालमा ग्यास गिजरका कारण बाथरुममै मृत्यु भएका घटनाहरू यसैको उदाहरण हुन् ।

जोर्नी दुखाइ र आर्थराइटिस
चिसो मौसममा नसा संकुचन र रगतको प्रवाह कम हुँदा जोर्नीहरू कडा र दुखाइयुक्त हुन्छन् । त्यसैले गठिया र बाथरोग भएका व्यक्तिमा जाडोमा पीडा बढ्छ ।
 

सुख्खा छालाः सौन्दर्य मात्र होइन, स्वास्थ्यको कुरा
डब्लुएचओ भन्छ—‘छाला शरीरको पहिलो सुरक्षा कवच हो । जाडोमा वातावरण सुख्खा हुँदा शरीरबाट पानी छिटो निस्कन्छ र छाला फुट्ने, चिलाउने तथा संक्रमण हुने जोखिम बढ्छ।
 

नोरोभाइरस (विन्टर डायरिया): जाडोको झाडाबान्ता
नोरोभाइरस जाडो मौसममा फैलिने अत्यन्त संक्रामक भाइरस हो । संक्रमित खाना, सतह र व्यक्तिको सम्पर्कबाट सजिलै सर्छ। नेपालमा परीक्षणको अभावले यो अझै अन्डरडायग्नोज्ड अवस्थामा छ ।
 

जाडोमा स्वस्थ रहने वैज्ञानिक उपाय
डब्लुएचओ र अन्तर्राष्ट्रिय अनुसन्धानका आधारमा न्यानो कपडा लगाउने, मास्क र सरसफाइमा ध्यान दिने, सन्तुलित आहार (भिटामिन सी, जिंक)  खाने, पर्याप्त पानी पिउने,  दैनिक ६–७ घण्टा निद्रा लिने, धूमपान तथा मद्यपान त्याग्ने र आगो, हिटर, गिजर प्रयोगमा भेन्टिलेसन अनिवार्य राख्ने सुझाव दिइएको छ ।  त्यसैले जाडो आफैं रोग होइन, तर जाडोमा अपनाइने गलत बानी रोगको ढोका खोल्ने कुञ्जी हो । विश्व स्वास्थ्य संगठन, वैज्ञानिक अनुसन्धान र नेपाली अनुभव एउटै कुरा भन्छ— सावधानी अपनाइयो भने जाडो सुरक्षित हुनसक्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

पुरुषोत्तम घिमिरे विगत २५ वर्षदेखि स्वास्थ्य पत्रकारिता गर्दै आउनुभएको छ ।  

थप स्वास्थ्य लेख