नेपालका नर्सहरू अहिले सडकमा छन्। उनीहरुका हातमा सिरिन्ज होइन, प्लेकार्ड छन्। अनुहारमा थकान होइन, आत्मसम्मानको मागले भरिएको दृढता छ। यो दृश्य केवल पेशागत असन्तुष्टिको परिणाम होइन, यो मानवता, समानता र आत्मपहिचानको पुनर्जागरण हो। नर्सहरूले बोलिरहेका छन् — आफ्ना लागि मात्र होइन, हाम्रो सम्पूर्ण स्वास्थ्य प्रणालीका लागि।
पेशागत असमानताको जरो
नर्सहरू कुनै पनि स्वास्थ्य प्रणालीको मेरुदण्ड हुन्। अस्पतालको पहिलो अनुहार र अन्तिम हेरचाह गर्ने हात नर्सकै हुन्छ। तर विडम्बना— त्यो मेरुदण्डलाई नै राज्य र संस्थागत संरचनाले दुर्बल बनाएको छ।
असमान पारिश्रमिक, अस्थायी करार, सीमित निर्णय–अधिकार र पेशागत सम्मानको अभाव—यी केवल कार्यगत समस्या होइनन्, सामाजिक दृष्टिकोणका गहिरा रोगहरू हुन्।
नर्सहरूको श्रमलाई हाम्रो समाजले “कर्तव्य”का रूपमा त देख्छ तर “व्यावसायिक मूल्य”का रूपमा स्वीकार गर्न अझै पनि हिचकिचाउँछ। राज्यको दृष्टि अझै पनि उनीहरूलाई “सेवक” का रूपमा मात्र देख्छ, “साझा निर्णयकर्ता”का रूपमा होइन।
मागहरु अधिकारका लागि मात्र होइन
नर्सहरूको माग सुन्दा धेरैलाई लाग्न सक्छ — यो त तलब र स्थायीकरणको कुरा मात्रै हो। तर होइन, यो माग केवल व्यक्तिगत होइन, सामूहिक हो। स्थायी पद, समान पारिश्रमिक, कार्यस्थलमा सम्मान र सुरक्षा—यी मागहरू स्वास्थ्य सेवाको गुणस्तरसँग प्रत्यक्ष सम्बन्धित छन्।
नर्सहरू सन्तुष्ट र सुरक्षित नभएसम्म न त बिरामी सुरक्षित हुन्छ न स्वास्थ्य प्रणाली नै प्रभावकारी। त्यसैले यो आन्दोलन स्वास्थ्य प्रणालीकै मेरुदण्डमा न्याय र समानताको औषधि खोज्ने प्रयास हो।
मनोवैज्ञानिक दृष्टिकोणः सम्मानको संघर्ष
नर्सहरूको आन्दोलन केवल प्रशासनिक मुद्दा मात्र होइन, यो मनोवैज्ञानिक विद्रोह पनि हो। सामाजिक मनोविज्ञान अनुसार, हाम्रो समाजमा 'महिला–प्रधान' पेशाहरूलाई भावनात्मक मूल्य त दिइन्छ, तर व्यावसायिक मूल्य कम दिइन्छ।
यो नै अनकन्सस जेन्डर बायस हो— जहाँ महिलाको श्रमलाई 'कर्तव्य' को रूपमा स्वीकारिन्छ, तर 'पेशा' को रूपमा मान्यता दिइँदैन। नर्सिङ पेशालाई 'सेवा' भनेर पवित्र भनिन्छ, तर त्यो सेवाको मूल्य तिर्न समाज कञ्जुस हुन्छ।
यही पूर्वाग्रहका विरुद्ध नर्सहरूको आन्दोलन एक मनोवैज्ञानिक घोषणा हो—
हामी सेवक मात्र होइनौं, हामी पेशागत व्यक्ति हौं।हाम्रो करुणा कमजोरी होइन, हाम्रो करुणा शक्ति हो।
अस्पतालबाट सडकसम्मको स्वर
अहिले यो संघर्ष अस्पतालको भित्ताभित्र सीमित छैन। यो सडकमा फैलिएको छ, यो जनताको प्रश्न बनेको छ, र यो राज्यको जिम्मेवारीको परीक्षाको घडी हो। नर्सहरूले डिकेड्सदेखि आफ्नो आवाज दबाएर काम गरे— अब उनीहरूले बोल्न थालेका छन्।
दिनरात अरूको पीडासँग जुध्ने ती हातहरूले जब आफ्नै पीडा बोले, समाजले तिनलाई 'असक्षम' र 'आवाजहीन' ठान्यो। तर यही आवाज अहिले सामाजिक चेतनाको घण्टी बनेको छ।
यो केवल आन्दोलन होइन, यो समाजको दोहोरो मापदण्डविरुद्धको आरसपार्स हो।
भावनात्मक दबाब र मौन पीडा
नर्सहरूको पेशा केवल शारीरिक परिश्रमको होइन, यो भावनात्मक सहनशीलताको पनि परीक्षा हो। प्रत्येक दिन मृत्यु, पीडा, र निराशासँग जुध्ने पेशा — तर उनीहरूको आफ्नै पीडा कसैले सुन्दैन।
'संवेदनशील पेशा भएकै कारण' उनका भावनात्मक घाउहरूलाई संवेदनशीलताले होइन, बेवास्ताले उपचार गरिएको छ। यो नै नर्सहरूको सबैभन्दा ठूलो मनोवैज्ञानिक घाउ हो —उनीहरूले अरूलाई उपचार गर्छन्, तर आफू उपचारविहीन छन्।
साझा प्रश्न, साझा जिम्मेवारी
नर्सहरूको आन्दोलन केवल नर्सहरूको लागि होइन, हाम्रो समाजको नै आरसपार्स हो। जब नर्सहरू सुरक्षित र सम्मानजनक वातावरणमा काम गर्न पाउँछन्, त्यो सुरक्षित सेवा बिरामीमा पुग्छ। जब नर्सको मनोबल उच्च हुन्छ, त्यो बिरामीको जीवनरक्षा बनिन्छ। त्यसैले यो आवाज केवल पेशागत आन्दोलन होइन— यो स्वास्थ्य, न्याय र मानवीय चेतनाको आवाज हो।
चेतनाको पुनर्जागरण
नर्सहरूको आन्दोलनले सम्पूर्ण राष्ट्रलाई प्रश्न गरेको छ —
- के हाम्रो स्वास्थ्य प्रणाली न्यायपूर्ण छ ?
- के हाम्रो सोच संवेदनशील छ ?
- के हामीले अरूको सेवा गर्ने हातलाई सम्मान दिन सकेका छौँ ?
यो आन्दोलनले देखाएको छ कि समानता र सम्मानको बाटो केवल नीति होइन, चेतना र व्यवहारको क्रान्ति हो। नर्सहरूको समर्थन गर्नु केवल पेशागत ऐक्यबद्धता मात्र होइन, यो मानवीय सभ्यताको समर्थन हो।
अब समय आएको छ —
हामी सबैले त्यो चेतनाको आवाज सुन्ने किनकि जब नर्सको आत्मसम्मान सुरक्षित हुन्छ, त्यसपछि मात्रै समाज स्वस्थ हुन्छ।
नर्स र स्वास्थ्यकर्मीको न्याय, पारदर्शिता र मानवीयताको निर्णायक आन्दोलन
शनिबार, कात्तिक ८, २०८२
रुघाबाट बच्ने उपाय र घरेलु उपचारहरू
बुधबार, असोज २९, २०८२
महिलाहरूलाई पुरुषहरूको तुलनामा चिसो किन बढी महसुस हुन्छ ?
सोमबार, असोज २७, २०८२
महिलामा पुरुषभन्दा बढी पिसाबको सङ्क्रमण किन हुन्छ ?
मंगलबार, असोज ७, २०८२
