नेपाल हेल्थ न्युज, बागलुङ । बागलुङ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुने नागरिकहरूको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ। हालसम्म यहाँ ४५ हजार ३९५ परिवारका एक लाख ४१ हजार ५०९ जना नागरिक स्वास्थ्य बिमा कार्यक्रममा सूचीकृत भइसकेका छन्। यो कार्यक्रम जिल्लामा पहिलो पटक २०७३ सालको असार महिनादेखि लागू गरिएको हो। सुरुमा थोरै सहभागी रहेको यो कार्यक्रममा पछिल्ला वर्षहरूमा जनसहभागिता तीव्र गतिमा बढिरहेको छ।
गत वर्षसम्म स्वास्थ्य बिमा योजनामा एक लाख २६ हजार जना सहभागी थिए भने यो वर्ष त्यो संख्या १५ हजारले वृद्धि भएर एक लाख ४१ हजार ५०९ नाघेको छ। बिमा कार्यक्रम सञ्चालनमा ल्याइएको नौ वर्षको अवधिमा सहभागिता निरन्तर बढ्दै गएको देखिन्छ। स्वास्थ्य बिमा बोर्ड बागलुङका संयोजक नारायणप्रसाद पौडेलका अनुसार, हाल बिमा गरेका व्यक्तिहरूमा ७४ हजार ६०२ महिला र ६६ हजार ९०३ पुरुष रहेका छन्।
स्वास्थ्य बिमा योजनाअन्तर्गत जिल्लाका प्रमुख अस्पतालहरू—धौलागिरि अस्पताल, बागलुङ नगर अस्पताल, गलकोट नगर अस्पताल, जैमिनी नगर अस्पताल र ढोरपाटन नगर अस्पतालबाट सेवा दिइँदै आएको छ। हाल सहभागिता बढ्दै गएकाले बडिगाड आधारभूत अस्पताललाई पनि बिमा सेवाको पहिलो सेवा विन्दुको रूपमा सञ्चालनमा ल्याइएको छ।
बिमा योजनामा सहभागी भएपछि वार्षिक बीमा शुल्क तिरेर सरकारी स्वास्थ्य संस्थाहरूबाट एक लाख रुपैयाँसम्मको निःशुल्क उपचार सुविधा पाउने व्यवस्था भएकाले नागरिक आकर्षित भएको संयोजक पौडेलले जानकारी दिए। उनका अनुसार, बागलुङको कूल जनसंख्या दुई लाख ४९ हजार २११ रहेको छ, जसमा ५० प्रतिशतभन्दा बढीले स्वास्थ्य बिमा गराइसकेका छन्। वैदेशिक रोजगारीका कारण धेरै नागरिक विदेशमा रहे पनि जिल्लामा बसोबास गर्ने अधिकांशले बिमा गर्न थालेका छन्।
स्वास्थ्य बिमा योजनाअनुसार पाँच जना सदस्य भएको परिवारका लागि वार्षिक तीन हजार पाँच सय रुपैयाँ प्रिमियम तिर्नुपर्नेछ। पाँचभन्दा बढी सदस्य भएको अवस्थामा थप प्रत्येक सदस्यका लागि सात सय रुपैयाँका दरले शुल्क तोकिएको छ। शुल्क बुझाइ एक वर्षका लागि बिमा गरेका परिवारका सदस्यको वार्षिक रु एक लाखसम्म निःशुल्क उपचार खर्च हुने व्यवस्था छ ।
स्वास्थ्य बिमा योजनाको विस्तारसँगै नागरिकको सरकारी अस्पतालप्रति विश्वास बढेको पाइएको छ। पहिले निजी क्लिनिक जान्थे भने अहिले सरकारी स्वास्थ्य केन्द्रहरूमा सेवा लिन आउनेको संख्या दिनानुदिन बढिरहेको छ। स्वास्थ्य बिमा दर्तामा सक्रिय सरिता शर्माका अनुसार बिमा योजनाको जानकारी पाउँदासाथ धेरैले आफन्त र छिमेकीलाई पनि कार्यक्रममा आवद्ध गराउने गरेका छन्, जसले गर्दा सहभागिता बढ्ने क्रम जारी छ।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
