नेभिगेशन

मन्त्री पौडेलबाट ‘स्वर्ण बिन्दु प्राशन’ कार्यक्रमको उद्घाटन

नेपाल हेल्थ न्युज, काठमाडौं । बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउने उद्देश्यले राष्ट्रिय स्तरमा सुरु गरिएको ‘स्वर्ण बिन्दु प्राशन’ अभियानको औपचारिक शुरुवात गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सुदूरपश्चिम प्रदेशको धनगढीबाट उक्त अभियानको शुभारम्भ गर्नुभएको हो। धनगढीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा भएको कार्यक्रममा मन्त्री पौडेलले बालबालिकालाई स्वर्ण बिन्दु प्राशन खुवाएर कार्यक्रम सुरु गर्नुभएको थियो।

मन्त्रीले प्राचीन आयुर्वेदिक चिकित्सा पद्धतिलाई आधुनिक विज्ञानसँग जोडेर देशभर स्वस्थ र मेधावी पुस्ता निर्माण गर्न यो अभियानले योगदान पुर्‍याउने बताउनुभयो। उहाँले भन्नुभयो, “हाम्रो हजारौं वर्ष पुरानो आयुर्वेद विज्ञानमा आधारित स्वर्ण बिन्दु प्राशनलाई आधुनिक विज्ञान र जनस्वास्थ्य प्रणालीसँग जोड्दा बालबालिकाको शारीरिक र बौद्धिक विकासमा मद्दत पुग्छ। रोग लाग्नुभन्दा पहिले रोकथाम गर्नु सरकारको प्राथमिकता हो। आगामी पुस्तालाई निरोगी बनाउन यो कार्यक्रम प्रभावकारी रूपमा संचालन गरिनेछ।”

स्वर्ण बिन्दु प्राशन के हो ?

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. श्यामबाबु यादवका अनुसार, स्वर्ण बिन्दु प्राशन ‘काश्यप संहिता’ नामक पाँच हजार वर्ष पुरानो आयुर्वेदिक ग्रन्थमा वर्णन गरिएको विधि हो। यो परम्परागत तर विज्ञानसम्मत मिश्रण हो जसमा प्रशोधित स्वर्ण भष्मले शरीरको रोग प्रतिरोधात्मक क्षमता सन्तुलनमा राख्न सहयोग गर्छ।

यसैगरी, ब्राह्मी घृतले मस्तिष्कका स्नायु कोषहरूको रक्षा गरी स्मरण शक्ति वृद्धि गर्न भूमिका खेल्छ भने शुद्ध मह प्राकृतिक जीवाणुरोधी तत्व भएकोले संक्रमणबाट बचाउँछ। यी सबै तत्वहरूको सही संयोजनले बालबालिकाको समग्र विकासमा सहयोग गर्छ।

स्वर्ण भष्मलाई घ्यू र महसँग मिसाएर बनेको मिश्रणलाई थोपाको रूपमा बालबालिकालाई दिइने चलनलाई स्वर्ण बिन्दु प्राशन भनिन्छ। यसले शारीरिक, मानसिक विकास र रोग प्रतिरोधात्मक क्षमता बढाउने मान्यता छ।

यस कार्यक्रमलाई सुरक्षित, गुणस्तरीय र सरसफाइयुक्त बनाइ सञ्चालन गर्नका लागि मन्त्रालयले देशभरका आयुर्वेद स्वास्थ्यकर्मीलाई तालिम दिने योजना बनाएको छ।

वैज्ञानिक आधार

आधुनिक अनुसन्धानले पनि स्वर्ण भष्मको रोग प्रतिरोधात्मक गुण (इम्युनोमोडुलेटर), ब्राह्मीको न्युरो–प्रोटेक्टिभ प्रभाव, र महको एन्टी–माइक्रोबियल क्षमता पुष्टि गरेका छन्। आयुर्वेद शाखाका प्रमुख डा. पुष्पराज पौडेलका अनुसार, यो परम्परागत विधि एक परिष्कृत नानो–मेडिसिन हो जसले न्युरो–इम्युनोमोडुलेटरको रूपमा काम गर्छ। स्वर्ण भष्म विशेष प्रशोधनबाट तयार गरिने नानो कण हो जुन शरीरको रोग प्रतिरोधात्मक प्रणालीलाई सन्तुलित राख्छ।

कार्यक्रमको पहिलो चरणमा त्रिवि आयुर्वेद शिक्षण अस्पताल, कीर्तिपुर, आयुर्वेद चिकित्सालय, नरदेवी, प्रादेशिक आयुर्वेद चिकित्सालय, धनगढी, प्रादेशिक आयुर्वेद चिकित्सालय, लखनपुर झापा, गण्डकी आयुर्वेद अस्पताल, पोखरा, लुम्बिनी आयुर्वेद चिकित्सालय, बुटवल, प्रादेशिक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र, सुर्खेत, आयुर्वेद स्वास्थ्य केन्द्र, जुम्ला र धौलागिरि आयुर्वेद अस्पताल, बागलुङमा लागू गरिनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट