नेपाल हेल्थ न्युज, काठमाडौं । यतिखेर मुलुकभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार वायुमण्डलीय प्रभावका कारण यस वर्ष काठमाडौँ उपत्यकासहित देशका धेरै भागमा गत वर्षको तुलनामा बढी चिसो महसुस भइरहेको छ । बिहान–बेलुका बाक्लो कुहिरो, दिउँसो न्यून घाम र बढ्दो प्रदूषणले जाडोलाई अझ कडा बनाएको छ ।
तर जाडो केवल मौसमको कुरा मात्र होइन—यो स्वास्थ्यका दृष्टिले सबैभन्दा संवेदनशील र जोखिमपूर्ण समय पनि हो । हरेक वर्ष जाडो सुरु भएसँगै अस्पतालका आकस्मिक कक्ष र ओपीडीहरूमा बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी र गर्भवती महिलाको चाप बढ्ने गर्छ । चिकित्सकहरू भन्छन्—‘जाडो आफैं रोग होइन, तर जाडोमा अपनाइने लापरबाही नै धेरै रोगको मूल कारण हो ।’ यदि चिसोबाट जोगिन सकियो भने जाडोयाममा देखिने धेरैजसो स्वास्थ्य समस्याबाट बच्न सकिन्छ।
जाडो मौसम र शरीरः किन बढ्छ रोगको जोखिम ?
मानव शरीरको सामान्य तापक्रम करिब ३७ डिग्री सेल्सियस हुन्छ । जाडो मौसममा फ्लुःवातावरणको तापक्रम घटेपछि शरीरले आफ्नै ताप सन्तुलन कायम राख्न अतिरिक्त ऊर्जा खर्च गर्नुपर्छ । यही क्रममा शरीरमा केही महत्वपूर्ण परिवर्तनहरू हुन्छन् । यो बेला रगतका नसा संकुचन हुन्छन्, रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ, श्वासप्रश्वास प्रणाली संवेदनशील बन्छ र छाला, जोर्नी र स्नायुमा प्रत्यक्ष असर पर्छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार चिसो मौसममा असुरक्षित ताप व्यवस्था, वायु प्रदूषण, सरसफाइको कमी र भीडभाडका कारण श्वासप्रश्वास, मुटु, संक्रमणजन्य रोग तथा दुर्घटनाबाट हुने मृत्यु दरसमेत बढ्ने गर्छ । हिउँ पर्ने वा अत्यधिक चिसो हुने पहाडी तथा हिमाली क्षेत्रमा हिँउले खाने गम्भीर समस्या हो । शरीरको कुनै भाग लामो समयसम्म अत्यधिक चिसो वा हिउँको सम्पर्कमा रहँदा त्यहाँको रगत जम्न थाल्छ र तन्तुहरू क्षतिग्रस्त हुन्छन् ।
हातखुट्टाका औँला, कान, नाक, गाला र अनुहार बढी जोखिममा पर्ने अंगहरू हुन् । सुरुमा झमझमाउने, पोल्ने, सुनिने, सेतो वा निलो देखिने जस्ता लक्षण देखिन्छन् । समयमै उपचार नगरिएमा मांसपेशी मर्दै जाने र अन्ततः त्यो भाग काट्नुपर्ने अवस्था समेत आउन सक्छ । डब्लुएचओले अत्यधिक चिसो क्षेत्रमा बसोबास गर्ने समुदायलाई तह–तहमा न्यानो कपडा, पञ्जा, मोजा, टोपी र पानी नछिर्ने जुत्ता प्रयोग गर्न सिफारिस गरेको छ ।
हाइपोथर्मियाः जब शरीर आफैं चिसिन्छ
हाइपोथर्मिया भन्नाले शरीरको भित्री तापक्रम ३५ डिग्री सेल्सियसभन्दा कम हुनु हो । यो अवस्था विशेषगरी वृद्धवृद्धा, नवजात शिशु, घरबारविहीन, चिसोमा काम गर्ने मजदुर तथा मदिरा सेवन गर्ने व्यक्तिमा बढी देखिन्छ । हाइपोथर्मियाको मन्द अवस्थामा शरीर काम्ने, बोली अस्पष्ट, अलमलको समस्या हुन्छ ।
मध्यम अवस्थामा कम्पन बन्द, चेतनास्तर घट्ने हुन्छ । यसैगरी गम्भीर अवस्थामा बेहोस, कपडा खोल्ने व्यवहार, मुटुको धड्कन बन्द हुने जोखिम रहन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार हाइपोथर्मिया जाडो मौसममा हुने रोकथामयोग्य मृत्युको प्रमुख कारणमध्ये एक हो । न्यानो कपडा, ओसिलो लुगा तुरुन्त फेर्ने र पर्याप्त ताप व्यवस्था अपनाएमा यसबाट सजिलै बच्न सकिन्छ ।
फ्लुः जाडोमा फैलिने भाइरल संक्रमण
फ्लु इन्फ्लुएन्जा भाइरसबाट लाग्ने सरुवा रोग हो । इन्फ्लुएन्जा ए, बी, सी र डी गरी चार प्रकारका भाइरस हुन्छन् । नेपालमा इन्फ्लुएन्जा ए र बी जाडो सुरु हुने बेला र अन्त्यतिर बढी देखिन्छ । हालैका अन्तर्राष्ट्रिय अध्ययनअनुसार चिसो र सुख्खा हावामा भाइरस लामो समय सक्रिय रहन्छ । बन्द कोठामा मानिसहरू नजिक–नजिक हुँदा संक्रमण छिटो फैलिन्छ । केवल हाछ्युँ वा खोकी मात्र होइन, सास फेर्दा पनि फ्लु भाइरस सर्नसक्छ । डब्लुएचओले जाडो मौसममा मास्क प्रयोग, हात धुने बानी, भीडभाडबाट जोगिनु र बिरामी हुँदा घरमै बस्नु लाई सबैभन्दा प्रभावकारी उपाय मानेको छ ।
रुघाखोकी र एलर्जीः चिसोको सामान्य तर लापरबाही खतरनाक
जाडोयाममा भाइरस बढी सक्रिय हुने भएकाले रुघाखोकी सामान्य रूपमा देखिन्छ । तर रुघाखोकीसँगै नाकबाट पहेंलो सिँगान, घाँटी दुख्ने,कान दुख्ने जस्ता लक्षण देखिएमा सतर्कता आवश्यक हुन्छ । चिकित्सकहरूका अनुसार विशेषगरी बालबालिकामा नाक, कान र घाँटी आपसमा सम्बन्धित भएकाले एउटा अंगको संक्रमणले अर्कोलाई पनि असर गर्छ ।
श्वासप्रश्वास सम्बन्धी रोगः चिसो र प्रदूषणको दोहोरो मार
दम, ब्रोंकाइटिस, निमोनिया, सिओपिडी जस्ता रोग जाडोमा बढी देखिनुका मुख्य कारण हुन् । चिसो हावाले श्वासनली खुम्चिने, वायु प्रदूषण, धुलो र धुवाँ, चुरोट तथा बिँडी, झ्यालढोका बन्द गरेर बस्ने बानी हुन्छ । डब्लुएचओका अनुसार वायु प्रदूषण र चिसोको संयुक्त प्रभावले श्वासप्रश्वास सम्बन्धी रोगबाट हुने मृत्युको जोखिम उल्लेखनीय रूपमा बढाउँछ ।
मुटु सम्बन्धी समस्याः चिसोमा बढ्ने हृदयघात
हृदयघात जाडो मौसममा देखिने सबैभन्दा गम्भीर स्वास्थ्य समस्या हो । हार्वर्ड मेडिकल स्कुलका अध्ययनअनुसार चिसो मौसममा रगतका नसा खुम्चिन्छन्, रक्तचाप बढ्छ, मुटुले बढी मेहनत गर्नुपर्छ । विशेषगरी उच्च रक्तचाप, मधुमेह र मोटोपन भएका व्यक्तिमा यसले हृदयघात र स्ट्रोको जोखिम बढाउँछ, ।
कार्बन मोनोअक्साइड पोइजनिङः जाडोको अदृश्य हत्यारा
जाडोमा झ्यालढोका बन्द गरेर आगो, कोइला, हिटर वा ग्याँस गिजर प्रयोग गर्ने चलन व्यापक छ । यही बानी कार्बनमोनोअक्साइड (सिओ) विषाक्तताको मुख्य कारण हो । सिओ खतरनाक हुन्छ किनभने यसको गन्ध, रंग र स्वाद हुँदैन, थाहा नपाई शरीरमा प्रवेश गर्छ र रगतमा अक्सिजन बोक्ने क्षमतामा अवरोध गर्छ । डव्लुएचओका अनुसार घरभित्र असुरक्षित ताप उपकरण प्रयोग गर्दा हुने सिओ विषाक्तता विश्वभर जाडो मौसममा हुने आकस्मिक मृत्युको प्रमुख कारण हो । नेपालमा ग्यास गिजरका कारण बाथरुममै मृत्यु भएका घटनाहरू यसैको उदाहरण हुन् ।
जोर्नी दुखाइ र आर्थराइटिस
चिसो मौसममा नसा संकुचन र रगतको प्रवाह कम हुँदा जोर्नीहरू कडा र दुखाइयुक्त हुन्छन् । त्यसैले गठिया र बाथरोग भएका व्यक्तिमा जाडोमा पीडा बढ्छ ।
सुख्खा छालाः सौन्दर्य मात्र होइन, स्वास्थ्यको कुरा
डब्लुएचओ भन्छ—‘छाला शरीरको पहिलो सुरक्षा कवच हो । जाडोमा वातावरण सुख्खा हुँदा शरीरबाट पानी छिटो निस्कन्छ र छाला फुट्ने, चिलाउने तथा संक्रमण हुने जोखिम बढ्छ।
नोरोभाइरस (विन्टर डायरिया): जाडोको झाडाबान्ता
नोरोभाइरस जाडो मौसममा फैलिने अत्यन्त संक्रामक भाइरस हो । संक्रमित खाना, सतह र व्यक्तिको सम्पर्कबाट सजिलै सर्छ। नेपालमा परीक्षणको अभावले यो अझै अन्डरडायग्नोज्ड अवस्थामा छ ।
जाडोमा स्वस्थ रहने वैज्ञानिक उपाय
डब्लुएचओ र अन्तर्राष्ट्रिय अनुसन्धानका आधारमा न्यानो कपडा लगाउने, मास्क र सरसफाइमा ध्यान दिने, सन्तुलित आहार (भिटामिन सी, जिंक) खाने, पर्याप्त पानी पिउने, दैनिक ६–७ घण्टा निद्रा लिने, धूमपान तथा मद्यपान त्याग्ने र आगो, हिटर, गिजर प्रयोगमा भेन्टिलेसन अनिवार्य राख्ने सुझाव दिइएको छ । त्यसैले जाडो आफैं रोग होइन, तर जाडोमा अपनाइने गलत बानी रोगको ढोका खोल्ने कुञ्जी हो । विश्व स्वास्थ्य संगठन, वैज्ञानिक अनुसन्धान र नेपाली अनुभव एउटै कुरा भन्छ— सावधानी अपनाइयो भने जाडो सुरक्षित हुनसक्छ ।
चम्किलो प्याकेटभित्र लुकेको मृत्युको पासो:रोग र पीडाको व्यापार
आइतबार, जेठ १७, २०८३
९७७ दरबन्दी थपिँदा पनि हेल्थ असिस्टेन्ट शून्य
सोमबार, वैशाख २८, २०८३
सेवामा समर्पित तर सम्मानबाट वञ्चितः स्वास्थ्यकर्मीको वास्तविकता
शुक्रबार, वैशाख १८, २०८३
नर्सबाट नेतृत्वसम्मः अब व्यवहारिक सुधारको ऐतिहासिक अवसर
बिहीबार, चैत १९, २०८२

