नेभिगेशन

तनहुँमा आयुर्वेद सेवाप्रति जनआकर्षण बढ्दो, एक वर्षमा ५९ हजार बढीले लिए सेवा

नेपाल हेल्थ न्युज, तनहुँ । तनहुँ जिल्लामा आयुर्वेदिक स्वास्थ्य सेवाप्रति सर्वसाधारणको विश्वास र आकर्षण तीव्र रूपमा बढिरहेको देखिएको छ। गण्डकी प्रदेश अन्तर्गत सञ्चालनमा रहेको प्रदेश आयुर्वेद चिकित्सालयमा आर्थिक वर्ष २०८०/८१ को अवधिमा कुल ५९,०७१ जनाले सेवा लिएका छन्।

वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाइँका अनुसार, सो अवधिमा  २१ हजार १८३ महिला र ३७ हजार ८८८ पुरुषले आयुर्वेद सेवा उपयोग गरेका छन्। गत आव २०८०/८१ मा २० हजार र आव २०७९/८० मा १९ हजार २१७ जनालाई सेवा प्रदान गरिएको थियो। यो तथ्यांकले जनाउँदैछ कि आयुर्वेदप्रति जनविश्वास क्रमशः गहिरिँदै गएको छ।

चिकित्सालयले बिहान ६ बजेदेखि ११ बजेसम्म विभिन्न परम्परागत उपचार विधिहरू जस्तै स्नेहन, श्वेदन, बस्ती कर्म, नस्य, जलनेती र शिरोधारा—प्रदान गर्दै आएको छ। पछिल्ला वर्षहरूमा विशेषगरी ढाड दुख्ने समस्या र नशा च्यापिने अवस्थाका बिरामीहरूको चाप बढिरहेको चिकित्सालयले जनाएको छ।

गण्डकी प्रदेशको आर्थिक सहयोगमा थेरापी उपकरणहरू खरिद गरी प्रयोगमा ल्याइएपछि हाडजोर्नीसम्बन्धी समस्यामा समेत प्रभावकारी उपचार दिइएको चापागाइँले जानकारी दिनुभयो।

हाल चिकित्सालयमा पञ्चकर्म, क्षारसुत्र र फिजियोथेरापी सेवा उपलब्ध छन्। पाइल्स, फिस्टुला र फिसरजस्ता रोगका लागि क्षारसुत्र विधि प्रभावकारी ठहरिएको छ। साथै, रोग र बिरामीको अवस्थाअनुसार दैनिक योग सत्र पनि सञ्चालनमा ल्याइएको छ।

गत वर्षको सेवाको विवरण हेर्दा, ओपीडी तर्फ १५ हजार ९३२, ज्येष्ठ नागरिक सेवातर्फ चार हजार २२८, योगसेवातर्फ १४ हजार ११९, पूर्वकर्म, पञ्चकर्म सेवातर्फ १६ हजार ३७६, स्तनपायी आमा तथा शिशु सेवातर्फ १८८, क्षारसुत्र सेवातर्फ ३३, प्रयोगशाला सेवातर्फ दुई हजार ३४०, फिजियो थेरापीतर्फ पाँच हजार ६२१ र बाँकीले शिरोधारातर्फको सेवा लिएका उहाँले जानकारी दिनुभयो।

पत्नञ्जली योग समितिको सहकार्यमा स्वस्थ जीवन कार्यक्रम सञ्चालन गरिँदै आएको छ भने जिल्लाका विभिन्न स्थानीय तह तथा सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै आयुर्वेदको प्रवर्द्धनमा चिकित्सालय अग्रसर छ।

वर्तमानमा चिकित्सालयमा एक जना आयुर्वेद चिकित्सक, एक कविराज, दुई वैद्य, एक सहलेखापाल र दुई कार्यालय सहयोगी कार्यरत छन्।

सेवा शुल्कको कुरा गर्दा, नाम दर्ताका लागि रु १० मात्र लाग्नेछ भने सामान्य परीक्षण, औषधि वितरण तथा प्राथमिक उपचार निःशुल्क छ। पञ्चकर्म तथा पूर्वकर्म सेवाका लागि रु १५० शुल्क तोकिएको छ। ज्येष्ठ नागरिकका लागि रसायन औषधि र स्तनपायी आमाका लागि दुग्धवर्द्धक औषधि निःशुल्क उपलब्ध गराइन्छ। क्षारसुत्र सेवामा शल्य चिकित्सा खर्च रु ५,००० तोकिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट