नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले आगामी कात्तिक २० र २१ गते देशभर राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालनहुने भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले आर्थिक वर्ष २०८२, ८३ को पहिलो चरणको यस राष्ट्रिय कार्यक्रम ती मितिमा सञ्चालन गर्ने निर्णय गरेको हो।
भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने मिति परिमार्जन
परम्परागत रूपमा यो कार्यक्रम हरेक वर्ष कात्तिक २ र ३ गते र वैशाख ६ र ७ गते गरी दुई चरणमा सञ्चालन हुँदै आएको थियो। तर यस वर्ष कात्तिक २ र ३ गते तीहारको लक्ष्मीपूजा परेकाले मिति परिमार्जन गरिएको हो।
स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाका निर्देशक डा। विवेककुमार लालका अनुसार, असोज २० गतेको सचिवस्तरीय बैठकले उक्त कार्यक्रम कात्तिक २० र २१ गते सञ्चालन गर्ने निर्णय गरेको हो। “धार्मिक पर्वको कारण अभिभावक र स्वास्थ्यकर्मी दुबै व्यस्त हुने भएकाले व्यावहारिक रूपमा मिति सारिएको हो,” डा. लालले बताउनुभयो। उहाँका अनुसार, दोस्रो चरणको कार्यक्रम भने निर्धारित मिति — वैशाख ६ र ७ गते — मै सञ्चालन हुनेछ।
२७ लाख बालबालिकालाई भिटामिन ‘ए’, २४ लाखलाई जुकाको औषधि
सरकारले यस अभियानमार्फत पाँच वर्षमुनिका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २४ लाख बालबालिकालाई जुकाको औषधि ९डिवर्मिङ ट्याब्लेट० खुवाउने लक्ष्य लिएको छ।
यसै क्रममा, छ महिनाभन्दा माथिका बालबालिकालाई ‘बालभिटा’ पोषणयुक्त आहार पनि वितरण गरिनेछ।
डा. लालले अभिभावकहरूलाई तोकिएको समयमा घर नजिकैको खोप केन्द्रमा बालबालिकालाई लगेर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन आग्रह गर्नुभएको छ।
कार्यक्रमको उद्देश्य
भिटामिन ‘ए’ ले बालबालिकाको दृष्टि, रोग प्रतिरोधात्मक क्षमता र वृद्धि–विकासमा सहयोग पुर्याउँछ।
त्यस्तै, जुकाको औषधिले बालबालिकामा देखिने आन्द्रा सम्बन्धी जुकाको संक्रमण, रक्तअल्पता र कुपोषण घटाउने उद्देश्य राखेको छ। नेपालमा यो कार्यक्रम सन् १९९३ देखि सञ्चालनमा आएको हो र यसले बाल मृत्युदर घटाउन उल्लेखनीय योगदान पुर्याएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र युनिसेफले समेत मूल्याङ्कन गरेका छन्।
स्वास्थ्यकर्मीको तयारी
स्वास्थ्य सेवा विभागले हाल देशभरका स्वास्थ्य संस्था, खोप केन्द्र र स्वयंसेवकहरूलाई तालिम र आवश्यक सामाग्री वितरणको तयारी अघि बढाएको जनाएको छ। डा. लालका अनुसार, “कार्यक्रमका लागि पर्याप्त भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि उपलब्ध भइसकेका छन्, अब स्थानीय तहले कार्यान्वयन गर्ने तयारी अन्तिम चरणमा छ।”
मन्त्रालयको अपिल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अभिभावकलाई आफ्नो बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि भिटामिन ‘ए’ र जुकाको औषधि अनिवार्य रूपमा खुवाउन आग्रह गरेको छ। “यो सानो पहलले हाम्रा बालबालिकाको स्वास्थ्यमा ठूलो फरक पार्छ,” मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
