नेभिगेशन
सेवा गर्ने नर्स स्वयं सेवा–सुविधाबाट वञ्चित हुनुको विडम्बना 

निजी अस्पतालमा नर्सहरूमाथिको शोषणविरुद्ध त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका नर्सहरूको ऐक्यबद्धता

अरुको ज्यान जोगाउने नर्सहरूले आफ्नो अधिकारको लागि नै संघर्ष गर्नुपर्ने ? 

नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमा नर्स बन्ने सपना सजिलो छैन। कठिन पढाइ, लामो प्राविधिक तालिम, अनि बिरामीको हेरचाहमा रात–दिन नसोची खटिनुपर्ने पेसा — तर नर्सहरूले पाउने पारिश्रमिक र सम्मान भने यथार्थमा अत्यन्तै न्यून छ।

हाल निजी स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सहरू तोकिएको न्यूनतम तलब समेत नपाई, अन्यायपूर्ण शोषणको विरुद्ध आवाज उठाइरहेका छन्। यस ऐतिहासिक र न्यायोचित आन्दोलनमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका का नर्सहरूले पूर्ण ऐक्यबद्धता जनाएका छन्।

समर्पणको मूल्य चाहिन्छ, शोषण होइन—  नर्स कविता सिटौला

त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जकी वरिष्ठ क्रिटिकल केयर नर्स कविता सिटौलाको भन्नुहुन्छ निजी अस्पतालहरूमा कार्यरत नर्सहरूले जुन अन्याय सहिरहेका छन्, त्यो केवल उनीहरूको मात्र समस्या होइन। त्यो सम्पूर्ण नर्सिङ पेशाको अपमान हो। हामी त्रिविका नर्सहरू निजी क्षेत्रका सहकर्मी नर्स साथीहरूप्रति पूर्ण समर्थन प्रकट गर्छौं।

उहाँको भनाइले नेपालमा नर्सिङ पेशालाई हेर्ने दृष्टिकोण र राज्यको गैरजिम्मेवारपन उजागर गर्छ। स्वास्थ्य सेवा राष्ट्रको मेरुदण्ड हो भने, नर्सहरू त्यस मेरुदण्डका असली स्तम्भ हुन् — जुन अहिले कमजोर पारिँदैछ।

tribi-nurse-1-1760607333.JPG
 

नेपालमा किन गरिन्छ नर्सहरूको बेवास्ता ?

नेपालमा नर्सहरूलाई “सेवक” को रूपमा मात्र हेर्ने सामाजिक मानसिकता अझै पनि व्याप्त छ। राज्यले स्वास्थ्य सेवा प्रणालीलाई उपलब्धि आधारितभन्दा लागत कटौती गर्ने नीति अन्तर्गत हेर्दै आएको छ।

निजी अस्पतालहरूले महिनामा लाखौं नाफा गर्दा पनि नर्सहरूलाई रु १५–२० हजार को झण्डै दुई दशकअघिको दरमा पारिश्रमिक दिने गरेका छन्। धेरै नर्सहरूलाई बीमा, नियमित विदा, सुरक्षित कार्य वातावरण, प्रोफेशनल डेभलपमेन्टलगायतको सुविधा नदिर्इ नाजायज ड्युटीमा लगाउने गरिन्छ। अझै पनि कतिपय अस्पतालमा  प्रोबेसन (परीक्षण अवधि) को नाममा ३–६ महिना तलब नदिने र प्रशिक्षण भन्दै निशुल्क श्रम लिने चलन छ।

नर्सिङ काउन्सिल र स्वास्थ्य मन्त्रालयको नियमन न्यूनतममा सीमित छ — जसले निजी क्षेत्रलाई मनपरी गर्न सहज बनाएको छ।

विदेशमा नर्सहरूको अवस्था कस्तो छ ?

नेपालका नर्सहरू विदेशी अस्पतालहरूमा उच्च सम्मान, सुविधा र अवसर सहित कार्यरत छन्। त्यहाँ नर्सहरूलाई स्वास्थ्य सेवा प्रणालीको केन्द्रविन्दुमा राखिन्छ। बिदेशतिर हेर्दा, नेपाली नर्सहरूकै क्षमता भएका व्यक्तिहरूले सामाजिक सम्मानका साथै आकर्षक पारिश्रमिक पाएका छन्।

  • अमेरिकामा औसत वार्षिक आम्दानी  ७० देखि ९० हजार डलर (करिब ९० लाख–१.२ करोड रुपैयाँ)
  • अष्ट्रेलियामा प्रति घण्टा ३०–५० अष्ट्रेलियन डलर (महिनामा ६–१० लाख रुपैयाँसम्म)
  • बेलायतमा वार्षिक २८ देखि ४० हजार डलर (करिब ४५–६५ लाख रुपैयाँ)
  • जापान रदक्षिण कोरियामा नेपाली नर्सहरूको माग बढ्दो छ, आधारभूत तलब पनि मासिक रु १ लाख माथि रहेको छ

विदेशमा नर्सहरूलाई सामाजिक सम्मान, न्यायोचित पारिश्रमिक, कार्यस्थल सुरक्षा, र करियर विकासको अवसर दिइन्छ। नेपालमा भने नर्सहरूलाई अझै पनि सेवाभावको नाममा निशुल्क सेवा गर्नुपर्ने मानसिकता राखिएको देखिन्छ।  विदेशमा नर्सहरूसँग करार प्रक्रिया पारदर्शी, कार्य वातावरण सुरक्षित र मनोवैज्ञानिक समर्थन पनि पर्याप्त पाइन्छ। तर यही दक्ष नर्स जब नेपाल फर्कन्छिन्, उही अपमानजनक व्यवहार झेल्न बाध्य हुन्छिन्।

न्यायोचित मागको ऐक्यबद्धतामा त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्ज अग्रसर

देशभर चलिरहेको नर्सहरूको आन्दोलन कुनै संगठनको मात्र होइन — यो सम्पूर्ण नर्सिङ पेशाको अस्तित्वको लडाइँ हो। त्रिवि शिक्षण अस्पतालका नर्सहरूको ऐक्यबद्धताले यो आन्दोलनलाई थप वैधता दिएको छ। यो केवल समर्थन होइन, पेसागत अधिकार र सामाजिक सम्मानको संरक्षणको वकालत हो।

नर्सहरू सस्तो श्रम होइनन्, राष्ट्र निर्माता हुन्

नेपालमा स्वास्थ्य क्षेत्रले पाएको सफलता नर्सहरूको योगदानबिनाको सम्भव छैन। उनीहरूको सेवा, ममता, र बलिदानको उचित मूल्यांकन नगरेसम्म न त यो पेसा आकर्षक बन्छ, न त सेवा गुणस्तरीय रहन्छ। नर्सहरूको ऐक्यबद्धता एउटा प्रेरणादायी कदम हो— जसले सम्पूर्ण नेपाली समाजलाई सोच्न बाध्य पार्छ— के सधैं अरुको ज्यान जोगाउने नर्सहरूले आफ्नो अधिकारको लागि नै संघर्ष गर्नुपर्ने हो ? 
अतः

  • नर्सहरूको न्यूनतम तलब सुनिश्चित गरियोस्।
  • उनीहरूको कार्य वातावरण सुरक्षित, समावेशी र सम्मानजनक बनाइयोस्।
  • स्वास्थ्य नीतिमा नर्सहरूको आवाज प्रभावकारी ढंगले समावेश गरियोस्।
  • आन्दोलनरत नर्सहरूको मागलाई सहानुभूतिपूर्वक सम्बोधन गरियोस्।

“नर्सहरूको सेवा राष्ट्रका लागि अमूल्य सम्पत्ति हो — त्यसको सम्मान गरौं, संरक्षण गरौं।”

nurse-soshan2-1760612155.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

पुरुषोत्तम घिमिरे विगत २५ वर्षदेखि स्वास्थ्य पत्रकारिता गर्दै आउनुभएको छ ।  

थप हेल्थ अपडेट