नेभिगेशन

डब्लुएचओको घोषण: नेपाल रुबेला रोग निवारणमा सफल

नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालले जनस्वास्थ्यको गम्भीर समस्या मानिने रुबेला रोग निवारण गर्न सफल भएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले नेपाललाई रुबेला निवारण गर्न सफल राष्ट्रको रूपमा मान्यता दिएको हो ।

यससँगै नेपाल, डब्लुएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा रुबेला निवारण गर्ने छैटौँ मुलुक बनेको छ ।

डब्लुएचओले नेपालले खोप सेवामा गरेको निरन्तर प्रयास, स्वास्थ्यकर्मीको लगनशीलता, सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान र आम नागरिकको चासोलाई उपलब्धिको आधार ठहर गरेको छ ।

स्वास्थ्य सेवा विभाग, खोप शाखा प्रमुख डा.अभियान गौतमका अनुसार रुबेला निवारणका सम्पूर्ण चरण नेपालले सफलतापूर्वक पूरा गरेको हो । उनले डब्लुएचओले पर्सा र पर्वत जिल्लामा अनुगमन गरी खोप कवरेज, प्रयोगशालागत परीक्षण, रोग निगरानी र अन्य आधारलाई मूल्याङ्कन गरेर मात्रै निवारणको घोषणा गरेको जानकारी दिए ।

रुबेला दादुरा जस्तै देखिने अति सङ्क्रामक रोग हो, जसले गर्भवती महिलामा गर्भपतन, मृत शिशु जन्मिनेजस्ता गम्भीर समस्या निम्त्याउन सक्छ ।

डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयकी कार्यवाहक प्रमुख डा. क्याथरिना बोहमले यो उपलब्धि नेपालको नेतृत्व तहको प्रतिबद्धता, स्वास्थ्यकर्मीको समर्पण र समुदायको सक्रियताबाट सम्भव भएको बताइन् ।

क्षेत्रीय प्रमाणीकरण आयोगले गत साउन ६ देखि ८ गतेसम्मको वार्षिक बैठकमा नेपालको तथ्याङ्क समीक्षा गरी निवारणको सिफारिस गरेको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालले क्षेत्रीय लक्ष्यभन्दा अघि नै रुबेला निवारण गरेर राष्ट्रिय खोप कार्यक्रमको सफलता प्रमाणित गरेको उल्लेख गर्दै गाभीर डब्लुएचओलगायत साझेदार संस्थाप्रति आभार व्यक्त गरे ।

नेपालले सन् २०१२ देखि नौ महिना देखिका बालबालिकालाई लक्षित गरी रुबेला खोप सुरु गरेको थियो । सन् २०१६ मा दोस्रो मात्रा राष्ट्रिय खोप तालिकामा थप गरिएको हो । २०१२, २०१६, २०२० र २०२४ का खोप अभियानले ९५ प्रतिशतभन्दा बढी बालबालिकामा खोप पु¥याउन सफल भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

डब्लुएचओ नेपालस्थित कार्यालयका प्रमुख डा. राजेश सम्भाजिराव पाण्डवले यो उपलब्धि सरकार, स्वास्थ्यकर्मी, साझेदार संस्था र समुदायबिचको प्रभावकारी सहकार्यको नतिजा भएको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप रिपोर्ट विशेष