नेपाल हेल्थ न्युज, सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको पश्चिमतर्फको मुख्य प्रवेशद्वार झण्डै ६ महिनादेखि बन्द रहँदा सेवाग्राहीहरू चरम सास्तीमा परेका छन्।
जिल्लाकै एकमात्र सुविधा सम्पन्न सरकारी अस्पताल मानिने यस संस्थाको पश्चिमतर्फको मुख्य गेट बन्द हुँदा बिरामी तथा सेवाग्राहीहरूलाई उपचारका लागि अस्पताल प्रवेश गर्न कठोर चुनौती भइरहेको छ। अहिले उत्तरतर्फको एक मात्र गेट सञ्चालनमा रहेकाले पश्चिमतर्फबाट आउने बिरामीहरूलाई झन् अप्ठ्यारो भएको स्थानीयवासीहरू बताउँछन्।
स्थानीय कंचन झाले प्रश्न गर्दै भन्नुभयो, “अस्पतालजस्तो संवेदनशील स्थानको गेट बन्द राख्न कति उचित हो?” उहाँका अनुसार स्थानीयले गेट खोल्न पटक–पटक माग गर्दा पनि सुनुवाइ भएको छैन।
गेट बन्द भएकै कारण दैनिक दर्जनौं सिकिस्त बिरामी अस्पतालको ढोकामै फर्कन बाध्य हुने गरेको समेत उहाँले बताउनुभयो। “कति बिरामी त समयमा उपचार नपाएर ज्यानै गुमाउनु परेको छ,” अर्का स्थानीय खेलानन्द दासले भन्नुभयो। उहाँले अस्पताल प्रशासनमाथि बदमासी र कमिसनको खेल चलाएको गम्भीर आरोपसमेत लगाउनुभयो।
अस्पताल प्रशासन भने गेट बन्द हुनुको कारण सुरक्षासँग जोडिएको बताउँछ। मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश प्रसाद साहका अनुसार गेट स्वास्थ्यकर्मीहरूको आवास नजिकै रहेकाले सुरक्षा दृष्टिकोणले बन्द गरिएको हो।
तर स्थानीयहरू भन्छन्, “यदि सुरक्षा नै कारण हो भने पनि वैकल्पिक व्यवस्थासहित गेट सञ्चालन गर्न सकिने थियौं। बिरामीको जीवनभन्दा ठूलो सुरक्षा के हुन सक्छ?”
६ महिनासम्म पनि समाधान नभएपछि स्थानीयहरू असन्तुष्ट बनेका छन्। उनीहरूले तत्काल गेट पुनः सञ्चालन गर्न माग गरेका छन्। अस्पताल प्रशासनले गेट खोल्ने वा वैकल्पिक उपायबारे सार्वजनिक रूपमा स्पष्ट धारणा दिन अझै बाँकी छ।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
