नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालको क्यान्सर उपचार क्षेत्रमा चम्किरहेको एक नाम हो – डा. अरुण शाही। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (PAHS) का सहायक-प्राध्यापक तथा मेडिकल अन्कोलोजिस्ट डा. शाहीलाई हालै बंगलादेशमा आयोजना गरिएको Best of ASCO & MOSB Congress 2025 (सेप्टेम्बर १८–१९) मा अन्तर्राष्ट्रिय स्तरको सम्मान 'Excellence in Global Cancer Service & Outreach Award' प्रदान गरिएको छ।
यो पुरस्कार बंगलादेशको Medical Oncology Society in Bangladesh (MOSB) ले ढाकामा आयोजना गरेको भव्य कार्यक्रममा प्रदान गरिएको हो। सम्मान ग्रहण गर्दै गर्दा डा. शाही मात्र होइन, सम्पूर्ण नेपाली चिकित्सक समुदाय गर्वले ओतप्रोत बनेको अनुभूति भएको छ।
क्यान्सर उपचारमा डा. शाहीको योगदान
डा. शाही नेपालमा क्यान्सर उपचारको रुपान्तरणशील यात्रा संगै गाँसिएको नाम हो। उहाँले नेपालमै बस्दै समान पहुँचमा आधारित उपचार प्रणाली विकास गर्न जोड दिनुभयो। ग्रामीण क्षेत्रमा समेत रोगी–केन्द्रित सेवा पुर्याउने प्रयासमा अग्रणी भूमिका खेल्दै आउनुभयो। Outreach कार्यक्रममार्फत 'क्यान्सर उपचार राजधानीमै सिमित हुने होइन, गाउँघरसम्म पुग्नुपर्छ' भन्ने सन्देशलाई व्यवहारमा उतार्नुभएको छ।
विशेषगरी ढाकास्थित National Institute of Cancer Research and Hospital मा स्नातकोत्तर अध्ययनपछि नेपाल फर्केर उहाँले यहाँको उपचार पद्धतिलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवस्थित गर्ने काम गर्नुभयो।
कार्यक्रमका मुख्य अतिथि सार्क फेडरेशन अफ अन्कोलोजीका पैट्रन प्राध्यापक एम ए हाई, MOSB महासचिव एसोसिएट प्रा. डा. एमडी. रफिकुल इस्लाम र अध्यक्ष प्रा. डा. परविन शाहिदा अख्तर ले संयुक्त रूपमा डा. शाहीलाई सम्मान गर्नुभयो । ।
उहाँहरुले नेपालको युवा चिकित्सकद्वारा गरिएको योगदानलाई 'सार्क क्षेत्रकै गर्व' भन्दै प्रशंसा गर्नुभएको छ । यो सम्मान नेपाल र बंगलादेशबीच चिकित्सा क्षेत्रमा बढ्दो सहकार्यको संकेत मात्रै नभई नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा विश्वसनीय क्यान्सर उपचार गन्तव्य को रूपमा प्रस्तुत गर्ने अवसर पनि हो।
डा. शाहीको यो उपलब्धि व्यक्तिगत मात्र होइन, नेपालका सम्पूर्ण स्वास्थ्यकर्मी र नेपाली समाजकै साझा गर्व बनेको छ।
यसले युवा चिकित्सक, मेडिकल विद्यार्थी र स्वास्थ्यकर्मीलाई 'समर्पण र दृष्टिकोण भए सिमाना बाधा होइन' भन्ने प्रेरणा दिएको छ। नेपालजस्तो सीमित स्रोतसाधन भएको मुलुकमा पनि क्यान्सर उपचारलाई समावेशी, प्रभावकारी र सस्तो बनाउने सपना साकार पार्ने डा. शाहीजस्ता व्यक्तित्वहरूले नै सम्भव बनाइरहेका छन् । यो पुरस्कारसँगै नेपालले विश्वलाई दिएको सन्देश स्पष्ट छ – हाम्रो देशका चिकित्सकहरूले पनि क्यान्सर जस्तो चुनौतीपूर्ण रोगविरुद्धको लडाइँमा अग्रपंक्तिमा भूमिका खेलिरहेका छन् । डा. अरुण शाहिको यो उपलब्धि नेपाललाई मात्र होइन, सम्पूर्ण नेपालीलाई गर्व दिलाउने ऐतिहासिक क्षण बनेको छ।
छैठौँ एपोन फुटसल कप २०२६ को उपाधि एसियन फर्मास्युटिकल्सलाई
शनिबार, माघ ३, २०८२



