नेभिगेशन

प्राकृतिक विपद्पछि पानीजन्य रोगको जोखिम— सचेत रहौं

नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हाल देशभर भइरहेका प्राकृतिक विपद्‌का घटनापछि पानीजन्य तथा कीटजन्य रोग फैलिन सक्ने जोखिम बढेको भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार प्राकृतिक विपद्‌का बेला तत्काल चोटपटक र भौतिक क्षति देखिए पनि त्यसपछि पानीजन्य रोगजस्तै पखाला, हैजा, टाइफाइड, र कीटजन्य रोगजस्तै डेङ्गी तथा मलेरिया बढ्ने सम्भावना उच्च हुने भएकाले सतर्कता आवश्यक छ।

डा. बुढाथोकीले भन्नुभयो, “प्राकृतिक विपद्‌पछि पानीका स्रोतहरू प्रदूषित हुन सक्छन्। त्यसैले उमालेको वा शुद्धिकरण गरिएको पानी पिउनु, सरसफाइमा ध्यान दिनु र रोगका लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गर्नु अत्यावश्यक छ।”

उहाँले थप जानकारी दिनुभयो कि हालका विपद्‌पीडित क्षेत्रहरूमा खान, बस्न र सरसफाइको अवस्था कमजोर भएकाले खानासम्बन्धी रोग, आँखा पाक्ने समस्या र मानसिक स्वास्थ्यसम्बन्धी समस्या पनि देखिन सक्ने अवस्था छ। यसका लागि मन्त्रालयले स्वास्थ्य स्वयंसेविका, स्थानीय स्वास्थ्यकर्मी र जनप्रतिनिधिमार्फत जनचेतना अभिवृद्धि गर्ने कार्य अघि बढाएको छ।

मन्त्रालयले आपतकालीन अवस्थामा स्वास्थ्य सेवा आवश्यक परेमा तालिम प्राप्त चालक र स्वास्थ्यकर्मी सहितको एम्बुलेन्स सेवा उपलब्ध रहेको भन्दै हटलाइन १०२ मा सम्पर्क गर्न आग्रह गरेको छ। साथै, स्वास्थ्यसम्बन्धी जानकारी वा सल्लाहका लागि १११५ नम्बरमा पनि सम्पर्क गर्न सकिने जनाएको छ।

निरन्तर वर्षा, पहिरो र अन्य प्राकृतिक प्रकोपका कारण जनस्वास्थ्यमा नकारात्मक प्रभाव पर्न सक्ने भन्दै मन्त्रालयले देशभरका अस्पताल र स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा रहन निर्देशन समेत दिएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट