नेभिगेशन

हुडि फाँटमा अस्पताल बन्यो, अब बिरामीहरू काठमाडौं जानुपर्ने छैन


नेपाल हेल्थ न्युज, गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ हुडि फाँटमा निर्माणाधीन १५ श्य्याको आधारभूत अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

देशभरका सबै पालिकामा आधारभूत अस्पताल निर्माण गर्ने संघीय सरकारको योजनाअन्तर्गत बारपाक सुलिकोटमा पनि अस्पताल निर्माणको काम प्रगतिको अन्तिम चरणमा पुगेको इन्जिनियर मेघनाथ यादवले जानकारी दिनुभयो।

भ्याटसहित १४ करोड ४० लाख ७ हजार ८१३ रुपियाँको ठेक्का सम्झौताअन्तर्गत अस्पताल भवन निर्माण सुरु भएको हो। हाल दुई तलाको ढलान सकिइसकेको छ र भवनमा रङ्गरोगन मात्र बाँकी छ। प्रमुख प्रशासकीय अधिकृत सुबास आलेका अनुसार, “बाहिरी वाल निर्माणको काम सम्पन्न भएपछि बोरिङको काम र कोठाको सजावटपछि मङ्सिरदेखि सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।”

निर्माण प्रगति र म्याद

अस्पताल निर्माणको ठेक्का सम्झौता २०७८ साल असार १३ गते ओमबुद्ध बुद्ध नब कान्तिपुर प्रालिसँग भएको थियो। ठेक्का अनुसार २०७९ पुस १४ गते काम सम्पन्न हुनु पर्ने थियो, तर निर्माण कम्पनीको ढिलासुस्तीका कारण दुई पटक म्याद थप गरी २०८२ पुस मसान्तसम्म सम्पन्न हुने भएको इन्जिनियर यादवले जानकारी दिनुभयो। हाल अस्पतालको ९० प्रतिशत भौतिक प्रगति भएको बताइएको छ।

स्थानीय स्वास्थ्य सेवामा सहजता

बारपाक सुलिकोट–४ सबैभन्दा विकट र बढी जनसंख्या भएको वडा भएकाले, हुडि खोलामा अस्पताल निर्माण गर्दा स्थानीयलाई स्वास्थ्य सेवा पुर्‍याउन सहज हुने स्वास्थ्य शाखा अधिकृत कृष्ण भट्टले बताउनुभयो। अस्पताल नहुँदा पालिकाका बिरामीहरू गोरखा अस्पताल वा काठमाडौं जानुपर्थ्यो। निर्माण सम्पन्न भएपछि, विशेषज्ञ चिकित्सक राखेर स्थानीयस्तरमै स्वास्थ्य सेवा दिने तयारी भइरहेको गाउँपालिका अध्यक्ष विष्णु भट्टले जानकारी दिनुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट