नेभिगेशन

महिनावारी बार्न भन्दै त्रिपालमुनि सुतेकी महिला र बालिकाको ढुंगाले लागेर मृत्यु

add final

नेपाल हेल्थ न्युज, अछाम । अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–८, बरालामा सेरापानीस्थित चुरेखोली टोलमा (महिनावारी) बार्न बारीमा त्रिपाल टाँगिरहेको अवस्थामा एक महिला र एक बालिकाको ढुंगाले लागेर ज्यान गएको छ।

प्रहरीका अनुसार, २८ वर्षीया निम खनाल र ७ वर्षीया कविता भण्डारीको ढुंगा लागेर मृत्यु भएको हो। मृतक बालिकाकी आमा ३६ वर्षीया रत्नकला भण्डारी गम्भीर घाइते भएकी छन् र उनलाई थप उपचारका लागि सुर्खेत लगिएको छ।

प्रहरी निरीक्षक ओमप्रकाश खनालले जनाए अनुसार, ती महिला र बालिकाहरू महिनावारीका कारण घरबाट बाहिर, खेतको डिलमा त्रिपाल टाँगेर बसेका थिए।

गाउँमा छाउगोठ नभए पनि सामाजिक परम्पराका कारण उनीहरू खुला स्थानमा बस्न बाध्य भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

घटना रातिको समयमा भएको हो, जब माथिबाट अचानक ढुंगा खसेर त्रिपालमुनि सुतेका तीन जनालाई लाग्यो। घटनाको खबर पाउँदै प्रहरी टोली घटनास्थलमा पुगेको छ र अनुसन्धान जारी रहेको बताइएको छ।

धेरै स्थानमा छाउगोठ हटाइए पनि वैकल्पिक सुरक्षित स्थानको अभावमा महिलाहरू अझै त्रिपाल, ओडार वा अन्य असुरक्षित स्थानमा बस्न बाध्य छन्। २०६३ यता अछाममा मात्र यस्ता घटनाबाट १९ जनाले ज्यान गुमाइसकेका छन्।

प्रहरीले यदि सामाजिक दबाबका कारण उनीहरूलाई बाहिर बस्न बाध्य बनाइएको पाइएमा कानुनी कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट