नेपाल हेल्थ न्युज, काठमाडौं । आत्महत्या नेपालको लागि एक गम्भीर सामाजिक र सार्वजनिक स्वास्थ्यसम्बन्धी चुनौतीका रूपमा देखिएको छ। पछिल्लो समय आत्महत्याका घटनाहरू झनै बढ्दो क्रममा देखिएपछि यससम्बन्धी चिन्ता थपिएको छ।
आज भदौ २५ गते, नेपालमा विविध कार्यक्रमहरू आयोजना गरी विश्व आत्महत्या रोकथाम दिवस मनाइएको छ। आत्महत्याका घटना न्यूनीकरण गर्न चेतना अभिवृद्धि, मानसिक स्वास्थ्यप्रति गम्भीरता, र पीडामा रहेका व्यक्तिहरूप्रति सहानुभूति अभिवृद्धि गर्नु अहिलेको आवश्यकता भएकोमा विज्ञहरूको जोड रहेको छ।
सन् २००३ देखि प्रत्येक वर्ष सेप्टेम्बर १० मा मनाइँदै आएको यो दिवस सन् २०२४ देखि २०२६ सम्मको लागि आत्महत्याको कथा परिवर्तन गर्दै भन्ने विषयवस्तु अन्तर्गत मनाइँदैछ। यस वर्ष नेपालमा “संवाद सुरु गरौं, आत्महत्याको धारणा परिवर्तन गरौं” भन्ने नारासहित चेतनामूलक कार्यक्रमहरू सञ्चालन भएका छन्। दिवसले आत्महत्यासम्बन्धी मौनता, भ्रम र कलङ्क तोड्दै खुला संवाद, सहानुभूति र समर्थनको आवश्यकता औंल्याएको छ।
नेपालको सन्दर्भमा हेर्दा अवस्था झन् भयावह बन्दै गएको देखिन्छ। नेपाल प्रहरीको अनुसार चालु आर्थिक वर्ष २०८२ को पहिलो ६ महिनामा मात्रै ३ हजार १ सय ३४ जनाले आत्महत्या गरेका छन्। एक दशकको तथ्याङ्कअनुसार, वार्षिक औसतमा झन्डै ६ हजार मानिसले आत्महत्या गरिरहेका छन्, जुन दिनको हिसाबले १६ जना भन्दा बढी हुन आउँछ।
आर्थिक वर्ष २०७१–७२ मा ४ हजार ३ सय ३२ जनाले आत्महत्या गरेका थिए भने २०७९–८० मा यो सङ्ख्या ७ हजार २ सय २३ पुगेको छ। यो दर प्रत्येक वर्ष बढिरहेको छ।

प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी आत्महत्या कोशी प्रदेशमा भएको देखिएको छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम घटना दर्ता भएका छन्। आत्महत्या गर्ने तरिकामध्ये सबैभन्दा बढी झुण्डिएर ज्यान दिने (२६ हजार ६ सय ५०) देखिएको छ भने विष सेवन गरेर आत्महत्या गर्नेको सङ्ख्या ५ हजार ६ सय ८७ रहेको छ। बाँकीले अन्य तरिकाबाट ज्यान दिएका छन्।
लिङ्गअनुसार हेर्दा, पुरुषको आत्महत्या दर महिलाको तुलनामा बढी देखिएको छ। आर्थिक वर्ष २०८०–८१ मा ३ हजार ७ सय २७ जना पुरुष र २ हजार ५ सय ७३ जना महिलाले ज्यान गुमाएका छन्। बालक ३३१ जना र बालिका ५९२ जनाले पनि आत्महत्या गरेका छन्।
युवावर्गमा आत्महत्याको दर अत्यन्त चिन्ताजनक छ। १५ देखि २५ वर्ष उमेर समूहमा आत्महत्या दोस्रो प्रमुख मृत्युको कारण बनेको छ भने १५ देखि २९ वर्ष उमेर समूहमा तेस्रो प्रमुख कारण हो। साथै, ७० वर्षभन्दा माथिका व्यक्तिहरूमा पनि आत्महत्याको दर उच्च रहेको छ।
विश्व स्तरमा आत्महत्याको दरका आधारमा नेपाल सातौँ स्थानमा रहेको देखिन्छ। उपलब्ध तथ्यांक अनुसार, नेपालमा हरेक वर्ष हुने कुल मृत्युमध्ये करिब १.६ प्रतिशत आत्महत्याका कारण हुने गर्छन्।
आत्महत्याका सम्भाव्य कारण
विज्ञहरूका अनुसार आत्महत्या हुनुका पछाडि प्रमुख रूपमा मानसिक असन्तुलन, सामाजिक विघटन, पारिवारिक विग्रह, वैदेशिक रोजगारीका कारण टुटेको पारिवारिक सम्बन्ध, शैक्षिक दबाब, बेरोजगारी, लागुपदार्थको दुर्व्यसन, तथा वृद्ध अवस्थामा देखिने एक्लोपन रहेका छन्।
पाटन मानसिक अस्पतालका पूर्वनिर्देशक प्राध्यापक डा. सुरेन्द्र शेरचनका अनुसार, अत्यधिक प्रतिस्पर्धी शिक्षा प्रणालीले सानै उमेरमा तनाव सुरु गरिरहेको छ भने युवाहरूको सामाजिक एक्लोपनले समस्या गम्भीर बनाएको छ। वृद्धवृद्धामा पनि आत्महत्याको प्रवृत्ति बढ्दो छ।
प्रहरी अपराध अनुसन्धान विभागका प्रमुख अतिरिक्त महानिरीक्षक कुबेर कडायतका अनुसार, हाल आत्महत्या दुरुत्साहनसम्बन्धी कानुन कार्यान्वयनमा आएपछि सम्बन्धित मुद्दा पनि बढेका छन्। प्रहरीले आत्महत्याका घटनामा कारण खोज्ने कार्य सुरु गरिसकेको जनाएको छ।
प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले संयोजन गरेको पछिल्लो अध्ययन अनुसार, आत्महत्या हुनुका पछाडि मानसिक विचलन, पारिवारिक समस्या, रोग, सामाजिक असन्तुलनजस्ता कारणहरू जिम्मेवार रहेका छन्। आत्महत्या हुनु अघि धेरैले कैयौँ पटक प्रयास गर्ने भएकाले त्यो चरणमा आवश्यक परामर्श र सहयोग पुग्न सके घटनालाई रोक्न सकिने डा. शेरचन बताउँछन्।

के गर्न सकिन्छ र ?
आत्महत्या जटिल सामाजिक तथा मानसिक स्वास्थ्यसम्बन्धी समस्या हो, जसको समाधान व्यक्तिगत हैन, सामूहिक प्रयासबाट मात्र सम्भव छ। यसको रोकथामका लागि परिवार, समुदाय, विद्यालय, अस्पताल, सरकारी तथा गैरसरकारी निकायहरूले आपसी समन्वयमा काम गर्न जरुरी छ। विशेषतः निम्न कुरामा जोड दिनु आवश्यक छ :
- मानसिक स्वास्थ्य सेवा पहुँचयोग्य र गुणस्तरीय बनाउनुपर्ने,
- विद्यालय र क्याम्पसमा नियमित रूपमा परामर्श सेवा उपलब्ध गराउने,
- आत्महत्याको संकेत देखिएका व्यक्तिलाई समयमै चिन्ने र सहयोग गर्ने,
- सामाजिक संवादलाई प्रोत्साहन गर्दै मौनता र कलङ्क तोड्ने,
- परिवार तथा छिमेकमा एक(अर्कामा ख्याल गर्ने संस्कार विकास गर्ने।
विश्व आत्महत्या रोकथाम दिवसको सन्देश हो, आत्महत्या रोक्न सकिन्छ। यसका लागि संवाद, सहानुभूति, सचेतना र समयमै सहयोग नै प्रमुख अस्त्र हुन्। कुनै पनि व्यक्तिको जीवन अमूल्य हुन्छ, र पीडाभित्रबाट उत्रन सक्ने सम्भावना सधैं रहन्छ।
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
