नेभिगेशन

धुलिखेल अस्पतालबाट प्राथमिक स्वास्थ्य केन्द्रको बिमा सेवा सुरु

नेपाल हेल्थ न्युज, काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिकाभित्र पर्ने प्राथमिक स्वास्थ्य केन्द्रले आजदेखि धुलिखेल अस्पतालको भवनबाट स्वास्थ्य बिमाको सेवा प्रदान गर्न थालेको छ। यसअघि केन्द्रले भौतिक पूर्वाधार र जनशक्ति अभावका कारण स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु सेवा दिन सकेको थिएन र बारम्बार ढिलाइ हुँदै आएको थियो।

सेवा अझ सहज र प्रभावकारी बनाउन अस्पतालको भवनमा ‘विस्तारित स्वास्थ्य बिमा सेवा केन्द्र’ सञ्चालनमा ल्याइएको छ। सरकारी नीतिअनुसार स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु सेवा सरकारी स्वास्थ्य संस्थाबाटै उपलब्ध गराउनुपर्ने भएकाले यस निर्णयलाई ठूलो महत्व दिइएको छ। साउन १ गतेदेखि धुलिखेल अस्पतालले प्रथम सेवा विन्दुको रूपमा रेफरल सेन्टरको काम गर्दै आएको थियो।

नगरप्रमुख अशोक ब्याञ्जूले भने, “चिकित्सक, नर्स र औषधिसहित सेवा अस्पतालको परिसरमै सञ्चालन गरिँदा सेवा लिनेहरूका लागि सजिलो हुनेछ। अस्पतालसँग सहकार्य गरेर भौतिक पूर्वाधार र जनशक्ति अभावलाई टार्ने योजना बनाइएको छ। संघ र प्रदेश सरकारबाट पनि सहयोग प्राप्त हुने छ।”

धुलिखेल अस्पतालको सेतो भवन नजिकै रहेको कक्षबाट स्वास्थ्य परीक्षण, औषधि उपचार लगायतका सेवा दिइनेछ। यसले करिब २ लाख ५३ हजार ६ सय सेवाग्राहीलाई सहज सेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

२०७६ मङ्सिर १ गतेदेखि पहिलो सेवा विन्दुको रूपमा मेथिनकोट अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र धुलिखेल, सुन्थान, खोपासी र पाँचखाल उल्लेखित थिए। तर, पूर्वाधार र जनशक्तिको अभावका कारण धुलिखेल र पाँचखालले सेवा दिन सकेका थिएनन्।

धुलिखेलका राजनीतिक दल, नगर प्रशासन र स्वास्थ्य केन्द्रले धुलिखेल अस्पताललाई प्रथम सेवा विन्दु बनाउन प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य मन्त्री प्रदिप पौडेललाई ज्ञापनपत्र बुझाएका थिए। ज्ञापनपत्रमा अस्पताललाई प्रथम सेवा विन्दु बनाउन पूर्वाधार, स्वास्थ्य उपकरण र जनशक्तिको व्यवस्थापन गर्न आग्रह गरिएको थियो। साथै, १५ शय्याको प्रादेशिक अस्पताल संचालन गरी सबै स्वास्थ्य चौकिहरूमा गुणस्तरीय सेवा सुनिश्चित गर्न समेत माग गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट