नेभिगेशन

मन्त्री बन्ने प्रक्रियामा डा. मिश्राको सपथ, विवादले रोकियो

नेपाल हेल्थ न्युज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै पाँच जना नयाँ मन्त्रीहरूको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेकी छिन्।

सिफारिस भएका मध्ये चार जनालाई सोमबार दिउँसो २ बजे शपथ गराउने तयारी भइरहे पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीका लागि प्रस्तावित डा. संगीता कौशल मिश्राको नियुक्ति भने तत्कालका लागि रोकिएको छ।

डा. मिश्राले आइतबारै आफू कार्यरत रहेको पदबाट राजीनामा दिएर मन्त्री बन्ने प्रक्रिया अघि बढाएकी थिइन्। यद्यपि, उनको अतीतसँग जोडिएका केही विवादित प्रसंगहरू पुनः सतहमा आएपछि नियुक्ति प्रक्रियामा ब्रेक लागेको हो।

उनी लामो समयसम्म मन्त्रालयमा उपस्थित नभएको र कार्यसम्पादनमा प्रश्न उठ्ने गरी केही गतिविधिहरूमा संलग्न रहेको आशंका गरिँदै आएको छ।

स्वास्थ्य सेवा विभागमा कार्यरत रहँदा म्यामोग्राम मेसिन नआउँदै त्यसको रकम भुक्तानी गरिएको र त्यससँग सम्बन्धित उपकरण खरिदमा अनियमितता भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ। त्यस्तै, उनको ११ औं तहमा बढुवा हुँदा प्रयोग गरिएका कागजातप्रति पनि प्रश्न उठेको बताइएको छ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, यस्ता विषयहरू पुनः चर्चामा आएको हुँदा थप छलफल आवश्यक ठानी डा. मिश्राको नियुक्ति तत्कालका लागि रोकिएको हो। बाँकी चार जना मन्त्रीहरू भने तोकिएको समयमै शपथ ग्रहण गर्नेछन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट