नेभिगेशन

वीरगञ्जमा हैजाको जोखिम बढेपछि दुई दिन विद्यालय बन्द

नेपाल हेल्थ न्युज, वीरगञ्ज । वीरगञ्जमा हैजाको संक्रमण तीव्र रुपमा फैलन थालेपछि सावधानीस्वरूप महानगरपालिकाभित्रका सम्पूर्ण विद्यालयहरू अस्थायी रूपमा बन्द गरिएका छन्। 

शैक्षिक प्रशासन महाशाखाले आइतबार र सोमबारका लागि सबै सामुदायिक तथा निजी विद्यालयहरू बन्द गर्न निर्देशन दिएको छ। पछिल्ला दिनहरूमा हैजाका संक्रमितको संख्या बढ्दै गएपछि जोखिम न्यूनीकरण गर्न यस्तो निर्णय लिइएको हो।

जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकारी जयमोद ठाकुरका अनुसार शनिबार रातिसम्म विभिन्न अस्पतालहरूमा उपचाररत ४२ जनामा हैजाको संक्रमण पुष्टि भइसकेको छ। हाल १२९ जना बिरामीहरू अस्पतालमा उपचाररत छन्।

संक्रमण मुख्यतः वीरगञ्ज महानगरपालिका–११, १२, १३ र १६ नं. वडामा देखिएको छ। मुर्ली टोलमा सुरुमा केही व्यक्तिमा झाडापखालाका लक्षण देखिएपछि परीक्षणका क्रममा हैजाको पुष्टि भएको थियो। शनिबारसम्म आइपुग्दा संक्रमितको संख्या विस्तारै बढ्दै चार वडासम्म फैलिएको हो।

ठाकुरका अनुसार पर्सा जिल्लामा पछिल्लो दशकयता हैजाको यस्तो प्रकोप पहिलो पटक देखिएको हो। दूषित पानी वा खानामार्फत सर्ने यो रोग भिब्रियो कोलरी नामक जीवाणुबाट हुने गर्छ। यसले संक्रमित व्यक्तिमा झाडापखाला, वान्ता, पानीको कमी, पेट दुखाइ, ज्वरो लगायतका लक्षणहरू देखिन्छन्। समयमै उपचार नपाएमा गम्भीर परिणाम पनि आउन सक्ने चिकित्सकहरूको चेतावनी छ।

यसबीच, झाडापखालाका लक्षण देखिएका दुई व्यक्तिको मृत्यु भएको पनि जनाइएको छ। एक जना पोखरिया नगरपालिका–९ की महिला र वीरगञ्ज–१२ का पुरुषको मृत्यु भएको हो। यद्यपि, उनीहरूको मृत्यु हैजाकै कारण भएको ठोस प्रमाण भने प्राप्त भइसकेको छैन।

संक्रमण फैलिएको आशंकामा ११ स्थानका पानीका नमुनाहरू थप परीक्षणका लागि टेकुस्थित स्वास्थ्य प्रयोगशालामा पठाइएको जनाइएको छ। स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा सक्रिय रूपमा परिचालनमा रहेको जनाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट