नेभिगेशन

विराटनगर न्यूरो कार्डियो हस्पिटलको २५औं वर्षगाँठः ‘क्षेत्रीय मेडिकल हब’तर्फको फड्को

नेपाल हेल्थ न्युज, विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले आफ्नो २५औं स्थापना दिवस भव्य समारोहसहित मनाएको छ। शनिबार वीरेन्द्र सभा गृहमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल प्रमुख अतिथि रहनुभएको थियो।

सन् २००० (वि.सं. २०५७) मा ‘न्यूरो डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टर’का रूपमा सुरुवात भएको यो संस्थाले अहिले २५ लाखभन्दा बढी बिरामीलाई सेवा दिँदै आएको छ।

संस्थापक तथा वरिष्ठ न्यूरोलोजिस्ट डा. वीरेन्द्रकुमार विष्टले आफ्नो सम्बोधनमा २५ वर्षको यात्रालाई ‘अविस्मरणीय’ भन्दै यस सफलताको श्रेय सम्पूर्ण कर्मचारीलाई दिनुभएको छ।

चेन अफ हस्पिटलतर्फको योजना

रजत जयन्तीको अवसरमा अस्पतालले नयाँ योजनासमेत सार्वजनिक गरेको छ। संस्थापक विष्टका अनुसार अब अस्पतालले कोशी र मधेश प्रदेशका अन्य तीन स्थानमा सेवा विस्तार गर्दै ‘चेन अफ हस्पिटल’का रूपमा विकास गर्ने तयारी गरेको छ। हाल १५० शयामा सञ्चालन भइरहेको अस्पताललाई छिट्टै २५० शयामा स्तरोन्नति गरिने घोषणा गरिएको छ।

२५ वर्षको यात्रा

वि.सं. २०५७ भदौ ८ गते तत्कालीन बेलायती राजदूतद्वारा उद्घाटन गरिएको यो अस्पताल नेपालकै पहिलो न्यूरोलोजी ओपीडी तथा आईपीडी सेवा दिने संस्था बनेको थियो।

  • २०६२: न्यूरो हस्पिटलमा रूपान्तरण, सिटी स्क्यान मेसिन जडान।
  • २०६७: निजी क्षेत्रबाट पूर्वाञ्चलमै पहिलो न्यूरो सर्जरी सेवा।
  • २०७०: न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलमा विस्तार।
  • २०७१: पूर्वकै पहिलो क्याथल्याब सेवा, मुटु उपचारमा माइलस्टोन।
  • २०८१: नेपालकै पहिलो जीई कम्पनीको १२८ स्लाइस एपार्ड सिटी स्क्यान जडान।

२५ वर्षमा अस्पतालले ७,५०० भन्दा बढी न्यूरो सर्जरी, ५,००० भन्दा बढी मुटु सम्बन्धी प्रोसिड्युर र ६,००० भन्दा बढी हाडजोर्नी शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको तथ्यांक सार्वजनिक गरिएको छ।

सम्मान र स्मारिका विमोचन

रजत जयन्ती समारोहमा अस्पतालको २५ वर्षे यात्रालाई समेटेको स्मारिका विमोचन गरिएको छ। साथै, संस्थाको विकासमा योगदान पु-याउने २५ कर्मचारी र ९ जना चिकित्सकलाई सम्मान गरिएको छ।

सम्मानितमध्ये डा. निकेशराज श्रेष्ठ, डा. रोशन आचार्य, डा. सुदीप खनिया, डा. पन्नालाल साह, डा. मन्जिल श्रेष्ठ, डा. सगरराज पाण्डे, डा. रञ्जन थापा लगायत छन्। त्यस्तै, भरत श्रेष्ठ, पूजा पन्त र सागर धमलालाई विशेष सम्मान गरिएको छ। प्रमुख अतिथि मन्त्री पौडेलले सम्मान हस्तान्तरण गर्नुभएको थियो।

कार्यक्रममा कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो। गायिका आनी छोइङ डोल्माले प्रस्तुति दिँदै माहोललाई उत्सवमय बनाउनुभये।

सेवाग्राहीलाई छुट

अस्पतालले वार्षिकोत्सव अवसरमा सेवा उपभोक्तालाई प्रत्यक्ष लाभ पुर्‍याउने उद्देश्यले भदौ ८ देखि १४ गतेसम्म २५ प्रकारका स्वास्थ्य परीक्षणमा २५ प्रतिशत छुट दिने घोषणा गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट