नेपाल हेल्थ न्युज, काठमाडौं । हरेक महिनावारीमा चिच्याएर रून्थेँ । तर घरकाले सामान्य ठान्थे । मलाई एन्डोमेट्रियोसिस भएको रहेछ । तर ढिलोगरी मात्र थाहा भयो’–पोखराकी २३ वर्षीया रञ्जना भन्छिन् । महिनावारीको दुःखाइ सामान्य हो भन्ने परम्परागत बुझाइले कतिपय गम्भीर रोग ढिलै पत्ता लाग्छन् । त्यस्तै मध्येको एक स्वास्थ्य समस्या हो ‘एन्डोमेट्रियोसिस’ ।
नेपालमा हजारौँ महिला यो रोगसँग जुधिरहेका छन् । तर उनीहरूले आफैँलाई दोषी ठानिरहेका छन् । वास्तवमा एन्डोमेट्रियोसिस एक दीर्घकालीन हर्मोनसम्बन्धि समस्या हो ।
यसमा गर्भाशयको भित्री तह (एन्ड्रोमेट्रियम)को टिस्यु प्रायः अण्डाशय, फलोपियन ट्युब, पाठेघरको बाहिरी भाग र पेटको भित्तामाबढ्न जान्छ । यस्ता टिस्यु महिनावारीसँगै सुन्निने, रक्तश्राव गर्ने र दुखाउन थाल्छन् । तरशरीरबाहिर निस्कन सक्दैनन् । फलस्वरूप सिस्टर दुःखाइको कारण बन्ने गर्छन् ।
केही महिलामा लक्षण तीब्र देखिन्छन् भने केहीमा बिल्कुलै नदेखिन सक्छ। तर महिनावारीका बेला अत्यधिक दुःखाइ, महिनावारीभन्दा अघि वा पछि पनि पेट दुःख्ने,यौनसम्बन्धका बेला दुःखाई, पेट फुल्ने, वान्ता लाग्ने, कब्जियत, कम्मर र पाखुरातिर तानिने दुःखाइ, थकाइ, तनाव र डिप्रेसन, गर्भाधारणमा कठिनाइ धेरैलाई देखिने लक्षण हुन् । कतिपय महिलामा गर्भ नबस्ने पहिलो लक्षणका रूपमा देखिन्छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले एन्डोमेट्रियोसिसलाई प्रजनन स्वास्थ्यसँग सम्बन्धित प्रमुख दीर्घकालीन रोग मानेको छ । विश्वभर करिब १९ करोड महिलाहरू (१० प्रतिशत प्रजनन् उमेर समूह) यो रोगबाट प्रभावित छन् । ब्रिटिस मेडिकल जर्नलमा सन् २०२० मा प्रकाशित इन्डोमेट्रियोसिस स्टिल अ मिस्ड डायग्नोसिसमा महिनावारीको पीडालाई सामान्य मान्ने प्रवृत्ति र महिलाले आफ्नो पीडालाई सामान्य ठान्ने संस्कार आदिका कारण महिलाहरूमा एन्डोमेट्रियोसिसको औसत रूपमा ७–१० वर्ष ढिलो निदान हुने उल्लेख छ ।
द ल्यान्सेटमा प्रकाशित एक अनुसन्धानले एन्डोमेट्रियोसिसले शारीरिक पीडा, यौन जीवनमा समस्या, मानसिक स्वास्थ्यमा असर (डिप्रेसन, एन्जाइटी) लगायत थुप्रै पक्षमा नकारात्मक प्रभाव पार्ने उल्लेख गरेको छ । यो समस्या कामकाजी महिलाको उत्पादकता र सम्बन्धहरूमा तनावको पनि मुख्य कारण बन्न सक्छ ।
हावर्ड मेडिकल स्कुलका अनुसार एन्डोमेट्रियोसिस भएका करिब ३०–५० प्रतिशत महिलामा गर्भधारणमा कठिनाइ हुन्छ । फलोपियन ट्युबको अवरोध, अण्डाशयमा सिस्ट र सूजनयुक्त टिस्युका कारण भ्रूण बस्न कठिन हुन्छ ।
नेशनल इन्स्टिच्युटस् अफ हेल्थ, युएसए, प्याथोजेनेसिस एण्ड ट्रिटमेन्ट अफ इन्डोमेट्रियोसिसले अमेरिका, बेलायत र अष्ट्रेलियामा गरेको संयुक्त अनुसन्धान अनुसार, एन्डोमेट्रियोसिसको प्रभावकारी उपचारका लागि गाइनोकोलोजी, मानसिक स्वास्थ्य, पोषण, फिजियोथेरापी र समर्पित सपोर्ट ग्रुपहरू आवश्यक हुन्छन् ।
जिन थेरापी, स्टिम सेल उपचार, इम्युन मोडुलेसन एप्रोचेजहरुको अध्ययन प्रारम्भिक चरणमा भए पनि केही आशाजनक देखिएको छ। एआईमा आधारित डाइगनोसिस सिस्टम र मेन्सुरल ब्लड टेष्ट जस्ता कम इनभेसिभ निदान विधिहरू विकास हुँदैछन् । एन्डोमेट्रियोसिसलाई अब महिनावारीको पीडा मात्र हैन, समाजले बुझ्नुपर्ने गम्भीर स्वास्थ्य समस्याको रूपमा हेर्नुपर्ने समय आएको छ ।

निदानमा सुधार, सार्वभौमिक पहुँच र सामाजिक संवेदनशीलता आवश्यक छ—जसले यो ‘मौन रोग’लाई खुला संवादको विषय बनाउँछ । चिकित्सकसँगको सही उपचार र सल्लाहले एन्डोमेट्रियोसिस भएकी महिला पनि गर्भवती बन्न सक्छिन् ।
‘बाँच्नुको अर्थ फेरि पत्ता लाग्यो’
सुनिता अधिकारी एक विद्यालयकी शिक्षिका हुन् । महिनावारीका बेला उनलाई अत्यधिक पेट दुख्थ्यो ।बेहोससम्म हुने समस्या थियो । यस्तो समस्या दोहोरी रहँदा अधिकारीलाई डिप्रेसन समेत भयो । अन्ततः ल्याप्रोस्कोपी गरेर एन्डोमेट्रियोसिस हटाइयो । एक वर्षपछि उनी गर्भवती भइन् ।
सात महिनाकी गर्भवती अधिकारी भन्छिन्—‘एन्डोमेट्रियोसिसले मलाई त तोड्यो। तर सही उपचारले फेरि जोड्यो ।
’महिनावारी दुःखाइ सामान्य मान्ने परम्परागत संस्कारले थुप्रै महिला चुपचाप सहन्छन् । त्यसैले महिनावारीको दुःखाइलाई सामान्य भनेर नछाडौँ । कसैलाई बारम्बार गर्भपतन भएमा कारण खोज्न मद्दत गरौँ ।
एन्डोमेट्रियोसिस कुनै ‘लाजको रोग’ होइन । यो एक ‘दृश्यरहित पीडा’ हो जुन बुझ्नैपर्छ । त्यसैले मौनता होइन, साथ दिऔं । साथै महिनावारीमा असह्य दुःखाइ भएमा तुरून्त डाक्टरसँग सल्लाह लिनुहोस् । यौनसम्बन्धमा असामान्य पीडा भएमा लाज नमानी कुरा राख्नुहोस् । नियमित गाइनृे चेकअपलाई जीवनशैलीको हिस्सा बनाउनुहोस् ।
खानपानमा सुधार, व्यायाम, तनाव व्यवस्थापनमा ध्यान दिनुहोस् । एन्डोमेट्रियोसिसले शारीरिक मात्र होइन मानसिक पीडा पनि दिन्छ । तर आज विज्ञान, उपचार र सामाजिक चेतनाले महिलाको जीवन फेरिएको छ । यदि समयमै पहिचान भएमा एन्डोमेट्रियोसिससँग लड्न सकिन्छ । आमा बन्न सकिन्छ । सुखी जीवन बाँच्न सकिन्छ ।
नर्स र स्वास्थ्यकर्मीको न्याय, पारदर्शिता र मानवीयताको निर्णायक आन्दोलन
शनिबार, कात्तिक ८, २०८२
नर्स आन्दोलनः आत्मसम्मान र समानताको पुनर्जागरण
शुक्रबार, कात्तिक ७, २०८२
रुघाबाट बच्ने उपाय र घरेलु उपचारहरू
बुधबार, असोज २९, २०८२
महिलाहरूलाई पुरुषहरूको तुलनामा चिसो किन बढी महसुस हुन्छ ?
सोमबार, असोज २७, २०८२
