नेपाल हेल्थ न्युज, विराटनगर । कोशी अस्पतालमा फार्मेसी र स्वास्थ्य बिमा शाखासँग सम्बन्धित गम्भीर अनियमितता फेला परेपछि तीनजना करार सेवा कर्मचारीलाई अस्पताल प्रशासनले सेवाबाट हटाएको छ। औषधि वितरणमा हिनामिना गर्दै बिमा रकमको दुरुपयोग गरिएको पाइएपछि ती कर्मचारीहरूलाई बर्खास्त गरिएको हो। बर्खास्त गरिएका मध्ये दुईजना फार्मेसी शाखामा कार्यरत थिए भने एकजना स्वास्थ्य बिमा शाखामा थिए।
यो विषय सार्वजनिक भएपछि अस्पतालमा भ्रष्टाचारको संगठित जालो रहेको आशंका समेत उठ्न थालेको छ। बर्खास्त गरिएका कर्मचारीहरूमा फार्मेसी सहायक शिशिर साहु, निरीक्षक सन्ध्या यादव र कार्यालय सहयोगी सुमित कामत रहेका छन्। ती सबैजना अस्पताल विकास समितिमार्फत सेवा करारमा कार्यरत थिए।
घटनाको सुरुवात एक क्यान्सर पीडित बिरामीको उजुरीबाट भएको हो। ती बिरामी नियमित उपचारका लागि कोशी अस्पताल आउने गर्दथे। एकपटक आकस्मिक कक्षमा जाँच गराउन गएका बेला चिकित्सकले सात दिनका लागि औषधि सिफारिस गरेका थिए।
उनले सो औषधि फार्मेसीबाट लिए तर अर्को पटक औषधि लिन गँदा उनका नाममा बीमा रकम एक महिनाको औषधिका लागि काटिएको देखिएको थियो। सोही घटनापछि उनले अस्पताल प्रशासनमा लिखित उजुरी दिएका थिए।
उक्त उजुरीका आधारमा अस्पतालले छानबिन समिति गठन गर्यो। प्रारम्भिक अध्ययनमै पाँच वटा बिलमा अनियमितता भेटिएपछि ती कर्मचारीहरूको संलग्नता पुष्टि भयो।
समितिले बुझाएको प्रतिवेदनमा ती कर्मचारीहरूले सेवाग्राहीको जानकारीबिना बीमा रकम काटेको, चिकित्सकले नलेखेको औषधिलाई समेत वितरण भएको देखाएको, र बीमा खाताबाट अत्यधिक औषधि खर्च देखाएर रकम लुटिएको उल्लेख गरिएको छ।
मेसु डा. रूना झाका अनुसार, छानबिन समितिको प्रतिवेदनले कर्मचारीहरूको संलग्नता पुष्टि गरेपछि तत्काल बर्खास्त गर्ने निर्णय लिइएको हो। उहाँले भन्नुभयो, “एकजना सेवाग्राहीको उजुरीपछि सुरु गरिएको छानबिनले अझ ठूलो अनियमितताको संकेत दिएको छ। अहिले देखिएका बिलहरू त झिनो भाग मात्रै हुन् भन्ने आशंका छ।”
बिमित सेवाग्राहीहरूका नाममा महँगो औषधि वितरण गरिएको देखाएर रकम काटिएको, चिकित्सकको सिफारिसबिना औषधि दिइएको, र अकस्मात उपचार लिएका बिरामीका नाममा सयौं ट्याब्लेट वितरण गरिएको जस्ता विवरणहरू समितिले उजागर गरेको छ। यो प्रवृत्तिले एकातिर बिमितहरूको रकम असामयिक रूपमा सकिने स्थिति बनाएको छ भने अर्कोतर्फ राज्यकोषमा समेत ठूलो भार परेको छ।
हाल कोशी अस्पतालमा दैनिक झण्डै एक हजार ५०० जनाले बहिरंग सेवा लिने गर्छन्, जसमा अधिकांश सेवाग्राही स्वास्थ्य बिमा योजनामा आबद्ध छन्। यति ठूलो संख्यामा सेवाग्राही आउने संस्थामा फार्मेसी प्रणालीको प्राविधिक र व्यवस्थापकीय कमजोरीका कारण यस्तो लापरवाही सम्भव भएको हो भन्ने देखिन्छ।
स्वास्थ्य बिमा बोर्ड, कोशी प्रदेशका प्रमुख अर्जुन पण्डितले चिकित्सकको सिफारिसबिना औषधि दिनु सरासर गैरकानुनी भएको बताउँदै यस्ता अनियमितता नियन्त्रण गर्न कडा अनुगमनको खाँचो रहेको उल्लेख गर्नुभयो। उहाँले यस्तो प्रवृत्तिले बीमा प्रणालीप्रतिको जनविश्वासमा आँच पुर्याउने चेतावनी समेत दिनुभएको छ।
यद्यपि अस्पताल प्रशासनले तत्कालको लागि कारबाही गरेको देखिए पनि घटना एक/दुई जनाको मात्र मिलेमतोमा नभई समूहगत हो कि भन्ने शंका छ। अस्पतालले यो विषयमा अझ गहिरो अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग सहकार्य गर्ने तयारी गरिरहेको जानकारी समेत दिएको छ।
यो घटनाले कोशी अस्पतालको व्यवस्थापन क्षमतामाथि मात्रै होइन, सम्पूर्ण प्रदेशभरका स्वास्थ्य सेवा प्रदायक संस्थाहरूको पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ। कोशी प्रदेशमा हाल २७ लाख ८० हजारभन्दा बढी नागरिक स्वास्थ्य बिमामा आबद्ध छन् । झापामा सबैभन्दा बढी ८ लाख १६ हजार र सोलुखुम्बुमा सबैभन्दा कम १८ हजार २ सय ८६ जना बिमित छन् ।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
