नेपाल हेल्थ न्युज, दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारु र प्रदेश सचिव दुर्गालक्ष्मी श्रेष्ठबीच आर्थिक वर्ष २०८२/८३ का लागि कार्यसम्पादन सम्झौता सम्पन्न भएको छ। यस सम्झौताको उद्देश्य स्वास्थ्य मन्त्रालयअन्तर्गतका योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु हो।
मन्त्री सारुका अनुसार सचिव श्रेष्ठले नेतृत्व गर्ने कार्यक्रमहरूलाई अझ प्रभावकारी, पारदर्शी र सेवा केन्द्रित बनाउँदै सेवा प्रवाहमा उल्लेखनीय सुधार ल्याउने लक्ष्य राखिएको छ। सम्झौताअनुसार योजनाहरूको मूल्याङ्कन चौमासिक रूपमा हुने छ, र आर्थिक वर्षको अन्त्यपछि सात दिनभित्र स्वमूल्याङ्कन प्रतिवेदन बुझाउनु पर्ने व्यवस्था छ।
सम्झौतामा विभिन्न सूचकहरू समावेश गरिएको छ, जस्तैः बाल र मातृ मृत्युदर घटाउने, बालबालिकालाई पूर्ण खोपको पहुँच दिलाउने, कुपोषण न्यूनीकरण गर्ने, बजेटको खर्च पारदर्शी बनाउने, बेरुजु फर्छ्यौट, जनगुनासो समाधान र स्वास्थ्य बीमामा आवद्ध जनसंख्याको वृद्धि सुनिश्चित गर्ने आदि।
यससँगै, प्रदेशका विभिन्न भौतिक स्वास्थ्य पूर्वाधार निर्माण तथा मर्मत, ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा पुर्याउने, संक्रामक रोगहरूको रोकथाम तथा नियन्त्रण, रक्तसञ्चार सेवाको सुदृढीकरण, विपन्न नागरिकका लागि सहुलियतपूर्ण उपचारको व्यवस्था, तथा नीतिगत तथा कार्यविधि विकास जस्ता विषय पनि सम्झौताको दायरामा समेटिएका छन्।
सम्झौतामा कामहरूलाई पहिलो, दोस्रो, तेस्रो चौमासिक र वार्षिक कार्यमा वर्गीकृत गरिएको छ। सचिव श्रेष्ठले यस्ता सम्झौताले कार्यसम्पादनमा स्पष्ट दिशा र समयसीमा दिने भएकाले अझ जिम्मेवार र प्रेरित भएर काम गर्न सहयोग पुग्ने बताइन्। साथै, स्वास्थ्य निर्देशनालयमार्फत मातहतका संस्थाहरूसँग पनि यस्ता सम्झौता गरेर कार्यान्वयन सुनिश्चित गरिने उनले जानकारी दिइन्।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
