नेपाल हेल्थ न्युज, काठमाडौं । जेनजी आन्दोलनको क्रममा क्षति पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सेवा अब सोही परिसरमा रहेका नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को कार्यालय भवनबाट सञ्चालन गरिने भएको छ।
मन्त्रालयले आइतबारदेखि एनएचआरसी भवनका केही कोठाबाट अत्यावश्यक सेवा सुरु गर्ने जनाएको छ। स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले मन्त्रालय परिसरमै रहेको एनएचआरसीका खाली कोठाहरुबाट सेवा दिन तयारी भइरहेको बताउनुभयो।
उहाँले भन्नुभयो, “सिंहदरबार जान अहिले अवस्था उपयुक्त छैन, सेवा पनि रोक्न सकिँदैन, त्यसैले आइतबारदेखि परिषद्को केही कोठाबाट सेवा सञ्चालन गरिनेछ।”
मन्त्रालयको मुख्य भवनको पछाडिको भाग जलेर क्षति भए पनि केही कोठा जलेर नष्ट नभएका छन्। एनएचआरसी अध्यक्षको कोठा र केही खाली कोठाहरु अहिले सेवा सञ्चालनका लागि प्रयोग गर्न मिल्ने देखिएको छ।
अर्कोतर्फ, मन्त्रालयले हालै निर्माण सम्पन्न गरेको एनएचआरसीको नयाँ भवनलाई पनि कार्यालय सञ्चालनको विकल्पका रूपमा हेरेको छ।
मन्त्रालयका प्रशासन सहसचिव दिवस आचार्यले भन्नुभयो, “शुरुमा अत्यावश्यक सेवा पुरानो भवनका केही कोठाबाट दिइनेछ। यदि सिंहदरबार भित्र नयाँ भवनको व्यवस्थापन हुन सकेन भने, हामी एनएचआरसीको नयाँ भवन पनि फर्निसिङ गरेर प्रयोग गर्ने योजना बनाउँदैछौँ।”
गत २४ गते मन्त्रालयको मुख्य भवन र स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाई (एचईओसी) भवन पूर्ण रूपमा जलेर नष्ट भएका थिए। त्यस्तै, परिसरमा रहेका २४ वटा गाडी र उस्तै संख्यामा मोटरसाइकल र स्कुटरहरू पनि जलेर नष्ट भएका छन्।
बाँकेमा हात्तीपाइले विरुद्धको १० दिने औषधि सेवन अभियान सुरु
शुक्रबार, माघ ९, २०८२
स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल
शुक्रबार, माघ ९, २०८२
सानोठिमी बाल सुधार गृहमा झडप, १३ घाइते
शुक्रबार, माघ ९, २०८२

