नेपाल हेल्थ न्युज, काठमाडौं । जेन–जी आन्दोलनका क्रममा गोली लागेर घाइते भएका युवाको पीडा अझै गहिरो छ । शरीरमा लागेको घाउ निको पार्ने संघर्षसँगै उनीहरू भविष्य र उपचार खर्चको चिन्तामा छन् ।
भदौ २३ गते नयाँ बानेश्वरमा गोली लागेका बझाङका १८ वर्षीय सुनील थापा हाल शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत छन् । गोलीले उनको कम्मर हुँदै शरीरभित्र गहिरो क्षति पुर्याएको छ ।
चिकित्सक टिमको तत्काल शल्यक्रियाले ज्यान बचाए पनि फेरि अर्को शल्यक्रिया आवश्यक पर्ने अवस्था छ । उच्च शिक्षा अध्ययनका लागि जापान जाने तयारीमा रहेका थापा अहिले अस्पतालको शय्यामा पल्टिँदा घाउ र भविष्यको चिन्ताले सताइरहेका छन् । उनी भन्छन्- 'खर्च अहिले सरकारले हेर्ला तर फलोअप उपचार र भविष्य कसरी सम्भाल्ने भन्ने चिन्ता छ ।'
त्यस्तै, सिन्धुपाल्चोकका २८ वर्षीय रवि भण्डारीलाई महाराजगञ्ज चोकमा गोली लागेको थियो । राइड सेयरिङ गर्दै आएका भण्डारीले घाउसँगै मुलुकको भविष्यप्रति चिन्ता व्यक्त गरे । उनी भन्छन्-'भ्रष्टाचार र बेथितिले मुलुक बिरामी बनेको छ । त्यसलाई अन्त्य गर्न लड्दा हामी घाइते भयौँ । सहिदको बलिदान र हाम्रो रगत खेर नजाओस् ।'
मकवानपुर, कुलेखानीका २३ वर्षीय सञ्जय घिसिङ पनि आन्दोलनकै क्रममा गोली लागेर घाइते भएका छन् । उनको हातमा छर्राले बनाएको घाउमा सङ्क्रमण बढेको छ । निरन्तर फलोअप उपचार आवश्यक पर्ने बताए पनि उनी खर्च जुटाउने चिन्तामा छन् ।
यसैबीच प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जामन्त्री कुलमान घिसिङलगायतले घाइतेको अवस्थाबारे जानकारी लिएर प्रभावकारी उपचारका लागि निर्देशन दिएका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर घाइते भेट्नुभयो । उहाँले युवाको बलिदान खेर जान नदिने प्रतिवद्धता व्यक्त गर्दै भन्नुभयो-'तपाईंहरूको स्वास्थ्य अवस्था बुझ्न आएको हुँ । तपाईंहरू निको हुनुहोस्, हामी सबै मिलेर बिरामी मुलुकलाई निको पार्नुपर्नेछ ।'
मन्त्री खरेलले घाइतेको उपचारमा समस्या नभएको र अवस्था सुधारउन्मुख रहेको जानकारी दिँदै सरकार घाइतेलाई आवश्यक सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । घाइते र अभिभावकहरूले भने भविष्यमा निरन्तर हुने उपचार र जीवनपार्जनका लागि दीर्घकालीन सरकारी सहयोगको माग गरेका छन् ।
बाँकेमा हात्तीपाइले विरुद्धको १० दिने औषधि सेवन अभियान सुरु
शुक्रबार, माघ ९, २०८२
स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल
शुक्रबार, माघ ९, २०८२
सानोठिमी बाल सुधार गृहमा झडप, १३ घाइते
शुक्रबार, माघ ९, २०८२

