नेभिगेशन

पर्सामा हैजाको प्रकोप नियन्त्रणभन्दा बाहिर, संक्रमित संख्या २ सयको नजिक

नेपाल हेल्थ न्युज, पर्सा । पर्सा जिल्लामा हैजाको संक्रमण नियन्त्रणमा आउन नपाउँदै थपिने बिरामीको सङ्ख्या दैनिक बढ्दो छ। डेढ साता भन्दा बढी समयदेखि फैलिएको यो प्रकोप अझै स्थिर नहुँदा जनस्वास्थ्यमा गम्भीर संकटको संकेत देखिन थालेको छ।

वीरगन्ज महानगरपालिकाले मंगलबार बिहान साढे ९ बजे सार्वजनिक गरेको विवरणअनुसार, महानगर क्षेत्रमै हालसम्म हैजाबाट प्रभावित हुनेको सङ्ख्या १ सय ७६  पुगेको छ। पोखरिया अस्पतालका अनुसार, त्यहाँ उपचारका लागि आएका झाडापखालाका बिरामीमध्ये १७ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ। दुवै क्षेत्रको तथ्यांक जोड्दा पर्सा जिल्लाभर हालसम्म १ सय ९३  जना हैजाबाट संक्रमित भइसकेका छन्।

वीरगन्जका विभिन्न अस्पतालहरूमा हालसम्म झाडापखाला तथा हैजाका लक्षण लिएर ८ सय ९९ बिरामी सम्पर्कमा आएका छन्। तीमध्ये ७ सय ९१ जना उपचारपछि घर फर्किसकेका छन् भने १०८ जना अझै विभिन्न अस्पतालमा उपचाररत छन्।

नयाँ बिरामीको दर र उपचारपछि घर फर्किने दर लगभग समान भए पनि दैनिक नयाँ संक्रमित देखिनु स्वास्थ्य क्षेत्रका लागि चिन्ताको विषय बनेको छ।

महानगरपालिकाले संक्रमण फैलिन नदिन भन्दै एक सातादेखि वीरगन्जका सबै शैक्षिक संस्थाहरू बन्द गरेको छ। यद्यपि, स्रोत पहिचान गर्न थुप्रै प्रयास भए पनि हैजाको मूल कारण अझै स्पष्ट हुन सकेको छैन। सुरुमा (खानेपानी) प्रणालीमा समस्या भएको शंका गरिए पनि विभिन्न प्रयोगशालाबाट आएको रिपोर्टले खानेपानी संस्थान र डिप बोरिङको पानीमा हैजाका जीवाणु फेला नपरेको देखाएको छ। यसले संक्रमणको स्रोतबारे अन्योल बढाएको छ र सर्वसाधारणमा समेत आशंका र डर फैलिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट