नेभिगेशन

तराई क्षेत्रमा फैलिन थाल्यो जापानी इन्सेफ्लाइटिस: तीन जनाको मृत्यु,३३ संक्रमित

नेपाल हेल्थ न्युज, काठमाडौं । तराईका विभिन्न जिल्लामा जापानी इन्सेफ्लाइटिस नामक भाइरसको संक्रमण तीव्र गतिमा फैलिन थालेको छ। स्वास्थ्य मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाको भनाइअनुसार हालसम्म ३ जनाको ज्यान गइसकेको छ भने ३३ जनामा संक्रमण पुष्टि भएको छ। गत वर्षको तुलनामा यसपटक संक्रमणको दर कम भए पनि, जोखिम भने अझै कायम रहेको जनाइएको छ।

जापानी इन्सेफ्लाइटिस मुख्यतया क्यूलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्छ। यो लामखुट्टे सुँगुर वा संक्रमित चराहरूबाट भाइरस लिएर मानिसलाई टोक्दा संक्रमण फैलिन्छ। विशेषगरी बिहान र साँझ सक्रिय हुने यी लामखुट्टेले खेतीपाती, पशुपालन र पानी जम्ने स्थानहरू नजिकै बस्ने मानिसलाई बढी प्रभावित बनाउने गर्छन्।

संक्रमितहरू बर्दिया, कावासोती, रत्ननगर, ठोरी, हरिवन, लाहान, भद्रपुर, उल्लाबारी र गौरीगञ्जजस्ता तराईका क्षेत्रमा भेटिएका छन्। मृतकमध्ये मोरङका १७ वर्षीय किशोर, खानीपोखरीका ४९ वर्षीय पुरुष, र नवलपरासीका ७४ वर्षीय वृद्ध रहेका छन्। संक्रमितमध्ये २० जना महिला र १३ जना पुरुष छन्।

डा. अभियान गौतमका अनुसार यसपटक रोग बढी खोप नलगाएका समुदायहरूमा देखिएको छ। स्वास्थ्य निकायले केही महिना अघिनै अस्पतालहरूलाई उपचारसम्बन्धी निर्देशनहरू उपलब्ध गराइसकेको थियो। साथै, आइसियुमा पुगेका बिरामीहरूको नियमित अनुगमन भइरहेको छ।

यो रोगको निश्चित औषधि नभएको हुँदा उपचार लक्षणअनुसार गरिन्छ। उच्च ज्वरो, टाउको दुखाइ, मुर्छा, घाँटी कडापन, भ्रम र पक्षाघातजस्ता लक्षणहरू देखिन्छन्। रोग प्रतिरोध क्षमता बलियो भएकाहरूलाई लक्षण अनुसारको उपचारबाट निको हुन सक्ने भए पनि, कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरूका लागि यो घातक बन्न सक्छ।

सन् १९७८ मा नेपालमा पहिलोपटक देखिएको जापानी इन्सेफ्लाइटिसलाई सन् १९९९ मा केही जिल्लाहरूमा खोप कार्यक्रममार्फत नियन्त्रण गर्न थालिएको थियो। सन् २००९ सम्म २० जिल्लामा खोप कार्यक्रम विस्तार गरिएको थियो भने २०७३ सालदेखि यो रोगविरुद्धको खोप नियमित खोप कार्यक्रममा समावेश गरिएको छ। हाल १२ महिनाभन्दा माथिका बालबालिकालाई यो खोप दिइन्छ।

डब्लुएचओका अनुसार एसियामा वर्षेनी एक लाखभन्दा बढी व्यक्ति यो रोगबाट प्रभावित हुने गर्छन्, जसमा धेरैजसो १५ वर्षभन्दा कम उमेरका बालबालिका हुन्छन्। मृत्युदर करिब ३० प्रतिशतसम्म पुग्ने बताइन्छ।

मनसुनको समयमा लामखुट्टेले बढी वृद्धि गर्ने भएकाले साउनदेखि असोज महिनासम्म यो रोग फैलिने जोखिम उच्च हुन्छ। त्यसैले चिकित्सकहरू लामो बाहुलाको लुगा लगाउने, झुलको प्रयोग गर्ने, घर वरिपरि पानी जम्न नदिने, पशुपंक्षीको खोरलाई घरभन्दा टाढा राख्ने जस्ता सावधानी अपनाउन सुझाव दिन्छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट