नेभिगेशन

वीरगन्जमा हैजा रोकथामका लागि निजी अस्पतालहरूले आवश्यकतानुसार निःशुल्क बेड र जनशक्ति उपलब्ध गराउने

नेपाल हेल्थ न्युज, वीरगन्ज । झाडापखालाबाट निम्त्याइने हैजा रोगको संक्रमण बढ्दै गएपछि वीरगन्जका निजी स्वास्थ्य संस्थाहरूले निःशुल्क बेड र जनशक्ति उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। वीरगन्ज महानगरपालिकामा सोमबार साँझ बसेको बैठकमा निजी अस्पताल संचालकहरूले यो कदम उठाउने प्रतिवद्धता व्यक्त गरेका हुन्।

यस बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन, युनिसेफ, प्रदेश स्वास्थ्य निर्देशनालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायका प्रमुखहरू, महानगर स्वास्थ्य शाखाका प्रतिनिधि र निजी अस्पताल संचालकहरू सहभागी थिए।

महानगर प्रमुख राजेशमान सिंहले हैजाको महामारी नियन्त्रणमा निजी स्वास्थ्य संस्थाहरूको सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै बिरामीलाई सहज र गुणस्तरीय उपचार प्रदान गर्न आग्रह गर्नुभयो।

बैठकमा तत्काल प्रभावकारी कदम चाल्न, शुद्ध पानी र औषधि आपूर्ति सुनिश्चित गर्न, स्वास्थ्यकर्मीहरूलाई तालिम दिई प्रभावित क्षेत्रमा परिचालन गर्न र सचेतना अभियान तीव्र पार्ने सहमति पनि भएको छ।

नारायणी अस्पतालका मेसु डा. चुमनलाल दासले विश्व स्वास्थ्य संगठनका निर्देशनहरू अनुसार उपचार पद्धति अपनाउँदा रोग नियन्त्रणमा सहजता आउने बताउनुभएको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले सरकारी र निजी अस्पतालले मिलेर महामारी नियन्त्रणको जिम्मेवारी सम्हाल्नुपर्ने जोड दिँदै अनावश्यक रूपमा आईसीयूमा बिरामी राखेर आर्थिक फाइदा लिन खोज्ने गलत अभ्यास रोक्न चेतावनी दिनुभयो। उहाँले औषधिको गुणस्तर र उपलब्धतामा विशेष ध्यान दिन स्थानीय तहहरूलाई पनि अग्रिम तयारी गर्न निर्देशन दिनुभयो।

स्वास्थ्य विज्ञहरूले हाल हैजाका बिरामीहरूको संख्या घट्दो भए पनि सबै पक्षको सहकार्यबाट मात्र महामारीलाई नियन्त्रण गर्न सकिने बताउनुभएको छ।

यो कदमले हैजाको जोखिमलाई कम गर्न र प्रभावित व्यक्तिहरूलाई आवश्यक सहयोग प्रदान गर्न ठूलो मद्दत पुग्ने विश्वास गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट