नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिसिटी अस्पताल, ललितपुरमा ५२ वर्षीय शान्तमान व्यञ्जनकारको कलेजो सफलतापूर्वक प्रत्यारोपण गरिएको छ। आठ वर्षदेखि कलेजोसम्बन्धी समस्याबाट ग्रसित व्यञ्जनकारको प्रत्यारोपण गत भदौ ४ गते सम्पन्न गरिएको हो।
विशेष कुरा के छ भने, उनलाई कलेजो दान गर्ने व्यक्ति उनकी ५० वर्षीया श्रीमती नानु व्यञ्जनकार हुन्। सफल शल्यक्रियापछि बिरामीलाई भदौ २३ गते डिस्चार्ज गरिएको छ।
व्यञ्जनकारका अनुसार दीर्घकालीन मद्यपानकै कारण कलेजोमा समस्या देखिएको हो। सुरुमा भारतमा उपचार गर्ने योजना बनाएका उनले अन्ततः नेपालमै सम्भव भएकोमा सन्तुष्टि व्यक्त गरे। “भारत जानु महँगो, झन्झटरहित थिएन। भाषा, बसाइ र खर्च सबै कुराले मडारिएको थियो, त्यसैले मेडिसिटीमै गर्ने निर्णय गरेँ,” उनले भने।
यस प्रत्यारोपणमा ग्यास्ट्रोइन्टेरोलोजी विभाग प्रमुख प्रा. डा. उमिद कुमार श्रेष्ठ, कलेजो प्रत्यारोपण सर्जन डा. रामबाबु साह, डा. सञ्जय कुमार यादव, एनेस्थेसियोलोजिस्ट डा. अपूर्व शर्मा, डा. निराजन महासेठ, र रेडियोलोजिस्ट प्रा. डा. राम कुमार घिमिरेसहितको विशेषज्ञ टोली संलग्न रहेको थियो।
डा. रामबाबु साहका अनुसार अब यस्तो जटिल उपचारका लागि नेपाली नागरिकले विदेश जानुपर्ने आवश्यकता छैन। “नेपालमै दक्ष चिकित्सक र अत्याधुनिक प्रविधि उपलब्ध छ, यो सफलताले हाम्रो स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धि थपेको छ,” उनले बताए।
नेपाल मेडिसिटीले आगामी दिनहरूमा पनि निरन्तर रूपमा गुणस्तरीय कलेजो प्रत्यारोपण सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
डा. केशर ढकालले सरकारी सेवाबाट लिए अवकाश
शुक्रबार, असार ५, २०८३
शिक्षण अस्पतालमा करार सेवाका लागि विभिन्न पदमा दरखास्त आह्वान
शुक्रबार, असार ५, २०८३
भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो
शुक्रबार, असार ५, २०८३
वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पूर्ण विश्वविद्यालयमा रूपान्तरण गर्न माग
शुक्रबार, असार ५, २०८३
