नेभिगेशन

उपचारका क्रममा बिरामीको मृत्यु, नारायणी अस्पताल तनावग्रस्त

नेपाल हेल्थ न्युज, वीरगञ्ज । नारायणी अस्पतालमा उपचारको क्रममा मंगलबार एक कैदीको मृत्यु भएपछि अस्पताल परिसरमा तनावपूर्ण स्थिति उत्पन्न भएको छ। मृतक राहुल तुहारा नामक कैदीको असामयिक निधनप्रति उनका आफन्त र स्थानीयबासीले आक्रोश व्यक्त गरेका छन्।

तुहारा बिहान कारागारभित्रै व्यायाम गरिरहँदा अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई तत्काल अस्पताल पुर्‍याइएको थियो। तर, अस्पतालमा आवश्यक उपचारमा ढिलाइ भएको आफन्तहरूको आरोप छ।

उनीहरूका अनुसार, चिकित्सकको लापरवाही र समयमै उपचार नपाएकै कारण तुहाराको मृत्यु भएको हो।

अस्पताल स्रोतका अनुसार प्रारम्भिक उपचारपछि थप विशिष्ट उपचार आवश्यक परे पनि अस्पतालमा आवश्यक पूर्वाधार नहुँदा उनलाई अर्को स्वास्थ्य संस्थामा रेफर गर्न सिफारिस गरिएको थियो। तर, जेल प्रशासनबाट समयमै अनुमति नआएकाले तुहारालाई सार्न ढिलाइ भएको जनाइएको छ।

उता, आक्रोशित आफन्त तथा स्थानीयले अस्पतालको गेटबाहिर प्रदर्शन गर्दै निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको माग गरेका छन्। उनीहरूको भनाइमा, यदि समयमै उचित उपचारको व्यवस्था मिलाइएको भए तुहाराको ज्यान बच्न सक्थ्यो।

अस्पताल प्रशासनले भने उपलब्ध स्रोत साधन प्रयोग गरी उपचार गरिएको स्पष्ट पार्दै थप उपचारका लागि तुरुन्तै रेफर गरिएको दाबी गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट