नेपाल हेल्थ न्युज,काठमाडौं । नेपाल सरकार र सिविन नेपालबीच भएको नयाँ समझदारी अनुसार, बालबालिका तथा किशोरहरूको मानसिक स्वास्थ्य सेवा क्रमशः सरकारी जिम्मेवारीमा आउने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सिविन नेपालबीच भएको सहमतिपत्रमा उल्लेख अनुसार, हाल कान्ति बाल अस्पताल र लगनखेलस्थित मानसिक अस्पतालमा सञ्चालनमा रहेका विशेष मनोचिकित्सा इकाइहरू अब चरणबद्ध रूपमा सरकारको मातहतमा ल्याइनेछ।
सन् २०१५ को भूकम्पपछि बालबालिका र किशोरहरूमा देखिएको मानसिक तनाव र समस्यालाई सम्बोधन गर्न सिविन नेपालको सहयोगमा सुरू गरिएका यी सेवाहरू पछिल्ला ९ वर्षदेखि सफल रूपमा सञ्चालनमा छन्। अब यी सेवाहरूको दीर्घकालीन दिगोपनाका लागि सरकारले पूर्ण स्वामित्व ग्रहण गर्ने प्रक्रिया अघि बढाएको हो।
सम्झौताअनुसार सन् २०२६ सम्म सिविन नेपालले नै सेवा सञ्चालनमा आर्थिक र प्राविधिक सहयोग जारी राख्नेछ। त्यसपछिका दुई वर्ष (२०२६–२०२८) सरकारको बजेट तथा स्रोत विस्तार हुँदै जानेछ।
सन् २०२८ पछि दुवै इकाइहरूको सञ्चालन, व्यवस्थापन र आर्थिक भार पूर्ण रूपमा नेपाल सरकार र सम्बन्धित अस्पतालहरूको मातहतमा आउने छ ।
स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीका अनुसार, बालबालिकाको मानसिक स्वास्थ्यलाई राष्ट्रिय स्वास्थ्य प्रणालीमा समावेश गर्ने सरकारको नीति अनुसार यो सहकार्य भएको हो। सिविन नेपालले पनि सरकारको अग्रसरताले देशभरका हजारौं बालबालिकाको मानसिक स्वास्थ्य सेवा सुनिश्चित हुने विश्वास व्यक्त गरेको छ।
बाँकेमा हात्तीपाइले विरुद्धको १० दिने औषधि सेवन अभियान सुरु
शुक्रबार, माघ ९, २०८२
स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल
शुक्रबार, माघ ९, २०८२
सानोठिमी बाल सुधार गृहमा झडप, १३ घाइते
शुक्रबार, माघ ९, २०८२

