काठमाडौंको एक कुनामा ७२ वर्षकी कमला श्रेष्ठ बिहानै भान्छामा एक्लै चिया उमाल्दै सोचमा हराइरहेकी थिइन्– ‘यो घर एकदिन यति सुनसान होला भन्ने कल्पना पनि गरेकी थिइनँ ।’ श्रीमानको केही वर्षअघि निधन भयो, दुई छोराछोरी रोजगारीका लागि विदेशतिर छन् र छिमेकी पनि कामधन्दा र व्यस्त जीवनले टाढिँदै गएका छन् । कमलाजस्तै अहिले नेपालका हजारौं वृद्धवृद्धाको दैनिकी यही मौन पीडाले भरिएको छ–‘एक्लोपन ।’
नेपालमा वृद्ध जनसंख्या र बदलिँदो पारिवारिक संरचना
नेपालको पछिल्लो जनगणनाअनुसार देशमा करिब २९ लाख मानिस ६० वर्षभन्दा माथिका छन् । सन् २०५८ सालको जनगणना अनुसार यो संख्या जम्मा १६ लाख थियो । तर पछिल्ला दुई दशकमा वृद्ध जनसंख्या झन्डै दोब्बर भएको छ ।
पहिलेको जस्तो संयुक्त परिवारको प्रचलन बिस्तारै हराउँदै गयो । तीन पुस्ता एउटै छानामुनि बस्ने परम्परा आर्थिक, सामाजिक र सांस्कृतिक कारणले कमजोर हुँदै गयो । रोजगारी, शिक्षा र अवसरका लागि युवा पुस्ता शहरतिर । अझ ठूलो संख्यामा विदेशतिर लागेपछि गाउँघर वृद्धवृद्धामात्र बाँकी रहने अवस्था भएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को तथ्यांक अनुसार नेपालबाट दैनिक औसत ३,००० भन्दा बढी युवा विदेशिन्छन् ।
एक्लोपनको स्वास्थ्यमा असर
ब्रिटिश रोयल कलेज अफ जनरल प्राक्टिसनर्सले एक्लोपनलाई मधुमेहजस्तै घातक रोगसँग तुलना गरेको छ । अनुसन्धानले देखाएको छ–
- लगातार एक्लोपनको अनुभवले मृत्युको जोखिम २६% सम्म बढाउँछ ।
- यसले हृदयघात, स्ट्रोक र प्रतिरोधात्मक क्षमतामा प्रतिकूल असर पार्छ ।
- मानसिक स्वास्थ्यअन्तर्गत डिप्रेसन, चिन्ता र स्मरणशक्ति क्षयको सम्भावना उच्च हुन्छ ।
नेपालको स्वास्थ्य मन्त्रालयको २०८० सालको मानसिक स्वास्थ्य स्थिति रिपोर्ट अनुसार ६० वर्षभन्दा माथिका करिब ३५% वृद्धवृद्धाले डिप्रेसनको लक्षण देखाएका छन् । तीमध्ये धेरैजसोमा कारण ‘एक्लोपन’ मुख्य थियो ।
सकारात्मक र नकारात्मक दृष्टि
कतिपय मनोवैज्ञानिकले एक्लोपनलाई ‘स्व–चिन्तन र सिर्जनशीलताको अवसर’ का रूपमा पनि देख्छन् । अमेरिकी लेखिका एनेली रुफस आफ्नो पुस्तक पार्टी अफ वन्ः द लोनर्स म्यानिफेस्टो मा भन्छिन् –‘एक्लो बस्नु भनेको आफ्नो समय, ऊर्जा र रचनात्मक क्षमतामा लगानी गर्ने मौका हो ।’ तर यो दृष्टिकोण त्यतिखेर मात्र सकारात्मक हुन्छ जब एक्लोपन ‘चयन’ को हो, ‘बाध्यता’ को होइन ।
नेपालको सामाजिक वास्तविकता
गाउँघरमा वृद्धवृद्धा बिहानको आँगन खाली देख्छन् । भान्छाको भाँडा टन्टनाउँछ र नातिनातिनाको हाँसो टाढैबाट मात्र सुनिन्छ– त्यो पनि भिडियो कलमार्फत् । अर्थतन्त्रलाई चुस्त बनाउन वैदेशिक रोजगारले योगदान त गरेको छ । तर यसले पारिवारिक संरचना भत्काएको तथ्य पनि छर्लङ्ग छ ।
२० वर्षअघि वृद्धवृद्धा प्रायः संयुक्त परिवारमा हुन्थे । आज करिब ६०% वृद्धवृद्धा एकल या पति/पत्नी मात्र रहने परिवारमा बस्छन् ( केन्द्रिय तथ्यांक विभाग, २०२३) ।
एक्लोपनको जटिलता
शारीरिक समस्याः उच्च रक्तचाप, मधुमेहको तीव्रता, निद्रा नलाग्ने समस्या ।
मानसिक समस्याः डिप्रेसन, स्मरणशक्ति क्षय, आत्ममूल्य घट्ने ।
सामाजिक समस्याः सामुदायिक सहभागिता घट्ने, अरूको साहाराप्रति निर्भरता बढ्ने ।
वरिष्ठ मनोचिकित्सक प्रा. डा. सरोज वझाको भनाइमा–‘एक्लोपनको दीर्घकालीन असर देख्दा यो केवल भावनात्मक पीडा होइन, यो स्वास्थ्य संकट हो । यसले वृद्धको मानसिक सन्तुलन र प्रतिरोधात्मक क्षमता दुवैमा गहिरो चोट पु-याउँछ ।’
समाधानका बाटा
- संयुक्त परिवारलाई प्रोत्साहन– सरकार र समाज दुवैको स्तरमा बहुपुस्ता परिवार प्रणालीलाई टिकाइराख्ने पहल ।
- सामुदायिक केन्द्र– वृद्धवृद्धाले समय बिताउन, गतिविधि गर्न, सँगसँगै खाना खाने, अनुभव बाँड्ने स्थान ।
- मानसिक स्वास्थ्य सेवा पहुँचमा पु-याउने– स्वास्थ्य चौकीदेखि जिल्ला अस्पतालसम्म वृद्धमैत्री मानसिक स्वास्थ्य क्लिनिक ।
- प्रविधिको उपयोग– भिडियो कल, अनलाइन सामुदायिक गतिविधि, डिजिटल स्वास्थ्य सल्लाह ।
- स्वास्थ्य र आध्यात्मिक अभ्यास– योग, ध्यान, हल्का व्यायाम, धार्मिक/सांस्कृतिक क्रियाकलापमा सहभागिता ।
सारांशमा बुढेसकालमा चाहिने भनेको केवल औषधि होइन, आफ्नोपन हो । वृद्धवृद्धालाई साथ दिने हात, कुरा सुन्ने कान र मन बुझ्ने दिल नै एक्लोपनको सबैभन्दा ठूलो उपचार हो । यदि हामी सबैले यो मौन महामारीलाई देख्यौं भने कमला श्रेष्ठजस्ता हजारौं आमाबुबा अझै समयमै परिवार र समाजको मायाले घेरिन सक्छन् । – आन्ना ढुंगेल, नीता
नर्स र स्वास्थ्यकर्मीको न्याय, पारदर्शिता र मानवीयताको निर्णायक आन्दोलन
शनिबार, कात्तिक ८, २०८२
नर्स आन्दोलनः आत्मसम्मान र समानताको पुनर्जागरण
शुक्रबार, कात्तिक ७, २०८२
रुघाबाट बच्ने उपाय र घरेलु उपचारहरू
बुधबार, असोज २९, २०८२
महिलाहरूलाई पुरुषहरूको तुलनामा चिसो किन बढी महसुस हुन्छ ?
सोमबार, असोज २७, २०८२
