नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमा कार्यरत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका (एफसीएचभी) कार्यक्रमले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) दक्षिणपूर्वी एसिया क्षेत्रीय कार्यालय बाट “पब्लिक हेल्थ च्याम्पियन” अवार्ड प्राप्त गरेको छ।
यो पुरस्कार यसै वर्ष पहिलोपटक स्थापना गरिएको हो, जसअन्तर्गत समुदायस्तरमा जनस्वास्थ्यका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिन्छ।
एफसीएचभी कार्यक्रमले विशेषगरी मातृ र शिशु स्वास्थ्य सुधार, खोप अभियानमा सक्रियता, पोषणमा अभिवृद्धि, र दुर्गम क्षेत्रका बिपन्न समुदायसम्म स्वास्थ्य सेवा पुर्याउने कार्यमा प्रभावशाली योगदान पुर्याएको भन्दै उक्त सम्मान दिइएको हो।
डब्लुएचओ सेरोका अनुसार, यो कार्यक्रम कम लागतमा उच्च प्रभावकारी परिणाम दिन सफल भएको छ र अन्य देशहरूले समेत अनुकरण गर्न सक्ने उदाहरणीय अभ्यास हो।
नेपालमा सन् १९९० मा ९०१ रहेको प्रति एक लाख जिवित जन्ममा मातृ मृत्युदर सन् २०२१ मा घटेर १५१ मा झरेको छ। बाल मृत्युदर पनि उल्लेखनीय रूपमा घट्दै गएको तथ्यांकले देखाउँछ—१९९० मा प्रति हजार १६२ रहेको बाल मृत्युदर अहिले २८ मा झरेको छ। यस परिवर्तनमा एफसीएचभीहरूको निरन्तर योगदानलाई डब्लुएचओले विशेषरूपमा प्रशंसा गरेको छ।
यस अवार्डको प्राप्तकर्तामा भारतका डा. सत्येन्द्र सिंह र लेप्रा सोसाइटी पनि परेका छन्। डा. सिंहले विकलांगहरूको स्वास्थ्य तथा चिकित्सा शिक्षामा पहुँच विस्तार गर्ने कार्यमा योगदान पुर्याएका छन्। त्यस्तै, लेप्रा सोसाइटीले कुष्ठरोग नियन्त्रणमा औषधि विकासदेखि लिएर सेवा विस्तारसम्मका क्षेत्रमा महत्त्वपूर्ण काम गर्दै आएको छ।
यो अवार्ड कोलम्बो, श्रीलंकामा हुने डब्लुएचओ सेरोको ७८औं क्षेत्रीय समिति बैठकको अवसरमा एक समारोहबीच प्रदान गरिनेछ।डब्लुएचओ अनुसार, यो पुरस्कारका लागि नेपालसहित बंगलादेश, भारत, र थाइल्याण्डबाट ५० भन्दा बढी व्यक्तित्व र संस्थाहरूको नाम सिफारिसमा परेका थिए।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
