नेपाल हेल्थ न्युज, काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) को मद्दतले दुई नयाँ एन्टिबायोटिक औषधि विकास गरिएको छ, जसले गोनोरिया र एमआरएसए जस्ता प्रतिरोधी ब्याक्टेरियालाई प्रभावकारी रूपमा नष्ट गर्न सक्छन्।
एमआईटीका अनुसन्धानकर्ताहरूले ती औषधि एआई प्रविधिबाट तयार पारेका हुन्। प्रयोगशालामा र जनावरहरूमा गरिएको परीक्षणमा यी औषधिले सुपरबगलाई मार्न सफल भएको दाबी गरिएको छ।
तर, यी औषधिहरू तुरुन्तै बजारमा उपलब्ध हुने छैनन्। अझै केही वर्षसम्म थप सुधार र परीक्षण गर्नुपर्नेछ र चिकित्सकको सल्लाह अनुसार मात्रै प्रयोगमा ल्याउन सकिनेछ। एमआईटीको टोलीले भनेको छ कि एआईले एन्टिबायोटिक अनुसन्धानमा नयाँ युगको सुरुवात गर्न सक्छ।
एन्टिबायोटिकले ब्याक्टेरिया नष्ट गर्ने काम गर्छ तर धेरैजसो ब्याक्टेरियाले औषधिबाट बच्न नयाँ क्षमता विकास गरिरहेका छन् जसले गर्दा विश्वभर लाखौं मानिसहरूको मृत्यु भइरहेको छ। विशेषज्ञहरूले एन्टिबायोटिकको अत्यधिक प्रयोगलाई यस समस्या को मुख्य कारण भनेका छन्।
पहिले पनि अनुसन्धानकर्ताहरूले नयाँ एन्टिबायोटिक फेला पार्नका लागि हजारौं रसायन परीक्षण गर्न एआई प्रयोग गरेका थिए। तर एमआईटीका वैज्ञानिकहरूले जेनेरेटिभ एआईको सहायताले पूर्ण नयाँ औषधि डिजाइन गर्न सफल भएका छन्।
यी औषधि विशेष गरी यौन संक्रमित रोग गोनोरिया र मेथिसिलिन-रेजिस्टेन्ट स्टाफाइलोककस ओरियस (एमआरएसए) विरुद्ध लक्षित छन्। अनुसन्धानमा ३ करोड ६० लाखभन्दा बढी रासायनिक कम्पाउन्डहरू अध्ययन गरिएको छ र नतिजा सेल पत्रिकामा प्रकाशित गरिएको छ।
शोधकर्ताहरूले विद्यमान कम्पाउन्डहरूका रासायनिक संरचना र ती ब्याक्टेरियामा पर्ने प्रभावको डेटा एआईलाई दिएका थिए। त्यसपछि एआईले ब्याक्टेरियाको वृद्धिलाई कसरी रोक्ने भन्ने नयाँ अणुहरू बनायो।
पहिलो चरणमा, आठदेखि १९ परमाणुका लाखौं रासायनिक टुक्राबाट सुरुवाती संरचना छनोट गरियो भने दोस्रो चरणमा एआईलाई स्वतन्त्रता दिइयो। मानव स्वास्थ्यका लागि हानिकारक तत्वहरू हटाइएको थियो। तयार भएका एन्टिबायोटिकको नमूनालाई प्रयोगशालामा र संक्रमित मुसामा परीक्षण गर्दा प्रभावकारिता देखियो।
एमआईटीका प्राध्यापक जेम्स कोलिन्सले भने, “जेनेरेटिभ एआईबाट नयाँ एन्टिबायोटिक बनाउन सकिने देखेर हामी उत्साहित छौं। यो विधिले सुपरबगसँगको लडाइँमा नयाँ आयाम थप्न सक्छ।”
तर यी औषधिहरूको सामान्य प्रयोग अझै केही वर्ष कुर्नुपर्नेछ। पहिलो चरणमा यी औषधिलाई दुई वर्षसम्म परिष्कृत गर्नुपर्ने र त्यसपछि मात्र मानवमा परीक्षण गर्न सकिनेछ।
फ्लेमिङ इनिसिएटिभ र इम्पेरियल कलेज लन्डनका डा. एर्न्ड्यू एडवर्ड्सले यस उपलब्धिलाई ‘विशेष’ र ‘अत्यन्त आशाजनक’ भने, तर अझै कडा परीक्षण र मेहनत आवश्यक रहेको बताए।
औषधि निर्माण प्रक्रिया लामो र महँगो हुने भएकाले उत्पादनमा चुनौतिहरू हुनेछन्। एमआईटीका शोधकर्ताहरूले गोनोरियाका लागि तयार ८० उपचार संरचनामध्ये दुई मात्रै औषधिमा परिणत गर्न सकेका छन्।
युनिभर्सिटी अफ वारविकका प्राध्यापक क्रिस डसनले भने, “यो एउटा ठूलो कदम हो, तर नयाँ एन्टिबायोटिकको व्यावसायिक उत्पादनमा चुनौतीहरू छन्। सीमित प्रयोगले बिक्रीमा असर पर्न सक्छ।”
विशेषज्ञहरूले नयाँ एन्टिबायोटिक तयार भएपछि पनि यसको सीमित मात्रामा प्रयोग आवश्यक हुने बताएका छन् ताकि ब्याक्टेरियाले फेरि प्रतिरोधी नबन्न सकोस्। यसैले व्यावसायिक दृष्टिले यसको उत्पादन सफल हुन कठिन हुने अनुमान गरिएको छ।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
