नेभिगेशन

पर्सामा फेरि हैजा संक्रमण बढ्दो, एकैदिन २७ नयाँ बिरामी

नेपाल हेल्थ न्युज, वीरगञ्ज। पर्सा जिल्लामा केही समय नियन्त्रणमा आएको देखिएको हैजा संक्रमण फेरि तीव्र गतिमा फैलिन थालेको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार, शनिबार मात्र झाडापखाला र शंकास्पद हैजाका २७ नयाँ बिरामी फेला परेका छन्।

जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार, वीरगञ्ज महानगरपालिका र पोखरिया नगरपालिकामा गरी २७ जना नयाँ बिरामी भेटिएका छन्, जसमध्ये ४ जनामा हैजा पुष्टि भइसकेको छ।

यसअघि एक महिनाको अवधिमा जिल्लामा १ हजार ४ सय ५१ जना झाडापखाला तथा हैजासम्बन्धी लक्षणसहित अस्पताल पुगेका थिए। तीमध्ये १ हजार ४ सय २१ निको भई घर फर्किए पनि हालसम्म ३० जना बिरामी अझै उपचाररत छन्।

अधिकारिक तथ्यांकअनुसार, यो अवधिमा २३७ जनामा हैजाको पुष्टि भएको थियो। तिनमध्ये २३३ जना स्वस्थ भई घर फर्किएका छन् भने ४ जना अझै अस्पतालमा उपचार गराइरहेका छन्।

नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहले सुरुवाती सतर्कता हराउँदै जानु नै संक्रमण पुनः फैलिनुको मुख्य कारण भएको बताउनुभयो। “संख्या घटेपछि जनताले सावधानी अपनाउन छाडे, जसले गर्दा हैजा पुनः फैलिएको हो,” उहाँले भन्नुभयो।

भदौ ६ गते वीरगञ्ज–१२ मुरली क्षेत्रमा पहिलोपटक हैजाको संक्रमण देखिएको थियो। त्यसयता सरकारले वितरण गरेको पानी र डीप बोरिङको पानी स्रोतबाट संक्रमण फैलिएको हुनसक्ने चिकित्सकहरूको आशंका छ। तर हालसम्म संक्रमणको मूल स्रोत पत्ता लगाउन सरकारी निकाय असफल देखिएको छ।

जनस्वास्थ्य कार्यालयले आइतबार देखिएका नयाँ केसहरूको विवरण संकलनको कार्य जारी रहेको जनाएको छ। नागरिकलाई सुरक्षित खानेपानीको प्रयोग र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट