नेभिगेशन

‘निःसन्तान व्यवस्थापन सेवा सञ्चालन मापदण्ड, २०८२’ स्वीकृत

नेपाल हेल्थ न्यूज काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा निःसन्तान उपचार (आईभीएफ) सेवाको व्यवस्थित सञ्चालन र नियमनका लागि पहिलोपटक “निःसन्तान व्यवस्थापन सेवा सञ्चालन सम्बन्धी मापदण्ड, २०८२” स्वीकृत गरेको छ ।

मन्त्रीस्तरीय निर्णयमार्फत स्वीकृत यो मापदण्डले निःसन्तान उपचारको गुणस्तर, पारदर्शिता र सुरक्षा सुनिश्चित गर्ने उद्देश्य राखेको छ ।


स्वास्थ्य मन्त्री प्रदीप पौडेलको अगुवाइमा मन्त्रालयले सम्बन्धित विज्ञहरूसँगको गहन छलफलपछि मापदण्ड तयार पारेको हो ।  मन्त्रालयका अनुसार, यो मापदण्ड स्वीकृत भएसँगै नेपालमा आईभीएफ सेवा र यससँग सम्बन्धित प्रयोगशाला, जनशक्ति व्यवस्थापन तथा संवेदनशील मानिने शुक्रकीट र अण्डा दान प्रक्रिया थप व्यवस्थित हुनेछ ।


मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्मा भन्नुहुुन्छ—“निःसन्तानपन केवल स्वास्थ्य समस्या मात्र नभई सामाजिक र मनोवैज्ञानिक विषय पनि हो । यस मापदण्डले सेवाग्राही र डोनर दुवैको अधिकार सुनिश्चित गर्दै सेवा प्रदायकलाई पूर्ण जिम्मेवार बनाउने छ । मापदण्ड पालना नगर्ने जोसुकैलाई कडा कानुनी दायरामा ल्याइनेछ ।”


मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी भन्नुहुन्छ—“पछिल्लो समय निःसन्तानको समस्या बढ्दो छ । तर उपचार दिने संस्थाहरूको गुणस्तर र प्रक्रियामा प्रश्न उठेका थिए । धेरै दम्पती ठगिन सक्ने जोखिममा थिए । यो मापदण्डले सेवालाई सुरक्षित, विश्वसनीय र व्यवस्थित बनाउनेछ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप रिपोर्ट विशेष