नेभिगेशन

हैजा रोकथाम गर्न तीनै सुरक्षा निकायका स्वास्थ्यकर्मी परिचालन गरिने : प्रधानमन्त्री ओली

नेपाल हेल्थ न्युज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वीरगञ्जमा फैलिएको हैजा नियन्त्रण गर्नका लागि तीनै तहका सुरक्षाकर्मीको सहयोगमा सरकारले सघन प्रयास थालेको जानकारी दिनुभएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार, स्वास्थ्य मन्त्रालयको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र आवश्यक उपकरणहरू परिचालन गरिने प्रधानमन्त्री ओलीले संसदमा बताउनुभएको छ।

उहाँका अनुसार हैजा नियन्त्रणका लागि आवश्यक बजेट पनि सरकारले छुट्याउनेछ। रोग नियन्त्रणका लागि छिटोभन्दा छिटो कदम चाल्ने प्रयास भइरहेको छ, उहाँले भन्नुभयो, मन्त्रिपरिषद्ले आजै निर्णय गरेको छ कि सुरक्षाकर्मीहरूसहितका स्वास्थ्यकर्मी र उपकरणहरू प्रयोग गरिनेछ।

प्रधानमन्त्री ओलीले रोगको स्रोत पहिचान गर्न अनुसन्धान भइरहेको जानकारी गराउनुभयो। उहाँले भन्नुभयो, यो रोग कहाँबाट सुरु भयो, खानेपानी, ढल वा अन्य स्रोतबाट फैलिएको हो भन्नेबारे छानबिन भइरहेको छ।

उहाँले स्वास्थ्य मन्त्रालयको नेतृत्वमा रोग नियन्त्रण र उपचारको सम्पूर्ण पहल तीव्र गतिमा भइरहेको बताउनुभयो। हैजा तथा झाडापखालाका बिरामीलाई निःशुल्क औषधि तथा उपचार सेवा उपलब्ध गराइएको छ।

नारायणी उपक्षेत्रीय अस्पतालमा संक्रमितहरूको निःशुल्क उपचार भइरहेको छ भने, कोरोनाकालमा नेपाली सेनाले बनाएको अस्पताल समेत उपचारका लागि प्रयोगमा ल्याउने तयारी भइरहेको उहाँले जानकारी गराउनुभयो।

प्रधानमन्त्रीका अनुसार अहिलेसम्म वीरगञ्जमा ६२४ जना हैजा तथा झाडापखालाबाट प्रभावित भएका छन्, जसमध्ये ४३७ जना निको भइसकेका छन्। हालसम्म तीन जनाको मृत्यु भइसकेको छ भने १८७ जना बिरामी उपचाररत छन्। पछिल्लो २४ घण्टामा मात्रै ८४ जना नयाँ संक्रमित थपिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट